‘नेपालगन्ज लिटिल स्टार ः २०७९’ को अडिसन भएको छ । पूर्वपाठशाला, प्राथमिक र माध्यमिकतहका ४६ जना बालबालिकाले अडिसन दिएको आयोजकले जनाएको छ ।
अडिसनका सहभागीहरूलाई मिस नेपालगन्ज २०१९ सन्ध्या शाहले छानेकी थिइन् । हरेकतहमा २० जना सहभागी हुने प्रावधान रहेकोले बाँकी सहभागीलाई शुक्रवारसम्म वाइल्डकार्डबाट लिइने आयोजकले जनाएको छ ।
आयोजक संस्था लिभवेलका अनुसार, छनोट भएका सबै प्रतियोगीहरूलाई १० दिन हिडाइ, वक्तृत्व, ड्रेसिङ सेन्स, सांस्कृतिक पहिरन, टेबल म्यानर, नृत्य, गायन, कोरियोग्राफी, समाजसेवा र व्यक्तिगत क्षमतामा विशेष प्रशिक्षण दिइने छ । ‘प्रतिदिन एक घण्टा चल्ने प्रशिक्षण मिस एसइई लुम्बिनी प्रदेशकी विजेता सिर्जना क्षेत्री, बाँके रनवेका सुजल कर्माचार्य, कोरियोग्राफर मोहिनी पौडेललगायतले प्रशिक्षण दिने’ बताइएको छ ।
माघ २१ गते सोल्टी वेस्टेन्ड प्रिमियरमा हुने फिनालेमा सबै तहका बालबालिकाले आफ्नो प्रस्तुति देखाउने छन् । प्रतियोगिताबाट तिनै तहबाट १ विजेता, दुई उपविजेता छानिने र हरेक प्रतिष्पर्धीलाई ‘टाइटल’ दिई पुरस्कृत गरिने बताइएको छ । फाइनल प्रतिष्पर्धाको निर्णायक मिस नेपाल: २०२० नम्रता श्रेष्ठ रहने आयोजक संस्था लिभवेलले जनाएको छ ।