पर्यटन प्रवद्र्धनबारे जनप्रतिनिधिसँग छलफल

बाँकेको पर्यटन प्रवद्र्धनमा दीर्घकालीन योजनालाई लिएर जनप्रतिनिधि–पर्यटन व्यवसायी बीच अन्तरक्रियात्मक छलफलको आयोजना गरिएको छ । सोमबार नेपालगन्ज उपमहानगरपालिकाको संयोजनमा वेष्टर्न ट्राभल मार्ट आयोजक समितिले जिल्लाका जनप्रतिनिधिहरूसँग छलफलको आयोजना गरेको हो ।

नेपालगन्ज नगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा भएको कार्यक्रममा मार्टका संयोजक श्रीराम सिग्देलले पर्यटन प्रवद्र्धनका तत्कालीन तथा दीर्घकालीन योजना र त्यसका आवश्यकता तथा महत्वबारे प्रकाश पारेका थिए । प्रतिनिधिसभा सदस्य धवल समशेर राणाले नेपालगन्ज पर्यटकीय पूर्वाधारका दृष्टिले निकै महत्वपूर्ण रहेकाले पर्यटन प्रवद्र्धनमा स्थानीय तहहरू योजनाबद्ध ढंगले लाग्न सुझाव दिए । सांसद दिपा शर्माले पर्यटकीय सम्भावनाको दृष्टिले अलौकिक रूपमा रहेको कर्णालीको प्रवेशद्वारका रूपमा बाँके जिल्ला रहेकाले यहाँका व्यवसायी र जनप्रतिनिधि त्यसको लाभ लिने गरी कर्णालीको प्रचारप्रसार गर्न तथा पर्यटकीय व्यवसायिक योजना बनाउन आवश्यक रहेको बताइन् ।

छलफलमा नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाह, जानकीका प्रमुख छब्बन खाँ, कोहलपुर नगरपालिकाका प्रमुख संगीता सुवेदी लगायतले पर्यटन प्रवद्र्धनका आगामी योजनामा आ–आफ्ना पालिकाबाट प्राथमिकताका साथ बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा मार्टका सहसंयोजक रहेका हान बाँकेका अध्यक्ष दिवाकर खनाल, मार्टका सचिव रहेका बाँके पर्यटन प्रवद्र्धन मञ्चका संयोजक कृष्ण प्रसाद श्रेष्ठ, मार्टका कोषाध्यक्ष डा. ओम शर्मा, सदस्य सञ्जय थापा, उमा थापामगर लगायतले पर्यटकीय सम्भावनाका विविध पक्षबारे धारणा राखेका थिए ।

नेपालगन्ज नगर प्रमुख विष्टले नेपालगन्जलाई पर्यटकीय हबका रूपमा विकास गर्न वेष्टर्न ट्राभल मार्टले महत्वपूर्ण पहल लिइरहेकाले त्यसमा स्थानीय सरकारले स्वामित्व र अपनत्व लिने प्रतिबद्धता जनाए ।


‘छलफलले जिल्लाको पर्यटकीय सम्भावनाको खोजी, विकास र बिस्तारमा जनप्रतिनिधिहरूको गम्भीर ध्यानाकर्षण गराएको महसुस गरेको छु’, नाट्टा बाँकेका अध्यक्ष समेत रहेका मार्टका संयोजक सिग्देलले दैनिक नेपालगन्जसँग भने, ‘यसले मार्टका आगामी संस्करणमा स्थानीय सरकारका सहभागिता महत्वपूर्ण ढंगले रहने अपेक्षा बढेको छ ।’

प्रतिक्रिया

प्रतिक्रिया