बाबा बर्फानी र सन्तानेश्वरमा बन्ने भो ‘हेलिप्याड’

बाँकेको राप्तीसोनारी–४ स्थित धार्मिक गन्तव्य, बर्फानी बाबा मन्दिर क्षेत्र विकासको योजना कार्यान्वयनमा आएको छ ।


चुरे क्षेत्रमा अवस्थित बर्फानी बाबा मन्दिरमा धार्मिक पर्यटनका लागि सहयोग पुग्ने पूर्वाधार निर्माणका लागि बनाइएको विकास योजना कार्यान्वयन थालिएको हो ।


‘त्यहाँ पुग्ने दर्शनार्थीका लागि आवश्यक धर्मशाला निर्माण, पानी तथा शौचालयको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार निर्माण शुरु भएको छ,’ लुम्बिनी प्रदेश सरकारका मन्त्री कृष्णा केसी (नमुना)ले दैनिक नेपालगन्जसँग भनिन्, ‘आइतवारदेखिनै हेलिप्याड निर्माण कार्य शुभारम्भ पनि गरिएको छ ।’


बबा बर्फानीमा नरैनापुर क्षेत्रबाट बाटो पनि बनाइदैछ । अघिल्लो वर्षनै बाटोको योजना थालिएपनि यो वर्ष त्यसले पूर्णता पाउने जानकारी दिंदै मन्त्री केसीले आश्रमलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लुम्बिनी प्रदेश सरकारले ३८ लाख बजेट विनियोजन गरिसकेको बताइन् ।


बाबा बर्फानी मन्दिर क्षेत्रलाई धार्मिक तथा पर्यटकीय स्थलका रुपमा बिकास गरेर आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण थप्न, आवागमनका लागि आवश्यक पूर्वाधार बनाउन आफुले पहल थालिसकेको पनि बताएकी छन् ।


मन्त्री केसीले शनिवार त्यसक्षेत्रको स्थलगत अवलोकन पनि गरेको बताइन् । उनले स्थानीय जनप्रतिनिधि, स्थानीय वासिन्दा तथा मन्दिरका पुजारी श्री श्री १००८ केशव गिरी (बर्फानी बाबा) लगायतसंग छलफल पनि गरेको जानकारी दिइन् ।
हिडेर त्यहाँसम्म पुग्न नसक्ने तिर्थालु तथा पर्यटकको सेवाका लागि हेलिकप्टर प्रयोगको सुबिधाका लागि हेलिप्याड बनाउन लागिएको हो ।


गतवर्ष नाट्टा नेपालगन्ज च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलको पहलमा हेलिकप्टरबाट बाबा बर्फानी र सन्तानेश्वर जाँदा हेलिप्याडको अभावमा ल्याण्ड हुन सकेको थिएन । सो टोलीमा रहेकी प्रदेशसभा सदस्य केसीले हेलिप्याड बनाउने प्रतिबद्धता जनाएकी थिइन् ।

‘ढिलैभएपनि काम शुरु भएछ, खुशी लागेको छ,’ अध्यक्ष सिग्देलले डीपीआर निर्माण गरेरमात्रै दीर्घकालिन महत्वका पूर्वाधार बनाउन आवश्यक रहेको सुझाव दिंदै भने, ‘सरकारले पर्यटनलाई बुझेरमात्रै लगानी गरिदिंदा त्यसको लाभ समुदायले लिन सक्छ ।’


राप्तीसोनारी र नरैनापुर गाउँपालिकाको संगम स्थलमा पर्ने चुरे पहाडमा अबस्थित तपोभुमी बर्फानी बाबाको मन्दिरमा पर्यटनको बिकास गरी प्राकृतिक धार्मिक पर्यटकिय सर्कीट निर्माण गरिने योजना मन्त्री केसीले सुनाइन् ।


त्यसका लागि नरैनापुरस्थित सन्तानेश्वर मन्दिरलाई पनि पूर्वाधारयुक्त बनाउन आइतवार आवश्यक अध्ययन भ्रमण गरेको मन्त्री केसीले जानकारी दिइन् । सन्तानेश्वरमा खानेपानीका लागि तल रहेको खोलाबाट मोटरको सहायताले सोलार प्रबिधि मार्फत सम्भावना देखिएको केसीको भनाइ छ ।


‘मोटरबाट पानी तानेर माथी ल्याई ठूलो ट्याङ्की निर्माण गरेर स्टोर गर्न सकिन्छ,’ मन्त्री केसीले दैनिक नेपालगन्जसँग भनिन्, ‘त्यसपछि सडक, सिढी, बाबाको आश्रम तथा आधुनिक किसिमको मन्दिर निर्माणका योजनामा काम गर्ने योजना छ ।’


सन्तानेश्वरमा पनि हेलिकप्टरबाट आउन चाहने तिर्थालु भक्तजन तथा पर्यटकहरुका सुबिधाका लागि हेलिप्याड बनाइने मन्त्री केसीको भनाइ छ ।

प्रतिक्रिया

प्रतिक्रिया