लायन्स : मानवीय सेवा नै मूल ध्येय

आज शनिबार लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनको तेस्रो क्याबिनेट बैठकको आयोजना भएको छ ।

दैनिक नेपालगन्जले शुक्रवार लायन्स लिडरहरूसँग गरेको सम्यक संवाद । तस्विरः हारुन कबिर/दैनिक नेपालगन्ज

नेपालगन्जमा आयोजना हुने क्याबिनेट बैठकका लागि राजधानी काठमाडौ, बाँके, बर्दिया, सुर्खेत, धनगढी लगायतका जिल्लाबाट सयौं लायन्स प्रतिनिधिहरू शुक्रवारनै नेपालगन्ज आइपुगेका छन् । शुक्रवार नेपालगन्जमा प्रीक्याबिनेट बैठकको आयोजना पनि गरिएको छ ।

आयोजनाको सेरोफेरोमा दैनिक नेपालगन्जले शुक्रवार लायन्स लिडरहरूसँग सम्यक संवाद गरेको छ । कुराकानीका क्रममा मानवीय सेवा नै लायन्सको उद्देश्य भएको उनीहरूले बताएका छन् ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनका लिडर तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का पूर्व गभर्नरहरूले लायन्सको आवश्यकता, समाज सेवामा खेल्नु पर्ने भूमिका र समस्या पहिचान गरी समाधानमा दीर्घकालीन योजनाको बारेका धारणा राखे ।

कुराकानीका क्रममा लायन्स लिडर, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनका संस्थापक डिष्ट्रिक गभर्नर चन्द्र बहादुर (सिबी) चन्दले हामी समाजमा जुन ठाउँमा जे पेशा गरेका छौं, जुन सँगै पेशा व्यवसाय अपनाएको भएपनि लायन्समा आबद्ध भई मावनीय सेवामा समर्पित भैरहेको पाएको बताए ।

‘मेल्भिन जोन सन् १९१७मा ले हामी सेवा गर्छौ भन्ने नारा दिएर अन्तर्राष्ट्रिय संस्था लायन्स क्लब इन्टरनेशनल स्थापना गर्नुभयो, नेपालमा सन् १९७१ मा मातृका प्रसाद कोइरालाले विराटनगरमा स्थापना गरेको लायनवाद अहिले झण्डै ४४ हजार ५ सय आबद्ध भई लायनहरूले विभिन्न अहोभावका साथ सेवा गरिरहनु भएको छ’, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनका संस्थापक गभर्नर चन्दले भने, ‘गतबर्ष मात्रै नेपालमा चार वटा डिष्ट्रिकबाट १५ वटा डिष्ट्रिक स्थापना भएका छन् ।’

त्यसैक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनपनि गठन भएको गभर्नर चन्दले बताए ।
गठन भएको मध्ये लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एन भुगोलका हिसाबले ठूलो भएको जानकारी दिंदै गभर्नर चन्दले भने, ‘यसले काठमाडौं, सेती, महाकाली, भेरी, राप्ती, कर्णाली ओगटेको छ ।’

‘क्लब र मेम्बरशीपका हिसाबले हाम्रो डिष्ट्रिक ठूलो हुन सकेको छैन’, डिष्ट्रिक गभर्नर चन्दले भने, ‘डिष्ट्रिक बाँढिदा नै २ हजार ८ सय ७ सदस्य हाम्रो भागमा थिए, त्यसपछि २ सय थपिनु भयो र क्लब छाड्ने कामपनि भयो ।’ अहिले २ हजार ९ सय पुग्न लागेकोमा अहिले २ हजार ८ सयको हाराहारीमा सदस्य रहेको डिष्ट्रिक गभर्नर चन्दले बताए । १ सय २८ क्लबहरू लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनमा सक्रिय रहेका छन् ।

सदस्यता घट्नुका विभिन्न कारण रहेको जानकारी दिंदै गभर्नर चन्दले भने, ‘जुलाई र जनवरीमा शुल्कका कारण सदस्यता ड्रपआउट हुने गरेका छौं । ‘सदस्यता ड्रपआउटले सेवामा असर र योजनाहरूमा भने असर पर्दैन’, उनले दैनिक नेपालगन्जसँग भने ।

नेतृत्व विकासका दृष्टिले पनि लायन्स अत्यन्तै महत्वपूर्णं भएको तर्क लायन्स लिडरहरूले संवादका क्रममा बताए । ‘डिष्ट्रिक गभर्नरको कार्यकाल जुलाई १ देखि सुरु हुन्छ, डिष्ट्रिक गभर्नरलाई अमेरिका नै लगेर ट्रेनिङ्ग समेत दिइन्छ, मानवीय सेवा कसरी गर्ने भनेर,’ आगामी नेतृत्वका लागि तयार भइरहेका डिष्ट्रिक फष्ट भाइस गभर्नर मुकुट ढकाल नेतृत्व विकास तालिमका लागि अमेरिका जान लागेको जानकारी दिंदै चन्दले भने ।

‘गभर्नरको जिम्मेवारीसँगै गभर्नरले डिष्ट्रिक अफिसरहरू सँग छलफल गरेर आफ्नो एक बर्षे कार्यकालमा केके गर्ने भनेर योजना बनाउँछन्’, गभर्नर चन्दले प्रक्रियाका बारेमा जानकारी दिंदै भने, ‘पूर्व गभर्नर, सिनियर लिडर, डिष्ट्रिक अफिसरसँग बसेर कामगर्ने फ्रेम बनाएर कार्ययोजना बनाएर काम गरिन्छ ।’

लायन्सको उद्देश्य नै सेवा भएकाले लायन्सका योजनाहरू त्यसै अनुसार बनाइने गरेको गभर्नर चन्दले बताए । त्यसबाहेक दीर्घकालीन रूपमा जाने खालका योजनापनि बनाइने गरेको चन्द बताउँछन् । ‘विपद्तमा तत्कालीन राहत दिने बाहेक अन्य वातावरणीय प्रभाव, शिक्षामा सहयोग, उपचार पनि काम गर्दै आएको छ’, उनले भने ।

गभर्नर चन्दले लायन्स आबद्धता र लिडरशीपले आत्मअनुशासन पनि सिकाउने बताए । ‘व्यक्तिलाई सही दिशामा हिड्न पनि लायन्सले सिकाइरहेको हुन्छ’, उनले भने, ‘मैले मेरो कार्यकालमा आफ्नो मार्ग निर्देशक स्वयं बन्नु पर्छ (अप्पदीपो भव)भन्ने श्लोगन दिएको छु ।’

लायन्स गभर्नर चन्दले आफ्नो कार्यकालमा शिक्षामा जोड दिएको बताए । ‘शिक्षाले देश र समाजमा धेरै परिवर्तन ल्याउन सक्छ, उद्दार हुनसक्छ’, गभर्नर चन्दले भने, ‘पढ्न चाहने र अप्ठ्यारोमा परेका बालबालिकाहरूलाई पढाउनु पर्यो ।’
लायन्सले यसअघि स्कलरशीप दिंदै आएको थियो ।

‘मेरो कार्यकालमा ६ देखि ब्याचलरसम्म पढाएर योग्य नागरिक देशलाई हस्तान्तरण गर्ने योजनामा काम भैरहेको छ’, डिष्ट्रिक गभर्नर चन्दले भने, ‘करिब ५ सय बालबालिका विभिन्न लायन्स क्लबको सहयोगमा पढिरहेका छन् ।’ उनले आफ्नो कार्यकालको स्कलरशीप कार्यक्रम आगामी नेतृत्वलाई हस्तान्तरण गर्ने बताए । ‘देश र दिशा बदल्न सक्ने विद्यार्थी लायन्सले तयार गर्नसक्छ’, उनले भने ।

गभर्नर चन्दले धेरै कामगर्ने चाहना भएपनि विभिन्न कारणले पूरा गर्न नसक्ने अवस्था आउने महसुस समेत नेतृत्वमा रहँदा गरेको बताएका छन् ।

डिष्ट्रिक फष्ट भाइस गभर्नर मुकुट ढकालले अबको ५० बर्षलाई सोचेर त्यसको सुरुवातमा रहेका बताए । संवादका क्रममा फष्ट भिडीजी ढकालले अबको ५० बर्ष पछाडिको लायनवाद कहाँ पुग्छ र त्यसको सुरुवातको जग हामीले कसरी निर्माण गर्ने त्यो महत्वपूर्ण रहेको भन्दै थपे, ‘हिजो ५० बर्ष लागेर लायनिज्मले गरेको विकास र अब आउने ५० बर्षका लागि लायनिज्मले गर्नुपर्ने विकासको मध्य ठाउँमा छौं र त्यसलाई हामीले सुरुवात गरेका छौं ।’

संवादमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनका सेकेण्ड भिडिजी विनोद श्रेष्ठले वर्तमान नेतृत्वले ल्याएका योजनाहरू सफल पार्नुपर्ने बताए । उनले भुगोलमा ठूलो हुनु अवसर रहेको बताउँदै मेम्बरशीप कम हुनु चुनौति रहेको बताए । ‘क्वालिटी मेम्बर ल्याउन आवश्यक छ’, श्रेष्ठले भने ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का संस्थापक गभर्नर शेम शाक्यले लायन्सको भावना नै सेवा रहेकाले त्यसतर्फ सन्तोषजनक प्रगतिको अवस्थामा रहेको बताए । उनले भने, ‘सेवाका धेरै कामअझै गर्न बाँकी छ, तर हालसम्म भएका काम सन्तोषजनक रहेका छन् ।’ उनले विपद्मा तत्कालीन राहतमात्रै नभई दीर्घकालीन काम पनि लायन्सले गरेको बताए । उनले लायन्सले डेन्टल अस्पताल सञ्चालनमा ल्याएर दीर्घकालीन सेवा सञ्चालन गरेको बताए ।

‘लायन्स क्लब ३२५ बी २ हुँदा हामीसँग १ सय ५० जति क्लब मात्रै थिए’, पूर्व डिष्ट्रिक गभर्नर शाक्यले भने, ‘अहिले २ सय ५० क्लब पुगिसकेका छौं ।’ स्थापनाकाल देखि यहाँसम्म आउँदा सामाजिक सेवाको भावना विकास गर्न सफल भैरहेको पूर्व डिष्ट्रिक गभर्नर शाक्यले बताए ।

‘सेवाका काम अझै पुर्याउन बाँकी छ, समाजमा सेवा पुर्याउँदा परमानेन्ट परियोजना सञ्चालन गर्न सक्यो भने त्यो सन्देश अझै जनतामाझ पुर्याउन स्थापित गर्न सजिलो हुन्छ,’ उनले भने, ‘अब लायन्स दीर्घकालीन सेवाका क्षेत्रमा क्रियाशिल हुनुपर्छ ।’

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का पूर्व गभर्नर मधुसुदन शर्मा लायन्समा आबद्धताबाट सर्भिस, फेलोसिप र लिडरशीपमा लाभ रहेको बताउँछन् । ‘अब लायन्सले पृथक ढंगले काम गर्नुपर्छ’, उनले भने, ‘लायन्स इन्टरनेशनलबाट आउने प्रोजेक्ट हरेक क्षेत्रमा लग्नु पर्छ ।’

पूर्व डिष्ट्रिक गभर्नर शर्माले आवश्यकता पहिचान गरेर त्यसै अनुसार लायन्सले आफ्नो परियोजना अघि बढाउन आवश्यक रहेको बताए । ‘बाँकेकै सन्दर्भमा भन्ने हो भने यहाँको विकासको समस्या के हो भनेर सरोकारवालासँग छलफल गरेर अगाडि बढ्ने दिशामा अगाडि लायन्स अगाडि बढ्नुपर्छ’, उनले भने, ‘जस्तो राप्तीसोनारी र नरैनापुरमा के आवश्यकता छ त्यो बुझ्ने र के दिन सक्छौं भन्ने बहस जरुरी छ ।’ पूर्व गभर्नर शर्माले लायन्सको आगामी कार्यदिशामा सुझाव दिंदै भने, ‘समाज निर्माण सँगै करप्सनको कुरा पनि लायन्सले उठाउनु पर्छ ।’

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनका क्याबिनेट संयोजक ज्ञानेन्द्र श्रेष्ठले नेपालगन्जमा तेस्रो क्याबिनेट मिटिङ एरिया नं. ४ का सम्पूर्ण लायन्स क्लबहरूको आयोजनामा नेपालगन्जमा गर्न लागेको जानकारी दिए ।

लायन्सले गर्ने नियमित गर्ने काम गरिरहेको बताउँदै क्याबिनेट संयोजक श्रेष्ठले भने, ‘क्याबिनेट बैठकमा यसपटक केही फरक गर्ने तयारी भैरहेको छ ।’


‘खासगरी हाम्रो डिष्ट्रिकमा ५ वटा क्षेत्र रहेका छन् । हामीले ती पाँच वटै क्षेत्रका ऐतिहासिक धार्मिक स्थललाई सम्बोधन हुने किसिमले प्रस्तुति गर्दैछौं । यस क्षेत्रका कलाकारहरू प्रस्तुति पनि हामीले समावेश गरेका छौं,’ संयोजक श्रेष्ठले बैंठकमा नियमित गतिविधि बाहेकका क्रियाकलापबारे जानकारी दिंदै भने, ‘पाँच वटै क्षेत्रका ७५ देखि सत प्रतिशत रजिष्ट्रेशन गर्ने क्लबलाई रिकगनाइज गर्ने भनेका छौं, त्यसको व्यवस्था पनि गरेका छौं ।’

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनका एडभाइजर कृष्ण प्रसाद श्रेष्ठले लायन्स मार्फतको समाज सेवामा आर्थिक क्षेत्रमा क्रियाशिल व्यवसायीहरूको सक्रिय सहभागिता रहेको बताए ।

‘निजी क्षेत्रका साथीहरू हुनुहुन्छ, आफुले कमाएपछि समाजमा केही न केही गर्नुपर्छ भन्ने भावनाले सेवा गर्न लायन्सको भावना अनुसार आबद्ध हुनुभएको छ’, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनका एडभाइजर श्रेष्ठले भने, ‘मानवीय कार्यमा उहाँहरूबाट डोनेसन आइरहेको हुन्छ ।’

लायन्सले राँझा विमानस्थलमा प्रवेशद्वार, राँझामा चिल्डे«न पार्क, गाभरमा पर्यटकीय दृष्टिकोणले धेरै काम गरेको, कोभिडमा पनि लायन्सले धेरै सहयोग गरेको, शिक्षा, स्वास्थ्यका क्षेत्रमा लायन्सले सहयोगका कार्यक्रम गरेको जानकारी श्रेष्ठले दिए ।

क्वालिटी मेम्बर, क्वालिटी सर्भिस

मुकुट ढकाल
फष्ट भिडीजी
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एन

लायन्सको सामाजिक सेवा प्रवेश नेपालमा ५४/५५ बर्ष भयो । हामीले ५० बर्ष पार गरेका छौं । ४६ हजार मेम्बर छन् नेपालमा ।

अबको ५० बर्ष सोंच्ने हो भने हामी त्यसको सुरुवातमा रहेका छौं । अबको ५० बर्ष पछाडिको लायनवाद कहाँ पुग्छ र त्यसको सुरुवातको जग हामीले कसरी निर्माण गर्ने त्यो महत्वपूर्ण हो । हिजो ५० बर्ष लागेर लायनिज्मले गरेको विकास र अब आउने ५० बर्षका लागि लायनिज्मले गर्नुपर्ने विकासको मध्य ठाउँमा छौं र त्यसलाई हामीले सुरुवात गरेका छौं ।
साविकको सुदूरपश्चिम, मध्यपश्चिम र काठमाडौंको केही भाग विगत ५० बर्षको कुरा गर्ने हो भने यो सबैभन्दा दुर्गम क्षेत्र हो । तर, आज हामीले सुरु गर्दा सुगम क्षेत्र मानेर यात्रा पुनः सुरु गर्नुपर्ने हुन्छ । त्यसकारण यी कुराहरूलाई मध्यनजर गर्नुपर्ने हुन्छ ।

सबैभन्दा पहिलो सामाजिक सेवाको अभियन्ताको रूपमा कसैले समाजलाई नेतृत्व गरेर अगाडि जानुपर्छ भने त्यस्ता अभियन्ताहरूको मेम्बरशीप क्वालिटी आउनुपर्छ । सदस्यता गुणात्मक सुधार गरेर क्वालिटी लिएर जानु पर्छ । क्वालिटी मेम्बरले गर्ने कामहरूमा क्यालिटी सर्भिसमा जानु पर्छ, मानवीय सेवाका लागि ।

यो अभियानमा धेरै मान्छे छुट्नु भएको छ । नेपालगन्जको कुरा गर्ने हो भने १ हजारको हाराहारीमा सदस्य छौं हामी । तर, सामाजिक अभियन्ताको रूपमा काम गर्ने हो भने अझै हजारौं मान्छेहरू छन् जसलाई हामीले यो अभियानमा जोड्न सक्छौं । ती मानिसलाई हामीले कसरी लिएर आउने र मध्य र सुदूरका समाजलाई आवश्यकता परेका कुराहरूको पहिचान गरेर सर्भिसमा हामीले लिएर जानु पर्छ ।

अबको हाम्रो यात्रा के हुनुपर्छ ? जसले हामीले समाज रूपान्तरणको भूमिका खेल्नुपर्छ भन्नेमा गम्भीर छौं । एक बर्षको कार्यकाल हुन्छ । एक बर्षको कार्यकाल भनेको विगतमा मैले बिताएको १५ बर्षको १ बर्षमा रिजल्ट ल्याउने समय हो । विगतमा प्राप्त गरेको अनुभवलाई कार्यान्वयनको पक्षमा लिडरशीपले अर्को सालको भूमिका निर्वाह गर्नुपर्छ । मैले आफ्नो तन, मन वचन लगाएर सबैको सहयोग लिएर समाज रूपान्तरणका लागि लायन्समा लाग्नुको फाइदा, युवा वर्ग जसलाई
हामी लियो भन्छौं उनीहरूलाई समेत सामाजिक सेवामा लाग्न प्रेरणा दिएर अगाडि बढाउने उद्देश्यका साथ लागेको छु ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनलाई स्थापित गर्नुपर्ने हाम्रो मूल उद्देश्य छ । मेरो आज यही आव्हान हो, क्वालिटी मेम्बर, क्वालिटी सर्भिस । समाज रूपान्तरणका लागि हामीले खेल्नु पर्ने भूमिका नै मेरो कार्य उद्देश्य बनाएर अगाडि बढ्छु ।

प्रतिक्रिया

प्रतिक्रिया