नेपालगन्ज– १८ ले विनियोजन गर्यो पचास लाखबढी बजेट, शिक्षकलाई तलब खुवाउन सटर निर्माण
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ ले शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर आगामी योजना बनाएको जनाएको छ ।
वडाध्यक्ष दीपककुमार बर्माले आफ्नो वडाले यसवर्ष शैक्षिक पूर्वाधार विकास र गुणस्तरीय शैक्षिक व्यवस्थापनलाई प्राथमिकतामा राखेको जानकारी दिंदै चालु आर्थिक वर्षमा ५० लाखभन्दा बढी बजेट विनियोजन गरेको बताए ।
‘पहिलो चरणमा विद्यालय पूर्वाधारका लागि वजेट केन्द्रीत गरिएको छ,’ वडाध्यक्ष बर्माले दैनिक नेपालगन्जसँग भने, ‘पूर्वाधार बन्यो भने धेरै कुरामा सहजीकरण हुन्छ ।’
त्यसक्रममा वडा नम्बर १८ ले माध्यामिक विद्यालय लग्दहवाको शैक्षिक सुधारका लागि ६ कोठे पक्की सटर निर्माण गरिदिएको छ । ‘यो सटरको भाडाले जुटेको आर्थिक स्रोतबाट करार शिक्षकको तलब सुविधामा सहयोग पुग्नेछ,’ वडाध्यक्ष बर्माले निर्माण कार्य सकिएको जानकारी दिंदै भने ।
विद्यालयमा माध्यमिक तहमा शिक्षकको दरबन्दी अभाव भएका कारण पहिलो प्राथमिकता मावि तहको शिक्षक पदपूर्तिमा हुने बडाध्यक्ष वर्माको भनाइ ।
वडा कार्यालयले कहिलेकाँही उपलब्ध गराउने आर्थिक सहयोगले शिक्षक राख्दा स्थायित्व नदेखिएपछि नियमित आम्दानीका लागि सटर निर्माण गरिदिएको वडाध्यक्ष बर्माले बताए ।
अर्थ मन्त्रालयबाट विनियोजन भएको तराई–मधेस समृद्धि कार्यक्रम अन्तर्गतको ३५ लाख र विद्यालयको ३ लाख ५० हजार रुपियाँमा सुर्खेतरोडस्थित वडा कार्यालयको छेउमा पक्की सटर निर्माण गरिएको हो ।
छ दशक पुरानो विद्यालयको शैक्षिक स्तर सुधारका लागि अग्रसरता लिएका वडाध्यक्ष बर्माले मावि तहको शैक्षिक सुधारपछि दश जोड दुई थप्नतिर पहल लिने बताए । उनले वडाभित्रका संस्थागत विद्यालयको शैक्षिकस्तरदेखि उनीहरुको अवस्था लगायतका बारेमा वडाले नियमन, अनुगमन गर्ने बताएका छन् ।
मेरो टिमको अघिल्लो कार्यकालमा सडक सञ्जाल जोड्ने गरि सडक, नाला निर्माणका पूर्वाधारमा बढी लगानी गरिएको थियो, अब शिक्षा, स्वास्थ्य र रोजगारीका लागि कसरी अगाडी बढ्न सकिन्छ भन्नेमा मेरो टिम अहोरात्र काम गरिरहेको छ ।
दीपककुमार बर्मा वडाध्यक्ष, नेपालगन्ज– १८
‘मेरो टिमको अघिल्लो कार्यकालमा सडक सञ्जाल जोड्ने गरि सडक, नाला निर्माणका पूर्वाधारमा बढी लगानी गरिएको थियो,’ वडाध्यक्षमा दोहोरिएका बर्माले भने, ‘अब शिक्षा, स्वास्थ्य र रोजगारीका लागि कसरी अगाडी बढ्न सकिन्छ भन्नेमा मेरो टिम अहोरात्र काम गरिरहेको छ ।’
वडा सदस्य दिग्विजय ढुंगानाले शैक्षिक संस्थाको संरचनागत सुधारसँगै गुणस्तर विकासमा वडाले चासो लिएको जानकारी दिए । ‘यसमा हामी सबै एकमत भएर लागेका छौं,’ वडा सदस्यमा दोस्रो कार्यकाल बिताइरहेका ढुंगानाले वडाध्यक्षको कमाण्डमा सिंगो टिम एक ढिक्का भएर वडाले निर्धारण गरेका प्राथमिकतामा केन्द्रीत रहेको बताए ।