जयनारायण शाह
(तस्विर सहित)
पोखरा सेती नदी खाेंचमा भएको यति एअरको नाइनएन एएनसी एटिआर बहत्तर जहाज दुर्घटनाले सिङ्गो देश, विशेष गरि पोखरा स्तब्ध छ ।
आइतवार विहान पोखराको आकाश हिजो अस्ति झैं सफा थियो । मैले सूर्योदयको फोटो खिचेको थिएँ, जुन फेसबुकमा पोष्ट गरें अलि ढिलो । आइतवार माघे संक्रान्ति पर्व सबै आआफ्नो तरिकाले मनाउँने क्रममा थिए । म पुम्दी भुम्दीमा रहेको शिवमूर्ति दर्शनकालागि पुगेको थिएँ । थुप्रै भक्तजन तथा पर्यटक त्यहाँ थिए ।
दर्शनपछि पोखरा फर्किंदै थिएँ, नेपालगन्जबाट भाईले प्लेन दुर्घटना भएको हो र ? सेतीको खाेंचमा दुर्घटना भनेर फेसबुकमा आएको छ भनेर सोधेपछि मैले यहाँका फोटो पत्रकार सुदर्शन रन्जितलाई कल गरें । उहाँले म दुर्घटनास्थलमा छु पछि कुरा गर्छुँ भन्नुभयो । त्यसपछि म लोकेसन बुझ्दै घटनास्थल तर्फ लागें ।
यतिन्जेल सडकमा भींडभाड बढीसकेको थियो । जामबाट अगाडि निस्किन नसेकेपछि सवारी साधन छोडेर म अरु मान्छेहरुसँगै हिंडें । कतै वारि कतै अग्ला पर्खाल नाघ्दै वस्ती बीचबाट अघि बढियो ।
दुर्घटनाको खबरले सारा पोखरावासी निस्केपछि सडक अस्तव्यस्त रह्यो, जताततै मान्छे ओहोरदोहर गरिरहेका छन् घटनास्थल नजिक पुग्नै कठिन भयो । दमकल र एम्बुलेन्स र सुरक्षा निकायका गाडीका साइरनको चर्को आवाज सुन्ने जोकोहीले पोखरामा ठूलै विपद् आईपरेको अनुमान गर्न सक्थ्यो ।
बल्लतल्ल नजिक पुगियो । सेतीको खोंचको डिलसम्मै मानिसहरु देखिन्छन् तल खस्लान् भन्ने पीर । पारिपट्टी सुरक्षाकर्मीहरु उद्दारमा खटिएका देखिए ।
हतारमा जाँदा परिचयपत्र समेत अर्को ज्याकेटमा छुटेछ । बल्लतल्ल परिचित प्रहरी अफिसर भेटिएपछि अगाडि जान सकें ।
त्यहाँबाट देखियो हृदयविदारक दृश्य । जहाजको अवशेषमा सुरक्षाकर्मी यात्रुहरुको खोजिरहेका थिए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए ।
सर्बसाधारणको भींड नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे थियो । उनीहरुको सिठीको आवाज पनि साइरन भन्दा कम थिएन । पुरानो एअरपोर्ट नजिकै वडानं ७ र १५ वीचको सेती खोंचमा जहाज बजारिएको थियो । दुवै तर्फ घना वस्ती छ । संयोगवस वस्ती जोगिंदा थप क्षति भएन ।
७ नं तर्फ जहाजको पुच्छर , पखेटा र सिंढीवाला ढोका खसेको थियो भने पारी १५ नं मा अगाीको भाग र पाङ्ग्रा देखिन्थ्यो ।
शुरुमा केहीलाई जीवितै उद्दार गरिएको बताइएको थियो । अन्य यात्रुहरु कोही पनि जीवित भेटिने सम्भावना न्यून झै देखिए पनि सर्वसाधारणमा आशा कायम थियो ।
सेतीको गहिरो खोंचमा यात्रुहरु कतै हराएका थिए । त्यहाँ पुगेका सर्वसाधारणहरु अनेक अनुमान र जिज्ञाशा राखेका देखिन्थे । छेउका वासिन्दाहरु कसरी भयो ? के देख्नुभयो भन्नेजस्ता प्रश्नको निरन्तर जवाफ दिइरहेपनि सम्भावित खतराको र दुर्घनाको त्रासदी उनीहरुको अनुहारमा प्रष्टै झल्किन्थ्यो ।
रिपोर्टमा खटिएका पत्रकारहरु सहकर्मी त्रिभुवन पौडेलपनि सोही जहाजमा रहेको खबरले स्तब्ध भएपछि केहीले क्यामेरा पनि चलाउन नसकेको देखियो ।
सुरक्षाकर्मीहरु खोंचमा पसेर केही शव निकालिरहँदा पटक पटक आगो बढ्थ्यो अनि दमकलहरुले पानी र फोम हानेर निभाउँथे । चारै तिर धुँवा फैलिएको थियो । निजी ट्यांकरहरुले पनि पानी ल्याइरहेका थिए भने शहरका सम्भवतः सबै एम्वुलेन्स यहाँ आइपुगेका थिए ।
केही सर्वसाधारणले सबै भन्दा पहिले घटनास्थल पुगेर उद्दार गरेको सुनियो । पछि पनि केहीले सुरक्षाकर्मीलाई सघाएको देखिन्थे भने केही सेल्फी खिच्नेहरु पनि थिए । उसो त केही सुरक्षाकर्मीहरु पनि टोलाएर बसेको देखिन्थ्यो ।
विहानैदेखि भोकै खटिएका सुरक्षाकर्मीहरु शव अस्पताल पठाएपछि चाउचाउ खाईरहेका थिए भने चीसोको कपडा समेत लगाएका थिएनन् कोही सिभिल ड्रेसमै पुगेका थिए ।
उद्दारमा सबै भन्दा बढी काम लागेको थियो – डोरी । डोरी कै सहायतामा सुरक्षाकर्मीहरु सेतीको खोंचसम्म पुगेर शव निकाले। सशस्त्र प्रहरीको विशेष टोली र सेना खोंचको तल्लो भागमा पुगे । प्रहरीले सघायो । बेला बेला किनारबाट ढुंगा झरेपछि मान्छे हटाईएको थियो। क्रेन र डोरीको सहायताले खोंचबाट एकै पटक धेरै शव निकालेको दृश्यले सबैलाई भावविह्वल बनायो ।
सुविधासम्पन्न शहर भित्रै दुर्घटना भएकोले केहीको जीवितै उद्दार हुने विश्वास मेरो थियो । तर, विडम्बना अहिले सम्म त्यस्तो कुनै संकेत छैन । अझै तीन जना बेपत्ता छन् ।
सेतीको एक किनारमा दमकलहरु , पानी ट्यांकर, क्रेन र एम्वुलेन्सहरुको लर्को थियो । सयौं सुरक्षाकर्मी, केही निजी संस्थाका उद्दारकर्मीहरु उद्दारमा खटिँदा पनि रात परेकोले आजलाई उद्दार कार्य रोकिएको छ । भोलि विहानै शुरु हुनेछ । दुर्गम र विकट ठाउँमा भए अझ हालत के हुँदो हो ?
अझ चाँडो उद्दार हुन सके केहीको ज्यान जोगिन्थ्यो कि भन्ने कुरा पनि उठेकै छ ।
उता घाइते र शवहरु गण्डकी स्वास्थ्यविज्ञान प्रतिष्ठान लगिएको थियो । जहाँ यात्रुका आफन्तको ठूलो भींड लागेको थियो । मृतकका आफन्तजनको रुवावासी र स्थानीय समेतको आक्रोसले त्यहाँ तनावग्रस्त भएको त्यहाँ खटिएका संवाददाताहरुले बताए ।
हामी पुग्दा घटनामा आफन्त गुमाएका गण्डकी प्रदेश प्रहरी प्रमुख रामदत्त जोशी गाडीबाट झरेर पोष्टमार्टम गृह तर्फ लागे । जहाँ शव पहिचान कार्य भइरहेको थियो । उनी युनिफर्ममै थिए । शोक र जिम्मेवारीको दुवैको दवाव र तनाव उनको अनुहारमा देखिन्थ्यो ।
त्यहाँ साँझसम्म मृतकका आफन्तजन र स्थानीयहरु ठूलो संख्यामा प्रहरी र पत्रकारहरु बसिरहृेका थिए ।
दुर्घटनास्थलमा पुगेका यात्रुका आफन्तहरु विक्षिप्त देखिन्थे । उनीहरु बेलाबेला ३ सय मिटरजति गहिरो सेती खोंचको डिल तर्फ जान खोज्थे । सुरक्षाकर्मीले सम्हाल्थे ।
नजिकै रहेको पुरानो एअरपोर्टमा ल्याण्ड गरे त बाँच्थेनि ! ,
पाइलटले वस्ती जोगाउन सेतीमा लगे भन्ने खालका सर्वसाधारणका अनुमान र आशाका कुरा चलिरहनेछन् । तर सरकारले गम्भीर छानवीन गर्नुपर्छ ।
सुरक्षाकर्मीले उद्दार कार्यमा गरेको मेहनतको प्रशंसा गर्नैपर्छ ।
संकटमा नै फौंजहरु काम लाग्ने हो । विपत्ति कहिले आउँछ थाह हुँदैन तर फौजलाई सँधै तम्तयार गरेर राख्नुपर्दछ । ठूलो खर्च गरेर तालिम र उपकरण सहित तिखारेर राख्नुपर्ने कारणहरु यस्तै हुन् ।
चाडवाडको दिन आफन्त कुरेर बसेकाहरु विशेष गरि पोखरेलीहरुलाई ठूलो वज्रपात भयो । स्तब्ध छ पोखरा ! नेपाली आकाशकै कालो दिन रह्यो आज ! यस्तो दुखद घटना फेरि कहिल्यै नदोहोरियोस् ! दिवंगतहरुप्रति भावपूर्ण श्रद्धान्जली ! (पत्रकार जयनारायण शाहको यो आलेख आजको दैनिक नेपालगन्जबाट लिइएको हो )