थारु समुदायको महान पर्व माघीको पूर्वसन्ध्यामा बारबर्दिया नगरपालिकाको वडा नम्बर १० मा बाल विवाह न्युनिकरणका लागि साँस्कृतिक कार्यक्रम गरिएको छ ।
माघी मिलनका रुपमा आयोजना गरिएको साँस्कृतिक कार्यक्रममा बाल विवाह न्युुनिकरणका लागि आवश्यक सन्देश प्रवाह गरिएको हो ।
बारबर्दिया नगरपालिका वडा नं १० को आयोजना तथा प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लब नेपालगन्ज, बि ग्रुप नेपालगन्जको सहयोग तथा सहकार्यमा गरिएको कार्यक्रममा विभिन्न सचेतनामूलक सन्देशका गीतसंगीत प्रस्तुत गरिएको थियो ।
‘प्रत्येक गाउँका साँंस्कृतिक टोलीले परम्परागत साँस्कृतिक नाँचगाँन मार्फत बालविवाह न्युनिकरणका सन्देश तथा त्यसले पर्ने असरको बारेमा सचेतना प्रदान गर्नु भएको थियो,’ बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेजअली सिद्दीकीले दैनिक नेपालगन्जसँग भने ।
वडा भित्र रहेका महिला समुह, युवा क्लब किशोरी क्लब, तथा सांस्कृतिक समुह र बर्दियाका थारु कलाकार तथा समुदायहरुले आफ्नो प्रस्तुति मार्फतसचेतना प्रदान गरेका हुन् ।
कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारूले साँस्कृतिक कार्यक्रममार्फत व्यक्त सन्देशहरुले बालविवाह न्युुनिकरणमा ठूलो सहयोग पुर्याउने विश्वास ब्यक्त गरे ।
बिभिन्न माध्यबाट समुदायलाई बालविवाह र माघी मिलन बारेमा जानकारी गराए चाडै नै बालमैत्री पालिका र हिंसा रहित समुदाय बनाउन सकिने कुरामा नगर प्रमुख थारुको जोड थियो ।
बालविवाह न्युनिकरण सहयोग गर्ने वडा नं १० का विभिन्न टोलका गरी ६४ जना बरघरहरुलाई सम्मान समेत गरिएको कार्यक्रम वडाअध्यक्ष रण बहादुर चौधरीको अध्यक्षतामा भएको हो ।
अधिकारकर्मी सुदिन चौधरीले सहजीकरण गरेको कार्यक्रममा सबै वडा अध्यक्ष, सदस्यहरु, टोल बरघर, बाँके युनेस्को क्लब नेपालगन्जका कर्मचारी, स्थानीय बुुद्धिजीवी, शिक्षक बरघर, संचारकर्मी, स्थानीय तथा अतिथि कलाकारहरु, स्थानीयवासी ठुलो संख्यामा सहभागिता रहेकाले पनि सन्देश प्रवाहमा व्यापकता दिन सहयोग पुगेको सिद्दीकीको भनाइ छ ।
बाल संरक्षण कार्यक्रम अन्तरगत थारू समुदायको महान पर्व माघीको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।