टुरिजम हबको कार्ययोजना

पर्यटन पूर्वाधारका लागि निजी क्षेत्रको ठूलो लगानी भएको बाँकेमा ‘टुरिजम हब’ बनाउने तर्फ कार्ययोजनाका लागि पहल थालिएको छ ।

बाँकेको पर्यटन विकास र बिस्तारमा निरन्तर पहल कदमी लिइरहेको नाट्टा बाँकेले त्यसका लागि कार्ययोजना बनाउने अग्रसरता लिइएको हो । ‘वेष्टर्न ट्राभल मार्ट’ त्यसको एउटा महत्वपूर्ण पूर्वाधार हो’, नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले आइतबार बाँकेका पत्रकारहरूसँग अन्तरक्रिया गर्दै भने, ‘आउनुस् यसलाई साझा कार्यभार बनाऔं ।’
वेष्टर्न ट्राभल मार्टको दोस्रो संस्करण निश्चित भएपछि तयारीका क्रममा पत्रकारहरूसँग छलफल भैरहँदा मार्ट आयोजनाको नेतृत्व लिएका सिग्देलले आयोजनाका विविध पक्षबारे चर्चा गर्दै भने, ‘डब्लुटिएम पश्चिम नेपाललाई विश्वसामु चिनाउने एउटा अभियान हो, नेपालगन्जको गौरवका रूपमा स्थापना हुँदै गरेको इभेन्ट हो ।’

संयोजक सिग्देलको कुरालाई नजिकबाट नियालीरहेका हान बाँकेका कार्यवाहक अध्यक्ष दिवाकर खनालले नेपालगन्जलाई पर्यटकीय गन्तव्य बनाउन निजी क्षेत्रले गरिरहेको प्रयासमा सबै तर्फको सहयोगको आव्हान गरे । खनाल मार्ट आयोजक मूल समितिमा सहसंयोजक हुन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघमा अध्यक्षको जिम्मेवारी सम्हालिसकेका कृष्ण प्रसाद श्रेष्ठ पर्यटन प्रवद्र्धन मञ्च बाँकेको नेतृत्व गरिरहेका छन् । नाट्टाकै पहलमा बाँकेमा रहेका पर्यटनमा लगानी गर्ने र पर्यटकीय अभियानलाई अगाडि बढाउन चाहनेहरुसम्मलाई एउटै मञ्चमा ल्याइएपछि नेतृत्व सम्हालेका श्रेष्ठ पत्रकारहरुसँग भने, ‘हामी पर्यटकीय क्षेत्रका लगानीकर्ताहरुलाई हौसला दिन अभियानमा होमिएका हौं ।’ उनले वेष्टर्न ट्राभल मार्टका कारण पश्चिम नेपालको पर्यटकीय गन्तव्यको पहिचान र बिस्तार हुने विश्वास गर्दै भने, ‘त्यसको प्रत्यक्ष लाभ नेपालगन्जले लिनसक्छ ।’

नाट्टा बाँकेका अध्यक्ष सिग्देलले आगामी माघ १४–१७ गते तय भएको वेष्टर्न ट्राभल मार्ट यसपटक विशेष बनाउने गरी आयोजक समिति अगाडि बढेको जानकारी दिए । नेपाल पर्यटन बोर्डको विशेष सहभागितामा भारतीय ट्राभल एजेन्टहरुको आगमन निश्चित भैसकेकाले यसपटक दोस्रो संस्करण भव्य हुने विश्वास संयोजक सिग्देलको छ ।

आयोजनाको तयारीलाई औपचारिकता दिन बोर्डका सिइओ डा. धनञ्जय रेग्मी सहितको टोली आइतबार नै नेपालगन्ज आइपुगेको छ । डा. रेग्मी सँग पत्रकार भेटघाटको आयोजना गरिने संयोजक सिग्देलले जानकारी दिए । नाट्टा लुम्बिनीका अध्यक्ष रचना पन्त सहितको टोली पनि रुपन्देहीबाट आइतबार नै नेपालगन्ज आइपुगेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया