नेपालगन्जमा लायन्सका संस्थापकको १ सय ४४ औं जन्मोत्सव मनाइँदै
नेपालगन्ज क्षेत्रका लायन्स क्लबहरुले लायन्सका संस्थापक मेल्बिन जोन्सको १ सय ४४ औं जन्मोत्सवको साता व्यापी अभियान शनिवारबाट शुरु गरेका छन् ।
त्यसअवसरमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ पुरैनीमा पाठेघरको मुखको क्यान्सर परिक्षण शिविर सञ्चालन गरिएको छ । डिष्ट्रिक्ट एडभाइजर उमा थापा मगरका अनुसार, साप्ताहिक कार्यक्रम अन्तर्गत लायन्स क्लब अफ नेपालगन्ज भेरीले आयोजना गरेको परिक्षणमा पुरैनीका ७६ जना महिलाले सेवा लिएका हुन् ।
लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी (नमुना)ले शिविरको शुभारम्भ गर्दै ग्रामीण भेगका महिलाहरुको स्वास्थ्यलाई मध्यनजर गरेर आयोजना गरिएको कार्यक्रमको शुरुवातलाई सकारात्मक बताइन् ।
जनचेतनाको अभाव र स्वास्थ्यमा देखिएका समस्यालाई लुकाएर राख्ने बाध्यताका कारणले गर्दा कतिपय महिलाहरुको ज्यान जोखिममा पर्ने गरेको परिस्थितिलाई शिविरले सम्बोधन गर्ने उनको विश्वास थियो । सांसद नमुनाले महिलाहरुको जटिल स्वास्थ्य समस्याका विषयमा स्वयम् आफू सचेत हुनुपर्ने र जागरुक हुनुपर्नेमा जोड दिइन् ।
कार्यक्रमका विशिष्ट अतिथि पूर्व गर्भनर शेम शाक्यले महिलाहरुले आफूभित्रको समस्या लुकाएर राख्ने प्रवृत्तिका कारण समयमा उपचार नहुने र अनेकौं स्वास्थ्य समस्याको सामना गर्नुपरेको हुँदा सम्पूर्ण महिलाहरुले यो अवसरको सदुपयोग गर्दै खुलेर आफ्ना समस्या राख्नुपर्नेमा जोड दिए ।
वडा नम्बर २२ का वडा अध्यक्ष अब्दुल गफार हलवाईले लायन्स क्लबले महिलाहरुको एकदमै जटिल समस्यालाई सम्बोधन गर्ने विश्वास गरे ।
कार्यक्रमका अध्यक्ष मेल्बिन जोन्स डे सेलिब्रेसनका संयोजक सावित्रा बस्नेतले वडाका सम्पूर्ण महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर परिक्षणमा सहभागी भएर समयमा नै आफूभित्रको रोग पत्ता लगाएर उपचार गर्न अग्रसर हुन अनुरोध गरिन् ।
लायन्स क्लब अफ भेरीका अध्यक्ष शुष्मा सुवेदीले स्वागत गरेको कार्यक्रममा पूर्व डिष्ट्रिक गभर्नर मधुसुदन शर्मा, एक्जिक्युटिभ चिफ शशी स्वाँर, डिस्ट्रिक्ट को–चिफ सरिता शाक्य, लायन साबित्रा शर्मा लगायत उपस्थित थिए ।
पाठेघरको मुखको क्यान्सरको परिक्षण डा. फरहद बानो र डा. नम्रता भट्टराईले गरेका थिए । चेकजाँचको क्रममा कतिपय महिलाहरुको पाठेघरमा ट्युमरको केश देखिएको हुँदा थप उपचारको लागि सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा रिफर समेत गरिएको डिस्ट्रिक्ट एडभाइजर थापाले जानकारी दिइन् ।
साप्ताहिक कार्यक्रमका क्रममा, शनिवारनै लायन्स क्लब अफ नेपालगन्ज पिएनएलफले मानव सेवा आश्रमका ५० जनालाई ज्याकेट (न्यानो लुगा) वितरण गरेको जनाएको छ ।
त्यस्तै, लायन्स क्लब अफ नेपालगन्ज, सिनर्जी, रोल्पा र न्युरोडले संयुक्तरुपमा बैजनाथ गाउँपालिका ७ पेडारीका १३ जना अपांगता भएका बालबालिका र भवानी मावि बढैयाताल सिमरा ३ का ३५ जना बौद्धिक अपांगता भएकाहरुलाई न्यानो लुगा वितरण गरेको छ ।
लायन्स क्लब अफ नेपालगन्ज वाटरपार्कले कारकाँदोमा रहेको सुस्त मनस्थिति भएका २५ जनालाई ट्रयाकसुट वितरण गरेको जनाएको छ ।
दन्त शिविर
आइतवार बिहान ८ बजे देखि लायन्स क्लब अफ नेपालगन्ज, सिनर्जी, रोल्पा र न्युरोडको संयुक्त आयोजनामा लायन्स डेन्टल अस्पताल खजुरा रोडमा दन्त शिविर आयोजना गरिएको छ ।
नेपालगन्ज क्षेत्रका लायन्स क्लबहरुले लायन्सका संस्थापक मेल्बिन जोन्सको १ सय ४४ औं जन्मोत्सवको साता व्यापी अभियान शनिवारबाट शुरु गरेका हुन् । त्यसक्रममा यो साता विभिन्न कार्यक्रमहरु राखिएका छन् ।