किन बन्यो प्रहरी मुकदर्शक ?

शनिवार दिउँसो नेपालगन्जको सुर्खेतरोड स्थित धम्बोझी चोकमा सत्ता साझेदार राप्रपा निकट युवाहरुले प्रहरी विरुद्ध नाराबाजी गर्दै आवागमन ठप्प पारे ।

झण्डै एक घण्टासम्म धम्बोझी चोकका चार वटै नाका ठप्प पारिरहँदा प्रदर्शनकारीकै हाराहारीमै तैनाथ प्रहरीहरु आफु विरुद्धको मुर्दावाद ध्यानपूर्वक सुन्ने बाहेक कुनै प्रतिक्रिया जनाएनन् ।

त्यसबाट उत्साहित प्रदर्शनकारी युवाहरु चारै तर्फबाट आउने सवारी साधनलाई ‘जताबाट आएको हो उतै जानुस्’ भन्दै गए । कतिपय चोकमैं एक घण्टासम्म ‘होल्ड’ भए । कतिपयले आपद्विपद् छ भनिरहे, सुनुवाई कसले गर्ने ?

राप्रपा निकट युवाहरुको आक्रोश थियो, ‘बाँके प्रहरी–प्रशासनले कयौं दिनदेखि खजुरा क्षेत्रमा भैरहेको गौहत्या नियन्त्रण र त्यसका अपराधीलाई कारवाही गर्न पटक्कै चासो देखाएन ।’ अपराध नियन्त्रणका लागि प्रहरी प्रशासन असफल रहेको भन्दै निरन्तरका मुर्दावादका नारा मात्र लागेनन्, निकै चुनौतिपूर्ण शब्द सहितका आक्रोशहरु पोखिए ।

नपोखिउन् पनि कसरी ? खजुराको गौहत्यालाई लिएर उनीहरुले निरन्तर प्रहरी–प्रशासनलाई ज्ञापन बुझाउँदै आएका छन् । कारवाही भएको संकेतसम्म उनीहरुले नपाएपछि कानुन विपरित भएको कार्यलाई प्रहरी–प्रशासनले किन मौलाउन दिइरहेको छ ! आशंका सहित उब्जिएको उनीहरुको आक्रोश सडकमा पोखिएको थियो । तर, सास्ती भने सर्वसाधारण यात्रुलाई भयो ।

आइतबार दिन दहादै नेपालगन्जको गणेशपुरमा खुँडा, खुकुरी चल्यो । तीन जना घाइते मात्र भएनन्, त्यो क्षेत्रमा त्राहिमाम मच्चियो । गम्भीर घाइते युवाहरुलाई उपचारका लागि लखनउ पठाएपछि काँग्रेस सम्बद्ध युवाहरुले संयुक्त विज्ञप्ति मार्फत प्रहरी, प्रशासनको चर्को आलोचना गरे, अपराधीलाई कारवाही नगरिए आन्दोलनको चेतावनी दिए ।

चार जनालाई प्रहरीले पक्राउ गरेर भोलिपल्ट सोमबार सार्वजनिक गर्यो, कारवाही हुनेमा धेरैलाई आशंका छ । घटनामा प्रहरीले कतिजना दोषी थिए भन्नेसम्म खुलाएको छैन । रेडिमेड उत्तर छ, ‘अनुसन्धानमै छौं ।’

धम्बोझीचोकमा युवाहरुले प्रहरी, प्रशासन विरुद्ध नारा लगाइरहँदा पुष्पलालचोकबाट ‘डाइभर्ट गरिएको’ ना ७ ख १७ नम्बरको ट्रकले न्यूरोड भानुभक्त चोक नजिक साइकल यात्रीलाई ठक्कर दियो ।

पाँच सय मिटरको दुरीमा रहेका दुई सुविधासम्पन्न अस्पतालमा समयमै घाइते पुर्याउन सकिएन, अत्याधिक रक्तश्रावले १८ बर्षीय युवा तेजन थापामगरको ज्यान गयो ।

नेपालगन्जको एक संस्थागत विद्यालयमा कक्षा १२ अध्ययनरत् थापामगरको घटनालाई लिएर प्रहरी, प्रशासनको भूमिका आलोचित भयो, आक्रोशित विद्यार्थी र पीडित परिवार सहितका आफन्तहरु सोमबार १० बजेतिर कारकाँदो चोकमा प्रदर्शनका लागि उत्रिए ।

नउत्रिउन् कसरी ? पीडित परिवार सहितका आफन्त र विद्यार्थीले घटनाको २४ घण्टासम्म पनि दोषीलाई कारवाहीको सुनिश्चितता र क्षतिपूर्तिको प्रसंगमा जिम्मेवार निकायबाट कुनै सम्बोधन पाउन सकेनन् । ‘दिनभरी जिल्ला प्रहरी कार्यालयमा बस्दा गम्भीरतापूर्वक हाम्रा कुराहरु सुनिएनन्’, आइतबार अबेर साँझ जिल्ला प्रहरी कार्यालयबाट फर्किएका पीडित पक्षका प्रतिनिधि भन्छन्, ‘बाध्य भएर सडक आउनु पर्यो ।’

विहान कारकाँदो चोकमा विद्यार्थी सहित नाराबाजीमा उत्रिएका प्रदर्शनकारीहरु प्रति प्रहरी प्रशासनले न त सम्बोधनका लागि सकारात्मक व्यवहार गर्यो । न त कानुन विपरित राजमार्ग बन्द गरेर सार्वजनिक यातायात ठप्प पार्ने अराजकता विरुद्ध नै उत्रन सक्यो । समय घर्किदै गयो, प्रदर्शनकारीहरुले उपेक्षा महसुस गरे ।

घोषित नेतृत्व विहीन प्रदर्शन बिस्तारै सुर्खेतरोड घेर्दै गयो । कारकाँदोका चारै नाका ठप्प पारेका उनीहरुमध्ये एउटा टोली थप विद्यार्थीहरु बोलाएर धम्बोझीतर्फ केन्द्रित भयो भने अर्को टोली राँझा चोक पुग्यो । एक्कासी ठाउँठाउँमा टायर बालेर प्रदर्शनमा उत्रिएका नव युवाहरुको संख्या थपिंदै गयो ।

अधिकांस विद्यालय पोशाकमै उत्रिएका उनीहरुलाई सम्बन्धित विद्यालयले नै प्रदर्शन स्थलसम्म पुर्यायो । यी सबै कुराको एक तमासले हेर्दैै गए प्रहरी–प्रशासनका प्रतिनिधिहरु ।

दिनभर जसो आवागमन ठप्प पारेका युवा विद्यार्थीहरुले आफ्नै खर्चको चाउचाउ र पानीका भरमा दिन बिताए, टायरको धुँवा र तातोपनसँग खेल्दै ! उनीहरुलाई न त आफ्ना मागबारे सुनुवाई भए, नभएको जानकारी थियो, न त यो प्रदर्शन कतिञ्जेल लम्बिन्छ भन्ने नै हेक्का । ‘हाम्रो साथी मारिएको छ, हामीलाई न्याय चाहियो’, फाँसीको माग गर्दै नाराबाजी गरिरहेका उनीहरु कसले बोलाएर त्यहाँसम्म पुगे भन्ने कुराको समेत हेक्का दिएनन् । नवयुवक ती विद्यार्थीको मनःस्थितिमा कानुनमै नभएको फाँसीको माग गर्ने कुरा कसले राखिदियो ? कतिपय विद्यालयबाट फर्किदै गर्दा प्रदर्शनसँग जोडिएका पनि भेटिए ।

‘घटनामा संलग्न ट्रक धनी र सम्बन्धित व्यवसायी समितिको प्रतिनिधि मंगलबार १० बजेसम्म हाजिर गराउने शर्तमा प्रदर्शन रोकिएको हो’, साँझ ढल्दै गएपछि खुकुलो भएको सडकबाट यातायातको अन्योलता सकिएपछि जिल्ला प्रहरी कार्यालयबाट निस्किएकी वार्तामा सहभागी नेतृ मन्दिरा पाण्डेले भनिन्, ‘पीडितलाई न्यायमा आश्वस्त पार्न नसक्दा आन्दोलन बढ्दै जाने देखिन्छ ।’

प्रतिक्रिया

प्रतिक्रिया