के अब भारी बिसाउँछन् त प्रचण्डले ?

मित्रलाल सापकोटा

बडामहाराजधिराज पृथ्वीनारायण शाहको अवसानको ३२ बर्षपछि शुरु भएको प्रधानमन्त्रीको इतिहासमा पुष्पकमल दहाल प्रचण्ड पछिल्ला प्रधानमन्त्री हुन् । नेपालका प्रधानमन्त्रीहरु मुख्तियारी देखि जर्नेलसम्म र आम जनता देखि श्रीपेजधारीसम्म भएका छन् । ती सबै प्रधानमन्त्रीको लाइनमा बिभिन्न भारी बोकेका प्रधानमन्त्रीहरु पनि भए ।

२००७ साल पहिला एक किसिमको शासन टिकाउने भारी बोकेका थिए भने त्यस यताका केहि प्रधानमन्त्रीले मात्रै बिशेष भारी बोक्दै आएका थिए । २०१५ सालमा विपीले प्रजातन्त्रलाई संस्थागत गर्ने भारी बोकेका थिए । त्यसपछि २०४६ सालमा प्रजातन्त्रको पुर्नस्थापनापछि कृष्ण प्रसाद भट्टराईले प्रजातान्त्रिक संविधानको भारी बोके र इमान्दारिताका साथ समय मै त्यो भारी बिसाए ।

२०४७ को संविधानपछि प्रजातन्त्रलाई संस्थागत गर्ने भारी बोकेका गिरिजाप्रसाद कोइरालाले भारी थाम्न सकेनन् या चाहेनन् र लोभमा फस्न गए । उनको त्यो लोभको भाँडोले २०४७ सालको संविधान नै घाँडो भयो । अस्थिरताका कारकका रुपमा चित्रित भए । त्यहि अस्थिरताका कारण नेपालमा अनावश्यक हत्याहिंसाको जन्म भयो । त्यसयता यसरी भारी बोक्ने प्रधानमन्त्री देखिएनन् । द्वन्दले थिलथिलो पर्न लागेको नेपाललाई मुक्त गर्नुपर्ने भारी बोकेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारी बोक्नै सकेनन् र त्यसलाई गन्तव्यमा लगेर बिसाउन नखोजि दरबारमा पछारिदिए ।

द्वन्दको रापतापबाट जन्मेका प्रचण्डले संविधानसभा मार्फत संविधान बनाउने, द्वन्द समाप्त पार्ने, जनजीविकाका सवालमा यथोचित काम गर्ने, आफ्ना लडाकु, घाइते अपाङ्गहरुलाई व्यवस्थापन गर्दै समाजमा उनैले उब्जाएको मतभिन्नतालाई मतएक्यतामा परिणत गर्ने भारी बोकेर २०६५ सालमा गणतान्त्रिक नेपालका प्रथम प्रधानमन्त्री भए । तर त्यसलाई व्यवस्थापन गर्ने भारीको तौललाई सम्झिन सकेनन् ।

नेपालको हजारौं बर्ष पुरानो विरासत र सनातन सँस्कृतिलाई भत्काएर, त्यसको ज्ञान परम्परालाई गाली गरेर क्रान्तिकारी बन्ने मनोबृतिका कारण उनले नेपाली सापेक्षताको भारी हटात् पल्टाउन खोजे । त्यहि नै उनका लागि असफलताको कारक बन्यो । त्यसयता उनको साख मात्रै खस्केन । उनको पार्टीको शक्ति पनि क्षीण हुँदै गयो । अन्ततः उनले कसैको बैसाखी नटकी संसदको सिंडी चढ्न नसक्ने अवस्थामा पुगे ।

यसपटको निर्वाचनले नेकपा माओवादी केन्द्रलाई सबैभन्दा कमजोर अवस्थामा ल्याएर उभ्याइदियो । निम्छरो तेस्रोदल भएकोमा माओवादी र प्रचण्डको बार्गेनिङ शक्ति पनि निम्छरो नै देखियो । नेपाली काँङ्ग्रेसले पाएको ८९ सीट र गैर कम्युनिष्टहरुको संसदमा रहेको राम्रै उपस्थितिले देउवालाई आफ्नै सरकार बन्नेमा विश्वस्त गराइरह्यो ।

ओलीसँगको प्रचण्ड र माधव नेपालको तिक्तता, उनीहरुले एकआपसमा दिएका सार्वजनिक अभिव्यक्तिहरु, गठबन्धन जुनसुकै अवस्थामा पनि कायम रहने प्रचण्ड उचावका बीच देउवालाई आफ्नै नेतृत्वमा सरकार बनाउने विकल्पै विकल्प देखिए ।

कसैगरि धारा ७६(२) अनुसार सरकार नबनेमा पनि धारा ७६(३) को सरकार बनाउन आफैले पाउने अवसर देखेका देउवालाई प्रचण्ड र माधव नेपाललाई किनारा लगाउन ओलीले देउवालाई नै सर्मथन गर्छन भन्ने लागेको वा ओलीले सर्मथनको कुनै ओठे आश्वासन पनि दिएकोले होला देउवा कुनै हालतमा सरकार बनाउन हैसियत नपुग्ने आँकलन गरेका प्रचण्डसँग मोलतोलमा जानै खोजेनन् । आफु ठूलो दलको शक्तिशाली संसदीय नेता बनेकोमा उनमा अझै आत्मविश्वास बढेको पनि थियो होला ।


नेपाली काँङ्ग्रेसभन्दा एकतिहाइमा रहेको माओवादीका प्रचण्डलाई प्रधानमन्त्री नस्वीकार्ने मनस्थिति बनाएका देउवालाई प्रचण्ड जस्तो नेपाली राजनीतिमा चतुर र जतापनि जसरी पनि मोडिनसक्ने क्षमता भएको नेतालाई कम आँकलन गर्ने भूल गरे ।

प्रचण्डले आफ्नो पुरानै नीति आफ्नो स्वार्थका लागि जोसुकैको ढाडमा चढेर टाउकोमा हान्ने प्रबृतिलाई एकाएक निरन्तरता दिए । देउवा कुरिरहे, प्रचण्ड ओलीको बार्दलीमा पुगेर प्रधानमन्त्रीको सुनिश्चिता गरे ।

यो पुरा घटनाक्रम नेपाली राजनीतिको इतिहासमा धेरैलाई अचम्म लाग्यो । तर हिजो बयलगाडा चढेर गणतन्त्र आउँदैन भन्ने ओलीको टर्निङ पोइन्ट बिर्सेकाहरुले प्रचण्डको टर्निङपोइन्टलाई अकस्मात भने ।

प्रचण्ड समकालिन राजनीतिमा सबैभन्दा चलाएमान नेता हुन । उनका धेरै कुराहरुसँग यो पङ्तिकार सहमत हुनसक्दैन तर उनको तत्काल निर्णय लिनसक्ने क्षमता, आफ्ना निकटतम् कार्यकर्ताहरुलाई संरक्षण गर्ने बानी, जस्तोसुकै अवस्थामा पनि बिचलित नभइकन उच्चतम् जोखिम मोल्ने आँटको प्रसंशा गर्नैपर्छ । उनका समकक्षी बाबुराम आफ्नो बिद्धताका बावजुद प्रचण्डको सामु कतै नदेखिनु उनमा प्रचण्डको जस्तो लचकता नहुनु नै हो ।

प्रचण्डलाई आज नैतिकताका हिसाबले गाली गर्नेहरुको लर्को सञ्जालभरि ब्याप्त छ । उनले नेपाल नेपालीत्व प्रति गरेका अन्तरघातहरुलाई सामुन्ने राख्दा उनको प्रशंसामा एकशब्द पनि खर्च गर्नु भनेको ती अन्तरघातमा आफ्नो पनि सहभागिता जनाउनु हो तर नेपाली राजनीतिमा धेरै नेताहरुले आ आफ्नो चाबुक चलेका बेला कमोबेस नेपाल र नेपालीत्वलाई धोका दिन पछि परेका छैनन् । यसअर्थमा प्रचण्ड मात्रै दोषी र अरु दुधले नुहाएका हुनसक्दैनन् ।

हामीले रामायण रचयिताका कथा पढ्यौ भने रत्नाकर पनि बाल्मिकी भएको पाउँछौं । पण्डितका नाति राक्षस रावण भएको र राक्षस रावणका भाई विभिषण पनि असल कार्यका लागि रामसँग गएको कथा पढ्छौं । यस्तो पौराणिक कालमा मात्रै होइन यो कालमा पनि हुनसक्छ ।

हामीले नपढेका पढ्न नभ्याएका कतिपय व्यक्तिहरु आफ्ना अतितका कुत्सित कार्यका बावजुद कालान्तरमा असल कार्य गरेर देशको मूल कुल धर्म सँस्कृति, भाषा सभ्यता प्रति इमान्दार भएको हुनसक्छन् । उसले सुध्रिन पाउनुपर्छ । यसैले हिन्दीमा भनाई छ नि ‘सुबहका भुला साम को घर लौट आए तो उसे भुला नही कहते’ ।

प्रचण्डले हिजो के गरे ? किन गरे ? त्यसमा उनले किन कहिल्यै पछुतो मानेनन् ? यी जिज्ञासाहरुको जवाफ प्रचण्डले आफ्ना निर्णयहरु हठात् परिवर्तन गरेझैं दिन सक्दैनन् । उनी जुन पृष्ठभूमिबाट उदाएका हुन, उनका अगाडी पछाडी जेजस्ता व्यक्तिहरुको घेराबन्दी छ । त्यस अवस्थामा गल्ती गरेको महसुस हुँदाहुँदै पनि एकाएक सच्याउन सक्दैनन् । एकाएक सच्याउनु भनेको प्रचण्ड सक्किनु नै हो । यो उनलाई थाह छ ।

यसैले उनले हरेक कुरालाई थकाउँदै गलाउँदै, बिर्साउँदै आफुलाई नेपाल र नेपालीत्वको मुलधारतिर फर्काउँदै लगेका छन् । उनीसँग आज दुईथरि मानिसहरु साथमा छन् । एउटा हिजोका नेपालीत्व बिरुद्ध जाई लाग्नेहरु जसलाई आजपनि आफ्नो अस्तित्व देखाइ राख्न प्रचण्ड चाहिएको छ । अर्काथरि प्रचण्ड बदलिन सक्छन् भन्ने आशा पालेकाहरु ।

प्रचण्डका विगत दुईपटका प्रधानमन्त्रीत्व कार्यकाल भन्दा यसपटकको कार्यकाल पक्कैपनि भिन्न हुनेछ भन्ने आशा गर्न सकिन्छ । उमेरले सत्तरी छुन लागेका प्रचण्डसँग अर्को पाँचबर्ष पछि यो पदमा पुगेर आफुले उठाएको भारी सहजताका साथ बिसाउँछु भन्ने अवसर नहुन सक्छ ।

उनलाई अहिलेको कार्यकाल विगतका जस्तो यसै गुमाउने छूट छैन । २०५२ सालबाट बलेको आगो केहि मत्थर त भएको छ तर निभेको छैन । उनले आफ्ना मुखले नउकेलिकन बिस्तारै बिस्तारै आफुलाई परिवर्तित गर्दै लगेका छन् । २०६४ को त्यो उत्तालोपनबाट पछि हट्न लागेका उनी उग्र कार्यकर्ताहरुलाई उनीहरुकै भाषामा थामथुम पार्दै आफ्ना पाइलाहरु सुधार गर्दै गैरहेका छन् ।

नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको दरबार ‘गोरखा दरबारमा’ उभिएर फोटो खिचाइ चुनावप्रचार शुरुगरेका प्रचण्डले निर्वाचनपछि नेपाली औपचारिक पोषाकमा सपथग्रहण गरेर बालुवाटार सर्ने साइत समेत ज्योतिषलाई हेराएर उनले नेपाली सँस्कृतिलाई स्वीकार गर्ने प्रयास गरेका छन् । उनका दुई काँधमा उठाइएका भारीहरुको सन्तुलन पक्कै मिलेको छैन तर उनले त्यो सन्तुलन ल्याउने प्रायस गरेका छन् ।

प्रचण्डले पद पाए तर कसरी पाए त्यसको हिसाब गर्न कोहि चाहँदैनन् । उनले पाएका त छन् तर धेरैकुरा गुमाएका पनि छन् । उनले पाएको उनको चतुर्याइँ र कर्मले हो भने गुमाएको उनको कुकर्मको परिणाम हो ।

विगत २५ बर्षयता देखि उब्जेका नेपाली समाजमा थाँती रहेका बोझहरु र त्यसले निम्त्याएका सहजै नरित्तिने भारीहरुको कुम्लो बोकेर प्रचण्ड बालुवाटार छिरेका छन् । उनलाई यो भारी निकै जिम्मेवारीपूर्ण रुपमा बिसाउनै पर्ने बाध्यता छ ।

उनले आफ्नो इतिहासलाई सम्झिन लायक बनाउन पनि उनले इन्तु किन्तु परन्तु गर्ने र सत्ताको उन्मत्ततामा उम्लिएर विगतका जस्ता गल्ती दोहोर्याउने छूट छैन । शायद यो उनको लागि उनका विगतका तमाम गल्तीहरु, आफ्नै देशको इतिहास मेटाउन गरेका कुकुर्महरुलाई सच्याउने मौका मिलेको छ भन्दा पनि अतिशोक्ति नहोला ।

नेपाली सभ्यता भनेको बदला खोज्ने सभ्यता होइन । क्षमा, दान, सहृदयता नेपाली समाजका बलिया आधारहरु हुन् । आफ्नै शत्रुलाई पनि क्षमा गरेर बसुधैव कुटुम्बकम् को आर्दश बोकेको समाजमा प्रचण्डलाई अबका दिनपनि बन्दुकै आडभरोसामा काट्नुपर्छ भन्ने छैन् । उनीसँग अझै पनि गलतबाटोको भारी बिसाउने अवसर छ ।

कसैलाई निषेध गरेर नेपाल बन्दैन । नेपालको इतिहास र सभ्यता पनि बच्दैन भन्ने प्रचण्डले भलिभाँती बुझेका छन् । उनी अबको यो कार्यकालमा ती सबै कुराको भारी बिसाउन सहज बाटो निर्माण गर्नेछन् भन्ने विश्वास लिने आधारहरु पनि छन् । उनी आजपनि माओवादीभित्र र्निविकल्प नेता हुन । उनीसँगै माओवादीको अवसान पनि अवश्यमभावी छ भन्ने उनले बुझेका छन् । हिजो आफ्नै साथीहरुको विरोध र बहिष्कारका बावजुद हतियार बिसाउने आँट गरेका हुन् ।

इतिहासलाई गाली गरेर गर्व गर्दै गर्दा र अढाई सय बर्षको विरासतलाई निषेध गरेर सबै मेरो भन्दै गर्दा जे परिणाम भोगिरहेका छन् त्यो अरुले बिर्सन सक्छन् तर उनले पक्कै बिर्सेका छैनन् । प्रचण्ड जुन आइडोजीबाट यहाँसम्म आए त्यसको नियतिलाई हेर्दा पक्कै पनि धेरैको मनमा अझै शंका छ ।

के अब भारी बिसाउँछन् त प्रचण्डले ? आशा गरौंं प्रचण्डले भारी बिसाउन । उनलाई सफल र सुखद प्रधानमन्त्रीत्व कार्यकालको शुभकामना ।

प्रतिक्रिया

प्रतिक्रिया