वेष्टर्न ट्राभल मार्ट जनवरीमै प्रस्ताव

विशेषत भारतीय पर्यटकहरूलाई नेपाल भित्र्याउने अभियानका रूपमा सुरु गरिएको वेष्टर्न ट्राभल मार्ट पूर्व निर्धारित समय भन्दा अगावै आयोजना गर्न प्रस्ताव गरिएको छ । वेष्टर्न ट्राभल मार्ट आयोजना सचिवालयको शनिबार बसेको बैठकमा अध्यक्ष श्रीराम सिग्देलले जनवरी तेस्रो साता मार्ट आयोजनाको प्रस्ताव गरिएको जानकारी दिए ।

‘तयारी र व्यवस्थापनका दृष्टिले यो निकै चुनौतिपूर्ण छ’, आयोजक समिति अध्यक्ष सिग्देलले बैठकपछि दैनिक नेपालगन्जसँग भने, ‘भारतीय ट्राभल एजेन्टहरूको आधिकारिक केन्द्रीय संस्था, ट्राभल एजेन्ट एशोसिएसन अफ इन्डियाको बार्षिक साधारणसभा समेतको आतिथ्यता अवसर जुटेकाले यो चुनौति उठाउन हामी तयार हुनुपर्छ ।’

अध्यक्ष सिग्देलका अनुसार, जनवरी २०–२२ का लागि प्रस्ताव गरिएको वेष्टर्न ट्राभल मार्ट आयोजनाको नीति छिट्टै नेपाल पर्यटन बोर्डसँगको समन्वय र ताईका पदाधिकारीसँगको छलफलबाट छिट्टै टुंगो लगाइनेछ ।

‘तर, हामी तयारीका प्राविधिक कामहरू अगाडि बढाइसकेका छौं’, अध्यक्ष सिग्देलले भने, ‘खासगरी पश्चिम नेपालका पर्यटकीय गन्तव्यहरूको सूचि तयार गर्नेदेखि व्यवसायीहरूले आफ्ना प्याकेज बनाउने कामलाई तिव्रता दिने निर्णय गरिएको छ ।’

आयोजनाका सदस्य सचिव कृष्ण प्रसाद श्रेष्ठले पहिलो संस्करणको अनुभव र सिकाईका आधारमा दोस्रो संस्करणलाई अझ भव्य र सभ्य बनाउने गरी तयारीमा जुटिएको जानकारी दिए ।

तयारीमा जुट्यो नाट्टा

पश्चिम नेपालको पर्यटन विकास र बिस्तारमा उल्लेखनीय भूमिका खेल्ने अपेक्षा गरिएको वेष्टर्न ट्राभल मार्टको दोस्रो संस्करणका लागि नाट्टा बाँके च्याप्टर तयारीमा जुटेको छ ।

भारतीय पर्यटनमा निकै महत्वपूर्ण भूमिका खेलिरहेको ट्राभल एजेन्ट एशोसिएसन अफ इन्डिया (ताई) को बार्षिक साधारणसभा समेतको आयोजना नेपालगन्जमा हुने भएपछि वेष्टर्न ट्राभल मार्टको महत्व अझ बढेको भन्दै नाट्टा त्यसको भव्यतामा जुटेको हो । नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलको अध्यक्षतामा शनिबार बसेको जिल्ला कार्यसमिति बैठकले मार्टको भव्यता र सभ्यताका लागि सम्पूर्ण नाट्टा समर्पित भएर लाग्ने निर्णय गरिएको सचिव भागिराम ओलीले जानकारी दिए ।

‘नाट्टाकै विशेष पहल र प्रयासमा नेपालगन्जमा ताईको नेतृत्व आउने भएकाले पनि वेष्टर्न ट्राभल मार्टको दोस्रो संस्करण अझ महत्वपूर्ण हुँदैछ’, अध्यक्ष सिग्देलले नाट्टाको बाँके च्याप्टर सम्पूर्ण रूपमा मार्टको तयारीमा जुट्ने निर्णय गरेको जानकारी दिंदै भने, ‘यो केवल नाट्टाको मात्रै नभई नेपालगन्ज र सिंगो बाँके जिल्लाको दायित्व भित्र परेको छ ।’ नाट्टाले ट्राभल मार्टलाई सफलतापूर्वक आयोजना गर्न सबैको सहभागिताका लागि आव्हान पनि गर्ने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया