‘आर्थिक दासत्वाको सामना गर्नु परिरहेको छ’

मधु पौडेल

बैकको चर्को व्याजदरका कारण आफ्नो व्यवसायी नै धरापमा परेको भन्दै बाँके नेपालगन्जका उद्योगी व्यवसायीहरू राष्ट्र बैकको मौद्रिक नीति तथा चर्को व्याजदरको विरुद्धमा पछिल्लो समय छलफलमा जुटेको पाइएको छ । हरेक विषयमा दासत्व झेल्दै आएको नेपाली समाजमा पछिल्लो समय उद्योगी व्यवसायीहरूले आर्थिक दासत्वाको समाना गर्नु परेका भन्दै छलफलमा जुटेका हुन् ।

शनिबार नेपालगन्जको नेपाल सरकारको आर्थिक नीति तथा बैकहरूको चर्को व्याजदरले कतिपय उद्योगी व्यवसायीहरू पलायनको अवस्थामा रहेका र कतिपय व्यवसायीहरू मृत्यवरण गर्नु परेको भन्दै नेपालगन्जका उद्योगी व्यवसायीहरूले बैठक समेत आयोजना गरे ।

बैठकमा उपस्थिति अधिकांश उद्योगी व्यवसायीहरूले नेपालगन्ज उद्योग बाणिज्य संघले राख्दै आएको मागहरूलाई थप उर्जा प्रदान गर्ने उद्देश्य राख्दै उद्योग बाणिज्यसँग समन्यव गर्ने टिम समेत बनाएको छ । बैठकमा बोल्दै नेपालगन्ज उद्योग वाणिज्य संघ पूर्व अध्यक्ष तथा नेपाल उद्योग महासंघका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले पछिल्लो बाँकेमा मात्रै नभै देशभरका व्यवसायी आन्दोलनमा रहेको बताए ।

केन्द्रीय सदस्य श्रेष्ठले भने, ‘नेपालगन्ज उद्योग बाणिज्य संघले व्यवसायिक आन्दोलनको नेतृत्व गर्नुपर्ने भएपनि अपेक्षित रूपमा अगाडि बढ्न नसकेकाले चरणबद्ध रूपमा आन्दोलन गर्दै जानु पर्ने आवश्यक रहेको छ ।’

यसैगरी नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व वरिष्ठ सदस्य ललित कुमार रौनियारले छलफलको उद्देश्य माथि प्रकाश पार्दै नेपालगन्ज उद्योग वाणिज्य संघलाई थप उर्जा प्रदान गर्नका लागि भएको हुँदा यसलाई अन्यथा कसैले पनि लिन नहुने बताए । सदस्य रौनियारले भने, ‘अहिले देश भरका उद्योगी व्यावसायीहरू मारमा परेका छन, उनीहरूको अवस्था निकै खराव भएको छ अतः सबैलाई समेटेर समस्या समाधान तिर लाग्नु पर्ने नेतृत्वको दायित्व हो ।’

उद्योगी व्यवासायीहरूले आयोजना गरेको छलफलमा बोल्दै नेपालगन्जका चेम्बर अफ कमर्स बाँकेका महासचिव संजय थापाले पछिल्लो समय मुलुकको मौद्रिक तथा आर्थिक नीतिका कारण ठुला व्यवसायीहरू समेत पलायन हुदै आफ्नो सन्तानलाई ऋणको भारी बोकाएर जानु पर्ने अवस्थामा पुगेको बताए । कमर्सका बाँकेका महासचिव थापाले भने, ‘विभिन्न परिवर्तनका लागि आन्दोलन भएको भएता पनि आर्थिक दासत्वको अन्त्यका लागि कुनै आन्दोलन नभएको हुँदा व्यवसायीहरू बीचको छलफल र आन्दोलनले महत्व राख्छ ।’ महासचिव थापाले व्यवसायीक हितका लागि गठन भएका संगठनहरू प्रति लक्षित गर्दै सरकारले उद्योगी व्यवसायीहरूको लागि केही गर्ला भन्ने आशा नभएको अवस्थामा महासंघ पुरै अन्धो, लाटो, बहिरो भएको हुँदा साना व्यवसायीहरू एक जुट बन्नु पर्ने बताए । यसैगरी जडिबुटी व्यवसायी संघ बाँकेका अध्यक्ष तथा नेपालगन्ज उद्योग बाणिज्य संघका सदस्य टंक प्रसाद शर्माले पछिल्लो समय हरेक प्रकारले उद्योगी व्यवसायीहरू मारमा परेको हुँदा सबै व्यवसायीहरूको एक भएर समस्याको समाधानमा लाग्नु पर्ने बताए ।

छलफलमा आफ्ना भनाई राख्दै डा.विनोद कर्णले सबै व्यापारीहरू एकजुट नहुँदा व्यवसायीका समस्या समाधान बल नपुगेको हुनसक्ने धारणा राखे । सबै उद्योगी व्यवसायीहरू एक भएर चर्को व्याजको विरुद्धमा लाग्नु पर्ने उनको भनाई थियो ।
होटल व्यवसायीको प्रतिनिधित्व गर्दै उमा ग्राण्डनले पछिल्लो समय बैकको चर्को व्याज एवं घर भाडाहरूको एकरूपमा नहुँदा अधिकांश होटल व्यवसायीहरूले होटल बन्द गर्नु पर्ने अवस्था सृजना भएको बताइन् । होेटल व्यवसायी ग्राण्डनले भनिन्, ‘बाँके त्यसमा पनि नेपालगन्ज होटलहरूको हवको रूपमा परिचित भएता पनि अहिले आएर भएका होटलहरू बन्द गर्नु पर्ने अवस्था सृजना हुनु निकै दुखत विषय हो, यसमा सम्बन्धित निकायले ध्यान दिनु पर्ने हुन्छ ।’

यसैगरी कृषक व्यवसायीको तर्फबाट दिपेन्द्र कुमार जोशी, मनोज तिवारीले नेपालगन्ज उद्योग बाणिज्य संघले गरेका कार्यक्रमहरू प्रभावकारी नबनेको भन्दै छुटै संयन्त्र बनाएर अगाडि बढ्न सुझाव दिएका थिए । व्यवसायी विवेक कुमार श्रेष्ठले सहजीकरण गरेको छलफलबाट ललित कुमार रौनियारको संयोजकत्वमा ११ सदस्यीय समन्वय टिम समेत गठन गरिएको छ ।

समाचारदाता
दैनिक नेपालगन्ज

व्यवसायीहरूले हाल भोगिरहेको समस्या सम्बोधनका लागि ११ सदस्यीय समन्वय समूह गठन गरिएको छ । शनिबार भएको व्यवसायीहरूको भेलाले व्यवसायिक मुद्दामा हुने आन्दोलनमा सघाउने उद्देश्यले समन्वय समिति गठन गरेको हो ।
समन्वय समूहको सदस्यमा मोहम्मद अहमद राई, दिपेन्द्र कुमार जोशी, सुजित सिंह सिजापति, उमा ग्राण्डन, दिपक खड्का, बिनय श्रेष्ठ, विवेक कुमार श्रेष्ठ, मनोज तिवारी, हरिश्चन्द्र श्रेष्ठ, सन्तोष वैश्य सदस्य छन् । समन्वय समूहको सल्लाहकारमा कृष्णा प्रसाद श्रेष्ठ, गोपाल प्रसाद अधिकारी र संजय थापालाई राखिएको छ । साथै निर्माण गरिएको टिमले नेपालगन्ज उद्योग बाणिज्य संघले राखेको मागलाई थप बल पुग्ने गरी सहभागिता जनाउने समितिका सदस्य विवेक कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया