अर्थतन्त्र जोगाउन सांसदसँग मारवाडी समाजको अपील

नेपालको आर्थिक क्षेत्रमा क्रियाशिल समुदाय, नेपालगन्ज स्थित मारवाडी समुदायले बाँकेबाट निर्वाचित सांसदहरूलाई एउटै मञ्चमा उभ्याएको छ ।

नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरूलाई स्वागत, सम्मानका लागि मञ्चमा निम्त्याएको मारवाडी समुदायले मुलुकको अर्थतन्त्र निकै जोखिममा रहेको भन्दै ‘सम्हालिदिन’ आव्हान गरेको छ ।


नेपालगन्ज मारवाडी सेवा समाज परिषद्ले बाँकेका नवनिर्वाचित प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरूलाई निम्त्याएर स्वागत, सम्मानसँगै अर्थतन्त्र जोगाउन सांसदहरूको भूमिका खोजेको हो ।


‘हामीलाई तपाईहरूबाट आशा छ, संकटमा गुज्रिएको मुलुकलाई नवनिर्वाचित संसदले सकारात्मक दिशातर्फ उन्मुख गराउने छ’, मारवाडी समुदायका अगुवा, वरिष्ठ उद्योगपति कन्हैयालाल वैद्यले सांसदहरूसँग भने । उद्योगपति वैद्यले बैंक ब्याज र व्यवस्थाका कारण उद्योग, व्यवसाय जीर्ण बन्दै गैरहेको तर्फ जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराए ।

‘उद्योग, व्यवसाय सम्हाल्न नसक्ने गरी जीर्ण भैरहेको छ’, वरिष्ठ उद्योगपति वैद्यले सांसदहरूलाई ध्यानाकर्षण गराउँदै भने, ‘बैंक ब्याज र बेथितिपूर्ण व्यवस्था सुधार नगरिए अब झेल्न सक्ने अवस्थामा हामी छैनौं ।’ उनले नवनिर्वाचित संसदप्रति एकमात्र आशा रहेको औंल्याउँदै भने, ‘देश र जनताको हितका लागि तपाईहरूले आफ्नो कर्तव्य निर्वाह गरिदिनुस् ।’

वरिष्ठ उद्योगपति वैद्यले गम्भीर प्रस्तुतिका साथ सांसदहरूसँग विषयवस्तु पस्किइरहँदा कार्यक्रममा सहभागी मारवाडी समुदायका बहुसंख्यक उद्योगपति व्यवसायीहरूको एउटै स्वर थियो । ‘आर्थिक मन्दी अब लम्बिनु भएन’, वैद्यले भने, ‘यो अवस्था अझै लम्बियो भने भयावह हुन्छ ।’


कार्यक्रमको सुरुवातमा परिषद्का उपाध्यक्ष समेत रहेका वरिष्ठ उद्योगपति वैद्यको भनाइकै सेरोफेरोमा जनप्रतिनिधि केन्द्रित रहे । ‘निर्वाचन ताका तपाईहरू दलीय एजेन्डामा जनतामाझ पुगेर निर्वाचित हुनुभयो’, वैद्यले राजनीतिक नेतृत्वतर्फ पनि ध्यानाकर्षण गर्दै भने, ‘अब दलीय स्वार्थ भन्दा माथि उठेर देश, जनता र आफ्नो क्षेत्रको विकासका लागि एक ढिक्का भैदिनुस् ।’


कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्री समेत रहेका सांसद किशोर सिंह राठौंर, राप्रपाका केन्द्रीय महामन्त्री समेत रहेका सांसद डा. धवल समशेर राणा, नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका सांसद सुर्य ढकाल सहित प्रदेशसभा सदस्यहरू सहभागी थिए ।


अन्त्यमा कार्यक्रम समापन गरिरहँदा आयोजक संस्था नेपालगन्ज मारवाडी सेवा समाज परिषद्का अध्यक्ष डा. सुरेश कुमार कनोडियाले विकासका सवालमा जनप्रतिनिधिहरू एक भएर अगाडि बढ्न सुझाव दिए ।


नेपालको राजनीतिक विकास क्रममा मुख्य ठूला दलहरूकै सेरोफेरोमा सत्ता घुमिरहेको संकेत गर्दै कार्यक्रमका अध्यक्ष डा. कनोडियाले अर्थतन्त्रको स्थायित्वका लागि काम गर्न सुझाव दिए । ‘तपाईहरू ४/५ दलकै सेरोफेरोमा मुलुक घुमिरहेको छ’, मञ्च तर्फ केन्द्रित हुँदै डा. कनोडियाले भने, ‘तपाईहरूका पार्टी सम्बद्ध विषयविज्ञ, अर्थविद्हरूलाई एक ठाउँमा राखेर दीर्घकालीन अर्थनीति बनाउनुस् ।’


अर्थतन्त्रको विकासका लागि राजनीतिक स्थायित्वसँगै नीतिगत स्थिरताको खाँचो औंल्याइरहेका नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. कनोडियाले भने, ‘अर्को महत्वपूर्ण काम भनेको कृषकहरूका लागि मल, बिऊको सहज उपलब्धताको सुनिश्चितता गरिदिनुस् ।’


कार्यक्रममा सांसद राठौंरले राजनीतिक स्थायित्वका लागि संविधानको रक्षामा जोड दिए । ‘त्यसका लागि गठबन्धनको सरकारले संविधानको रक्षा गर्नेकुरामा प्रतिबद्ध छ,’ राठौंरले भने, ‘तर, जनतापनि उत्तिकै जिम्मेवार भैदिनुपर्यो ।’ उनले जनतामा बढ्दो नकारात्मकताले मुलुकलाई हित नगर्ने टिप्पणी गर्दै राम्रो र नराम्रो छुट्याएर जनताले राजनीतिक नेतृत्वलाई दण्ड, सजायका लागि गम्भीर हुनुपर्ने बताए ।


सांसद डा. राणाले आर्थिक गतिविधिको सुधारका लागि व्यवसाय मैत्री ऐन कानुन बनाउन आवश्यक रहेको कुरामा आफु सहमत भएको बताए । ‘आयात–निर्यात नीतिमा समय सापेक्ष सुधारको खाँचो छ’, त्यसका लागि आफ्नो सकारात्मक मत राख्दै सांसद डा. राणाले भने, ‘भन्सार पद्धतिमा सुधार र बैंक ब्याजमा देखिएको बेथितिलाई समयमै समाधान गरिनु आवश्यक छ ।’


अर्का सांसद ढकालले मुलुकमा अर्थतन्त्र नबुझेको अर्थमन्त्रीका कारण विद्यमान समस्या उत्पन्न भएको टिप्पणी गरे । ‘आर्थिक क्षेत्रको नेतृत्व गलत मान्छेको हातमा गयो भने मुलुक तहसनहस हुने रहेछ’, वर्तमान अर्थमन्त्री तर्फ लक्षित गर्दै एमाले नेता समेत रहेका सांसद ढकालले भने, ‘आर्थिक प्रगतिको एजेन्डालाई मुलुकको एजेन्डा बनाएर अगाडि बढाउने कुरामा मेरो प्रतिबद्धता रहनेछ ।’


माओवादी केन्द्रीय सदस्य समेत रहेकी प्रदेशसभा सदस्य कृष्णा केसी (नमुना), एमालेका प्रदेश उपसचिव समेत रहेका प्रदेश सांसद दुर्गा चौधरी, एमाले बाँकेका सचिव समेत रहेका प्रदेश सांसद रत्न खत्री, काँग्रेस नेता समेत रहेका प्रदेश सांसद बादशाह कुर्मी, जसपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद आदेश कुमार अग्रवालले आर्थिक क्षेत्र र मारवाडी समुदायको योगदानबारे चर्चा गरेका थिए ।


कार्यक्रमको सहजीकरण गरिरहेका उद्योगपति सतिश अग्रवालले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई एकै ठाउँमा राखेर आर्थिक क्षेत्रको ‘ऐना’ देखाउन खोजिएको बताए । ‘यसबाट नवनिर्वाचित सांसदहरु आफ्नो भूमिकामा आर्थिक सवाललाई प्राथमिकतामा राखेर समय सापेक्ष ढंगले अगाडि बढ्नुहोला भन्ने अपेक्षा हो’, अग्रवालले भने ।

प्रतिक्रिया

प्रतिक्रिया