नवनिर्वाचित जनप्रतिनिधिहरूले पर्यटनको विकास र प्रवद्र्धनलाई प्राथमिकतामा राखेर विकासका योजना ल्याउनु पर्ने माग सम्बद्ध क्षेत्रले गरेको छ ।
बाँकेका पर्यटन व्यवसायीहरूको आइतबार बसेको बैठकले आम निर्वाचनको पछिल्लो नतिजालाई विश्लेषण गर्दै यसले आर्थिक क्षेत्रको समुन्नतिमा उत्साह ल्याउन सक्ने कुरामा आशंका गरिएको छ ।
‘निर्वाचनको नतिजाबाट निजी क्षेत्र उत्साहित हुने वातावरण बनेन’, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले भने, ‘स्थानीय स्तरबाटै जनप्रतिनिधिहरूलाई पर्यटनका पक्षमा जिम्मेवार बनाउनु पर्छ ।’ शान्ति र स्थायित्वका लागि कुनैपनि दलको स्पष्ट बहुमत आवश्यक रहेको भन्दै अस्थीरताप्रति व्यवसायीहरु चिन्तित देखिएका हुन् ।
जिल्लामा पर्यटकीय गतिविधि बढाउँदै शिथिल बनेको पर्यटन विकासका लागि पहल गर्न बैठकको आयोजना गरिएको नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।
‘स्थानीय सरकारहरूले क्रमशः पर्यटनलाई प्राथमिकतामा राख्न लागेका छन्’, निर्वाचनका घोषणापत्रहरूमा दलहरूले पर्यटनका सवाललाई समेट्न सुरु गरेको प्रसंग सुनाउँदै अध्यक्ष सिग्देलले भने, ‘अबका विकासका योजनाहरूमा पर्यटनलाई प्राथमिकतामा राख्न निरन्तर दबाबको आवश्यकता छ ।’
बैठकमा सहभागी पर्यटन क्षेत्रका विभिन्न प्रतिनिधिहरूले खस्किदो पर्यटनलाई अगाडि बढाउन नीतिगत सहजीकरणदेखि सहयोगसम्मका योजनाहरू ल्याउन सरकार गुहार्नुपर्ने अवस्था औंल्याए ।