नेपालगन्जमा ‘बाल सिर्जना महोत्सव’

बालबालिकाको सिर्जनशीलता वृद्धिका लागि नेपालगन्जमा भव्य ‘बाल सिर्जना महोत्सव’ आयोजना गरिएको छ । दुई दिनसम्म बालबालिकाले आफ्ना सिर्जनशील क्षमता उजागर गर्ने साझा मञ्च बनेको महोत्सव शनिबार सकिएको हो ।


एउटै मञ्चमा काव्य रचना, वक्तृत्वकला प्रस्तुति, चित्रकला विधा, गायन, एकल तथा सामूहिक नृत्य लगायतका विधामा प्रिस्कुलदेखि कक्षा ५ सम्मका विद्यार्थीहरू बीच प्रतिस्पर्धात्मक सहभागिता गराइएको महोत्सवका आयोजक संस्था लाइभवेलका प्रमुख भोजराज शर्माले जानकारी दिए ।


त्यस्तै, खुल्ला प्रतियोगितामा कक्षा ६ देखि १२ का तीन देखि १८ बर्ष उमेर समूहका बालबालिकाहरूलाई विभिन्न चरणका विधागत प्रतिस्र्धाबाट छनोट गर्दै शनिबार फाइनल राउण्डमा लगिएको थियो । ‘मेरो नेपालगन्ज’ विषयमा कविता वाचनमा प्रतिस्पर्धात्मक सहभागिता जनाएका बालबालिकालाई युवा कवि विपी अस्तु र नविन अभिलासीले निर्णायकको भूमिका खेलेका थिए ।


त्यस्तै, ‘मेरो सपना समृद्ध नेपालगन्ज’ विषयको वक्तृत्वकलामा सहभागी किशोर–किशोरीहरूको प्रस्तुतिमा वरिष्ठ कलाकार कमल विके निर्मोही निर्णायक थिए । गायनमा डाक्टर नरेन्द्र बासकोटाले ‘जजमेन्ट’ गरेको कार्यक्रम संयोजक शर्माले जानकारी दिए ।


आयोजनाको मुख्य प्रस्तुतिका रूपमा रहेको एकल तथा सामूहिक समूहगत नृत्यको प्रतियोगितात्मक प्रस्तुतिमा युवा पुस्तामाझ लोकप्रिय नृत्य गुरु करण शाहले निर्णायकको भूमिकामा दिनभरका प्रस्तुतिमा ‘फिडब्याक’ सहित निर्णायक जजमेन्ट गरेका थिए । नृत्यका चर्चित कलाकार कोरियोग्राफर समेत रहेका शाहले ससाना बालबालिकाको प्रस्तुतिहरूमा उत्साह भर्ने काम गरेका थिए ।


दुई दिनसम्म ४ सय बढी बालबालिकाहरूलाई एउटै मञ्चमा ल्याएर विभिन्न विधामा प्रतिस्पर्धात्मक सहभागिता गराइएको कार्यक्रम संयोजक लाइभवेलका प्रमुख शर्माले जानकारी दिए ।

‘खासगरी बालबालिकाहरूलाई उनीहरूको आन्तरिक क्षमता उजागर गर्न र खुशी हुन सिकाउने उद्देश्य आयोजनाको हो’, अभिभावकहरूको स्वस्फूर्त रुचिमा ठूलो सहभागिता सहित महोत्सव सफल भएको जानकारी दिंदै शर्माले भने, ‘तर, यहाँका विद्यालयहरूको सहभागिता अपेक्षित भएन ।’

आफै पनि शिक्षक रहेका उनले बालबालिकालाई अध्ययनले मात्र नपुग्ने टिप्पणी गर्दै भने, ‘यहाँका विद्यालयहरूले बालबालिकालाई पढाएर मात्रै राम्रो बनाउँछु भन्ने बुझाई ठिक नभएकाले सिर्जनशील भूमिकाहरूमा उनीहरूलाई सहभागिता गराउनु पर्ने ध्याउन्न हाम्रो हो ।’ (तस्विरहरुः रमेश मल्ल)

प्रतिक्रिया

प्रतिक्रिया