निर्वाचित भएपछि आम मतदातालाई धन्यवाद दिन घरदैलोमा पुगेका बाँके क्षेत्र नं. १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुर्य ढकालले मतदातासँग ‘जिम्मेवारी बाँडफाँड’ गरेका छन् ।
धन्यवाद सभाको सुरुवात गर्दै शनिबार नरैनापुर पुगेका सांसद ढकालले मतदाताले मतमात्र दिएर नपुग्ने भन्दैआफ्नो जिम्मेवारी पूरा गर्न आव्हान गर्दै भने, ‘मैले निर्वाचन अघि व्यक्त गरेका प्रतिबद्धताहरू हुबहु पूरा गर्न अहिले पनि उत्तिकै प्रतिबद्ध छु ।’
नेकपा एमाले बाँकेका इन्चार्ज समेत रहेका केन्द्रीय सदस्य ढकाल पार्टीका स्थानीय नेता, कार्यकर्ता सहित समर्थकहरूको साथमा नरैनापुर पुगेका थिए ।
‘तपाई आफ्ना छोराछोरीलाई आजैबाट अनिवार्य रूपमा नियमित विद्यालय पठाउनुस्’, ग्रामीण बस्तीका मतदाताहरूलाई आफ्नो जिम्मेवारी सम्झाउँदै सांसद ढकालले भने, ‘म उनीहरूका लागि राम्रो विद्यालय, असल शिक्षक र आवश्यक वातावरणका लागि जिम्मेवारी लिन्छु ।’
सांसद ढकालले गाउँघर, टोल र व्यक्तिगत सरसफाईको जिम्मेवारी लिन मतदाताहरूलाई आव्हान गरे । अधिकार मात्रको कुरा नगरी जिम्मेवारी पनि बोध गर्न आव्हान गर्दै धन्यवाद सभामा भने, ‘तपाईको स्वास्थ्य उपचारका लागि आवश्यक पूर्वाधार निर्माणका लागि मेरो पहल हुनेछ ।’
उनले सरकारको तर्फबाट गर्नुपर्ने बाटाघाटा, पुल, पुलेसा, सिंचाई, विद्युत लगायतका न्यूनतम पूर्वाधारका लागि पहलकदमीको पुल आफु बन्ने प्रतिबद्धता दोहोर्याउँदै भने, ’मैले निर्वाचनमा व्यक्त गरेका हरेक शब्दप्रति म प्रतिबद्ध भएर त्यसलाई पूरा गर्न जिम्मेवारीमा लाग्नेछु ।’
सांसद ढकालले प्रत्येक गाउँमा पुगेर मतदाताहरूलाई धन्यवाद दिंदै उनीहरूलाई पनि जिम्मेवारी बाँडफाँड गर्दै हिडेको बताए ।
‘निर्वाचन आउने बेलामा नेता वा सांसदलाई गाली गर्नुभन्दा मतदाताले निरन्तर खबरदारीको दायित्व निर्वाह गर्नुपर्छ भन्ने मेरो मान्यता हो,’ सांसद ढकालले दैनिक नेपालगन्जसँग भने, ‘नेताहरूलाई मात्रै गाली गरिरहनु भन्दा जनताले निर्वाह गर्नुपर्ने जिम्मेवारी पनि बहन गर्दै मिलेर अगाडि बढौं भन्ने मेरो प्रस्ताव हो ।‘
उनले नेता, सांसद वा सरकार एक्लैले सबै कुरा गर्न नसक्ने तर्क गर्दै भने, ‘आफ्नो गाउँठाउँ बनाउन स्थानीयबासी नागरिकको अझ महत्वपूर्ण भूमिका हुन्छ, म त्यो भूमिकामा पनि नजिकबाट मतदातासँग सहकार्य गरेर अगाडि बढ्न खोजिरहेको छु ।’
परिणामपछिको भेटघाट र धन्यवाद कार्यक्रमलाई विजय र्यालीका रूपमा नभई आम मतदातासँग अबका प्राथमिकताबारे सहकार्यको रूपमा अगाडि बढाएको भनाइ सांसद ढकालको छ ।