नेपालगन्जमा ‘साइक्लोथन’ आयोजना गरिने भएको छ । नेपालगन्ज साइक्लिङ क्लबले शनिवार ५ औं मेयरकप साइकल दौड प्रतियोगिता आयोजना गर्न लागेको हो ।
क्लबका अध्यक्ष सतिश निरौलाका अनुसार, साइकललाई पर्यटन, पर्यावरण र स्वास्थ्यसंग जोडेर मेयर कप ‘साइक्लोथन’ गर्न लागिएको हो । साइकल अभियानमा बिगत ५ बर्ष देखी कृयाशिल संस्था नेपालगन्ज साइक्लिङ क्लबले बाँकेमा साइकल सम्बन्धि विभिन्न इभेन्ट तथा प्रतियोगिता आयोजना गर्दै आएको छ ।
अध्यक्ष निरौलाले आयोजनाको तयारी पुरा भएको जानकारी दिंदै प्रतियोगिताको रुट निर्धारण पनि गरिसकिएको बताए । उनका अनुसार, नेपालगन्जको बिपि चौक देखी कोहलपुरको चौराह सम्म तय गरिएको छ ।
कार्यक्रम संयोजक प्रदीप सापकोटाले प्रतियोगिता ५ क्याटोगरिमा आयोजना हुने बताएका छन् । क्लब सचिव समेत रहेका कार्यक्रम संयोजक सापकोटाका अनुसार, एमटिभी मेल ३५ किलोमीटर, एमटिभी फिमेल २५ किलोमीटर, साधारण साइकल पुरुष २० किलोमीटर, साधारण साइकल महिला १० किलोमीटर र ४० बर्ष माथिको लागि एमटिभी मास्टर क्याटोगरिमा खेल आयोजना गरिएको छ ।
आयोजकका अनुसार, प्रतियोगितामा बिजेतालाई नगदका साथै विभिन्न पुरस्कार प्रदान गरिनेछ । ‘यो प्रतियोगिताले नेपालगन्जमा साइक्लिङका खेलाडी उत्पादनमा टेवा पुर्याउने बिश्वास क्लबले लिएको छ,’ दैनिक नेपालगन्जसँग कुरा गर्दै क्लबका कोषाध्यक्ष राजेश कुमार गुप्ताले भने । उनका अनुसार, आयोजनाका लागि नेपालगन्ज उपमहानगरपालिकासँग सहकार्य गरिएको छ ।