हल्ला मच्चाउनेहरूसँग सावधान !

डा.धवल शम्शेर राणाको परिचय कम्तिमा बाँकेबासीलाई दिइरहनु पर्दैन । नेपालगन्जको दुई कार्यकाल नेतृत्व गरेका डा. राणा मुलुकमै सेलिब्रेटी मेयरका रूपमा स्थापित रहे । उनी सामान्य मान्छेसंग पनि गजज्बले घुलमिल हुन सक्छन् । सबै जात, धर्म, सम्प्रदायको विकास र जनताको उन्नति प्रगति उनको नारा नै छ ।

उनी भन्छन्, ‘म माननीय र मन्त्री हुन निर्वाचन उठेको होइन असल र शब्य समाज निर्माण गर्न हो ।’ लोकतन्त्रमा सबैको सम्मान, आफ्नो गाउँको भविष्य, जनताको भविष्य र देशको भविष्य निर्धारण गर्न जनताले आफ्नो मन र मत बदल्नु पर्ने बेला आएको उनको भनाइ छ ।

एक भ्रष्ट्राचार विरोधी नेता भएकाले डा. धवलले जहिले पनि राजनीतिक विकृतिको अन्त्य गर्दै जनता सुख शान्तिले बाच्न पाउने वातावरण निर्माण गर्नु आफ्नो दायित्व भएको उनी बताउँछन् । पैसाका बलमा जनमत खरिद गर्न सक्छु भन्ने प्रवृत्तिलाई अन्त्य गरेर आम जनताको स्वाभिमान उचो पार्ने उद्देश्य पनि डा. राणाले सुनाउँछन् ।

नेपालगन्जमा दु्ई पटक मेयर बनेर धवलले आफ्नो कार्यकालमा कामको परीक्षा पास गरिसकेको स्थानीयहरू बताउँछन् । उनीहरूले नेपालगन्जको मुहार फेरिनुमा धवलको ठूलो हात रहेको बताउँदै भन्छन्, ‘उहाँ काम गरेर देखाउने मान्छे हो ।’ अब नेपालगन्जका साथै डुडुवा क्षेत्रको विकास पनि समानरूपमा हुने विश्वास छ ।

होटल व्यवसाय मात्र होइन उनी कृषिमा पनि आवद्ध भएकाले व्यवासायी र कृषकहरूको पीर मर्का आफ्नै पीरमर्का सम्झिने धवलले आफ्नो घोषणापत्रमा मलखादको व्यवस्थापनका लागि उद्योग नै संचालन गरिने बताएका छन् ।

बैंकहरूले चर्को व्याज व्यवसायीहरूलाई लादेका कारण व्यवसायीहरूको आन्दोलनमा स्वयम उनी हाजिर भएका थिए । उनकै पालामा नेपालगन्जका अधिकांश ठाउँहरूमा सडकको कालोपत्र, नाला निर्माण, बसपार्क, वाटरपार्क, रानीतलाउ, कान्ति तालको मुहार फेरेका छन् ।

त्यस्तै फोहोर व्यवस्थापन केन्द्र, नगरपालिकाको भवन निर्माण लगायतका कुरालाई उनले कार्यान्वयन गरेको सबैले झर्लङ देखेको स्थानीयको भनाइ छ । नगरभवनको शुरुवात, महिला कलेजको स्थापना र शुरुवाती, कोभिडको महामारीमा नाकामा होल्डिङ सेन्टर स्थापना, भेरी अस्पतालमा बिरामीलाई खानामा सहुलियत, नगर क्षेत्रका जनताका लागि मात्र नभई देशका जुनसुकै ठाउँका मानिसलाई पनि क्वारेनटाइनमा बस्ने व्यवस्था खानाको व्यवस्थापन चुस्तदुरुस्त त्यसैगरी आइसोलेसन वार्ड स्थापना गरी उपचार सेवा राहत वितरणका साथै अक्सिजनको सुलभ उपलब्ध गराइएको थियो ।

दुई पटकसम्म हटस्पट हुँदा पनि स्थानीयतहको प्रभावकारी भूमिका रहेको स्वयम् स्थानीहरूको मुखबाट सुन्न सकिन्छ । डा. राणासँग दैनिक नेपालगन्जले गरेको कुराकानी आजको अंकमा ।

निर्वाचनका क्रममा घरदैलो सक्नुभयो, के छ जनताको अभिमत ?
सबभन्दा पहिले मैले के पाएँ भने जनता यसपटक सचेत भैसकेका छन् । देश गरिबीमा लट्पटिएको छ । देश कंगाल भैसकेको छ । नेताहरूले भ्रष्टाचारको जालो सिंहदरबारबाट जिल्ला जिल्ला ल्याएको छन्, त्यो जनताले बुझेका छन् । जुन स्लोगन छ, नो नट अगेन भन्ने त्यो बाँके र नेपालगन्ज र क्षेत्र नं. २ मा पनि कायम भैसकेको छ ।

भ्रष्टाचार गर्ने नेताहरूलाई, आफ्नो अकुत सम्पत्ति आर्जन गर्ने नेताहरूलाई अब जनताले माफ गर्ने वाला छैनन् र जनताले अब भोट हाल्ने छैनन् ।
अगाडि जनता लड्न जाँदैन, बाझ्न जाँदैन । भ्रष्टाचार गर्ने नेताहरूकै पार्टी भित्र उसले भोट नपाउने स्थिति मैले पाइरहेको छु । र, जनता सकारात्मक छन् । मैले दुई\दुई पटक जिरो करप्सनमा नेपालगन्ज चलाएँ । तलब, भत्ता समेत नलिएको हुँ कमिसन, घुस त परै जाओस् ।

अहिले पनि मैले वाचा गरेको छु, म सदनमा गएपछि भ्रष्टाचारीहरूको खटिया खडा गर्ने, सबै पार्टीका राम्रा मान्छे जुटाएर भ्रष्टाचारीहरूलाई र भ्रष्टाचारलाई निर्मुल पार्ने, पर्सनली पनि मैले जस्तो नगरपालिकामा हुँदा लिएन, प्रतिनिधिसभाको पैसा पनि म जनतालाई बाँढिदिने भन्ने वाचा पनि मैले गरिसकेको छु ।

जनतामाझ पुग्दा प्राथमिकता के के राख्नुभएको छ ?
मेरो प्राथमिकताको विषय भनेको डुडुवा गाउँपालिका र नेपालगन्जको प्रगति हो । जनतालाई खुशी र समृद्ध बनाउने । हाम्रो देश सम्भावना नै सम्भावना बोकेको देश हो । अत्यन्तै शक्तिशाली र धनी हुनुपर्ने । उत्तरमा चाइना र दक्षिणमा भारत छन् । दुई ठूला आर्थिक शक्तिहरूको बीचमा हाम्रो देश छ ।

हामीले बुद्धि पुर्याएर भ्रष्टाचार रोक्न सक्यौं, अनिकति अनुशासन देशमा कायम गर्न सक्यौ भने पाँच बर्षभित्र देशको कायापलट गर्न सकिन्छ । धेरै बर्षपनि पनि लाग्दो रहेनछ । नेपालगन्ज उपमहानगरपालिका मैले दुई पटक बनाएँ । दुई पटक नै पाँच बर्ष भित्र नेपालगन्जको सुन्दर र विकसित बनायौं । यसरी देश बनाउने मेरो अठोट छ ।

स्रोतको सुनिश्चितता गर्ने, बजेट पार्ने विषय आफ्नो ठाउँमा छ । यो पाँच बर्षको दरमियानमा आफ्नो ठाउँका लागि लागि रह्यो भने कुनै ठूलो कुरा होइन । हामी राप्रपा एउटा मजबुत पार्टी भएर उभिरहेको छ । हाम्रो तालमेल नेकपा एमालेसँग छ । सत्तागठबन्धन असफल भैसकेको छ ।

अब नेकपा एमाले नै सत्तामा पुग्ने करिब करिब निश्चित छ । त्यसलाई सघाउने राप्रपाले पनि निश्चित छ । त्यसैले स्रोत र बजेटिङ्गको समस्या नहोला भन्ने मैले पाएको छु । र, हामी पनि नेकपा एमाले सँग सहकार्य गरेर अगाडि बढ्ने, आफ्नो एजेन्डालाई पनि कायम राखेर राप्रपाले बोकेको एजेन्डा छाड्दैनौं, कमल थापाजीले गर्या जस्तो भुल हामी गर्दैनौं । हामी पनि देश बनाउन तिर लाग्नेछौं ।

किनहोला निर्वाचनका बेला धार्मिक एजेन्डा उठेका छन् ?
उठ्ने भए नि ! राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख एजेण्डा, सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र राजा सहितको प्रजातन्त्र । यो हाम्रो धर्म हो हामी छाड्दैनौं । साथैसाथ देश बनाउने हाम्रो जिम्मेवारी हो ।

हाम्रो एजेन्डा पनि हामी छाड्दैनौं र देशको निर्माण, भ्रष्टाचार रोक्ने काम पनि हामी छाड्दैनौं । यो साथसाथै लाग्नु पर्ने आवश्यकता पनि हो, इच्छा पनि हो ।

तपाई पार्टीको महामन्त्री पनि हो, राप्रपा र एमालेको तालमेलले जिल्लामा कस्तो परिणाम ल्याउँदैछ ?
स्थानीय तहमा पनि हामी मिलेर आठ वटामा सात वटा जित्ने निश्चित नै थियो । त्यो मतको आंकडा थियो । अहिले पनि प्रतिनिधिसभामा हामी एकदमै सफल हुन्छौं ।

करिबकरिब जिल्लाभरी सबै जित्नुपर्ने स्थिति छ ।
एमालेसँगको तालमेलले जित्न सजिलो भएको छ । शक्ति पनि सञ्चय भएको छ । फेरि मेरो नेकपा एमालेसँग पुरानो सम्बन्ध पनि छ । सबै साथीहरू हुन्, मलाई अप्ठ्यारो महसुस भएको छैन ।

पहिले मतदानको पूर्व सन्ध्यामा कतलकी रात भनिन्थ्यो, पैसाको चलखेल हुने कुसंस्कार छ । यसपटक मतदानको समयनै भएको छैन, पैसाको चलखेल भएको ठूलो चर्चा छ !
हो, यसपटक एउटा पार्टी र एउटा व्यक्तिले ठूलो चलखेल गर्न थाल्यो । त्यसमा निर्वाचन आयोगले पनि स्पष्टिकरण मागेको छ । सत्तामा जाने पैसा कमाउने र चुनावमा जनतालाई किन्ने । फेरि सत्तामा जाने जनताको काम नगर्ने, देशको मतलब नगर्ने र पैसाले नै जनतालाई किन्ने यो जालोलाई तोड्नका लागि पनि मेरो उम्मेदवारी हो ।

राज्य नै निरीह भएको जस्तो लाग्छ । देखिरहेका छौं । हाम्रो जिल्लामा निर्वाचन आयोगले नसकेको हो कि, हामीले लेखेर दिएका छौं, जनताले पनि दिएका छन् । ठाडै वडाध्यक्षले चामल बाँड्ने पूर्व मन्त्रीको अगाडि । र, त्यो समातिने, चामल दियो भनेर पर्चा पनि सार्वजनिक हुने । तर, वडाध्यक्षले हैन मैले राहत दिएको हो बाढीको भन्ने । न वडाले किनेको छ, न बजेटिङ छ, कहाँबाट स्रोत ल्याएको हो भन्न सकिंदैन ।

जनताले मिडियामै भनेका छन्, कार्यालयमा बोलाएर भोट हाल्नका लागि चामल दिइएको भनेर । अब निर्वाचन आयोगले के गर्छ हेर्न बाँकी छ । अब निर्वाचन आयोगले नै के गर्ने भन्ने निर्णय गर्छ ।

बाँकेमा यो बेला विकासका खुबै चर्चा भैरहेका छन्, शिलान्यासका चर्चा चले, विकासको जस लिने होड हो कि केही काम भएको पनि छ ?
सबै झुठा कुरा हुन् । भेरी अस्पतालको कुरा, प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा बजेट पास भएको हो । यहाँ शतप्रतिशत बाटो नेपालगन्ज उपमहानगरपालिकाले बनाएको हो । पैसा उपमहानगरपालिकाको होइन । पैसा राज्यको हुन्छ, विश्व बैंकको हुन्छ, एडिबीको हुन्छ । तर, बनाएको उपमहानगरपालिका मार्फत हो, नाला, बाटो हो । हामीले हाइमाष्ट जडान गर्यौं, पूर्व मन्त्रीले केही ठाउँमा थप्नुभयो ।

त्यसबाहेक उहाँको आफ्नै पहलमा केही बनेको मैले थाहा पाएको छैन । तर, शिलान्यास धेरै गर्नुभयो, शिलान्यास पटकपटक गर्नुहुन्छ, धेरै योजना क्यान्सिल हुन्छन् । अहिले पनि धेरै शिलान्यास गर्नुभएको छ, उहाँको मन्त्री पद र माननीय पद फुस्किसकेको छ । त्यो विचारा ढुंगाहरू (शिलालेख) लावारिस हुने बाहेक केही हुनेछैन ।

तपाई दुई जना बीचको अस्वस्थ प्रतिस्पर्धाले नेपालगन्जको विकासमा आघात पारेको हो नि त ?
खोई, नेपालगन्जको यत्रो विकास भयो, उहाँको संलग्नता भएन ।

मैले पटक नगरपालिकामा बोलाएँ, बोलाउन पनि खोजे । सुशिल कोइराला सांसद हुँदा म त्यतिबेला पनि मेयर थिएँ, उहाँलाई पनि बोलाएको थिएँ । कोइराला आउनुहुन्थ्यो, हामी बहस गथ्र्यौ । तर, मन्त्री राईजीलाई मैले दुई चार पटक बोलाए, नआएपछि बोलाउन छाडें ।

विकासको सवालमा सबै एक ठाउँ आउन किन नसकेको होला ?

मैले त बोलाएको हो । नआएपछि, मन नै सानो बनाएपछि मैले के गर्ने ?

उहाँ (तत्कालिन सांसद) ले दिएको बजेटले भेन्टिलेटर ल्याइदिनु भएन भनेर त्यत्रो चर्चा भैरहेको छ त ?
यो सबै झुठको खेती हो । उहाँको बजेट डुडुवा गाउँपालिकाले प्रयोग नगरेपछि जब बजेट फ्रिज हुन एक दिन बाँकी थियो, उहाँले यहाँको लागि बजेट निर्णय गरेर फेसबुकमा हालिदिनु भयो कि मैले बजेट पठाए भनेर ।

म सँग सल्लाह नै गर्नुभएन । एक दिनमा डेढ करोड बजेट खर्च हुन्छ ? बजेट फ्रिज हुन एक दिन बाँकी छ, भेन्टिलेटर किन्न खरिद प्रक्रियाहरूका कारण चार महिनासम्म लाग्न सक्छ । अनि कसरी किन्ने ? मैले पनि त्यसबारे पत्रकार सम्मेलन गरेर कहाँ के भएको हो सबै जानकारी दिएको छु ।

एकातिर कोभिडमा धवलले केही गरेन भनेर आइरहेको छ, अर्कोतिर कुहिएको चामल बाँढ्यो भनेर आरोप लागिरहेको छ त ?
कुहिएको चामल बाटेको होइन । अब सयौं, हजारौं मान्छेलाई राहत दिंदा एक,दुई पोका बिग्रिएको होला । अब त्यसैलाई राजनीतिकरण गरिएको छ ।
कोभिडको दुई वटै लहरमा म यहाँ बसेको थिएँ । मेरै कार्यालयका ११ जना कोभिडका कारण बित्नुभयो । म टसमस भएन । नेपालगन्ज उपमहानगरपालिकामा २५ जना बित्नुभयो ।

म सिलिण्डर बोकेर अस्पताल र नर्सिङ होममा पुग्दैथिएँ । त्यतिबेला माननीय मन्त्रीज्यू कहाँ हुनुहुन्थ्यो ? काठमाडौंमा थिए, की लखनउमा थिए ? म त मरे पनि जनताकै सेवा गर्दै मरुँला भनेर टसमस नभएर कोभिडका बेला पनि जनता सेवा गर्दै कोभिडलाई पार लगाएको हुँ ।

तपाईंपनि सांसद बनेपछि काठमाडौं बस्नुहुन्छ, नेपालगन्ज फर्किनुहुन्न भन्ने आशंका छ नि ?
नेपालगन्जसँग मेरो पुरानो लगाव छ । मेरो घरबारनै यहीँ छ । मेरो काम यहीँ छ । म नेपालगन्ज छाडेर कही जाँदैन ढुक्क हुनुस् । चुनाव जितेपछि सदनमा जानै पर्यो, जनताका लागि योजना ल्याउन मन्त्रालय धाउनै पर्यो, काठमाडौं धाउनै पर्यो । तर, मैले यहाँ र डुडुवामा पनि प्रतिबद्धता गरेको छु जनतासँग चार/छ महिनामा यहाँ आउने जाने गर्नेछु । ढुक्क हुनुस्, मैले नेपालगन्ज छाड्ने हल्ला मच्चाउनेहरूसँग सावधान रहनुपर्छ ।

प्रतिक्रिया

प्रतिक्रिया