तीन दशकदेखि जनताको माझमा छु, माया गर्नुहुन्छ भन्ने विश्वासनै जीतको आधार

बाँके–बर्दियाका जनताको अपार सहभागिता र सहयोगमा खजुरामा क्यान्सर अस्पताल निर्माणको नेतृत्व लिएर सञ्चालननै गरेर सफल बनाउँदासम्म किस्मतकुमार कक्षपतिले जनताको विश्वास आर्जन गर्न सफल भए । २०६५ सालमा खजुरामा धनधान्याचल महायज्ञ लगाइयो जसको उद्देश्य क्यान्सर अस्पताल निर्माण गर्ने थियोे ।

त्यसअघि गुरु दिनदयाल र खजुराका अग्रजहरू लक्ष्मीनारायण मन्दिरमा बसेर यसको संकल्प गरेका थिए जसको नेतृत्वपनि स्थानीयवासी कक्षपतिलेनै गरेका थिए । खजुरामा क्यान्सर अस्पताल सञ्चालनमा आइसक्दानसक्दा जनताले उनलाई २०७४ को स्थानीय निर्वाचन खजुरा गाउँपालिका अध्यक्षकै जिम्मेवारी सुम्पिए । जिम्मेवारीका ५ वर्षमा आफ्नो पहिचान खजुराको समग्र विकासको लागि एउटा नाम किस्मत कुमार कक्षपति हो भन्ने बनाए, अर्काेतिर त्यहीबाट देशकै ठुलो पार्टी, नेकपा एमालेको जिल्ला हाँक्ने कमाण्ड पनि उनैले सम्हाले ।

गाउँपालिकामा ग्रीन सिटीको प्रोजेक्ट खजुरामा भित्र्याउन सफल भएका अध्यक्ष कक्षपति भन्छन्, ‘यो मेरो ठुलो ड्रीम प्रोजेक्ट हो, जुन सफल बनाउन र बिस्तार गर्नपनि थुप्रै काम मैले गर्नुछ ।’ परियोजना उजवेगस्तानको राजधानी तास्केन्टमा तत्कालिन खजुरा गाउँपालिका अध्यक्ष कक्षपतिले युनाइटेड नेशनसंग सम्झौतामा हस्ताक्षर गरेका थिए । लगत्तै विश्वव्यापी कोरोना फैलिंदा प्रोजेक्ट केही प्रभावित भएको थियो । अध्ययन अनुसन्धान हुँदै पाइलट प्रोजेक्ट शुरु भएको छ । जुन पूर्ण रूपमा लागू हुँदा कृषिमा आधारित व्यवस्थित शहरको परिकल्पना हुनेछ ।

कृषिमा दीगोपन बलियो आयार्जनको माध्यम पनि हो जुन कुराको लागि खजुराका किसान चीन पुगेर त्यहाँको प्रविधि हेरेका छन् भने नमूना तालिम पशुपालन र प्याज, टमाटर खेतीको लागि तालिम दिएर लागू गरेको छ खजुरा पालिकाले ।
अहिले उनै कक्षपति एमालेबाट बाँके क्षेत्र नं. ३ प्रतिनिधि सभा उम्मेदवार हुन । चुनावी मैदानमा रहेका कक्षपति भन्छन्, ‘यो ग्रीन सिटीको प्रोजेक्ट खजुरा, जानकी, बैजनाथ हुँदै जिल्लाभर लागू गर्ने चाहना छ ।’ सहकर्मी भन्छन्, उनी जुन काममा लाग्छन् त्यो सफल बनाएर छोड्छ्न ।

खजुरा गाउँपालिकामा हुँदा ग्रीन सिटी, प्रदेश विश्वविद्यालय, १५ वेडको अस्पताल, शीत भण्डार, औद्योगिक ग्रामलगायतको ठूला आयोजना भित्र्याउन उनको स्वाभाविक भूमिका छ । घरबारविहीनलाई घर बनाएर हस्तान्तरण, शिक्षामा ३१ बुंदे प्रतिबद्धतासहित सुधार, सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र, कृषियन्त्र वितरण, खेलकुदमा मिनीरंगशाला, खेलकुद ग्रामको स्तरोन्नति, हरेक वर्ष रनिङ शिल्ड प्रतियोगिता,शैक्षिक महोत्सव, मूख्य सडक कालोपत्रे, गाउँपालिकाको प्रशासनिक भवन निर्माण शुरु, १५ वर्षे योजना निर्माण, सभाहल निर्माण ३ हजार महिलालाई सहकारीमा आवद्ध, सिलाइ कटाईमार्फत ४० महिलालाई नियमित रोजगारी, युवाका लागि स्वरोजगार कार्यक्रम र ८० जना युवाहरूलाई ४० हजार टोकन मनि हस्तान्तरण सीपमूलक तालिम लगायतका धेरै कुरा छोटो अवधिमा गर्नु उनको खुबी हो ।

बृहत खजुरा सम्मेलनमार्फत खजुराको खाका कोर्नु, पूर्ण खोप घोषणा, साक्षर घोषणा र वालविवाह मुक्त खजुरा पनि उनकै कार्यकालमा सफल भयो । खरो स्वभाव भएका कक्षपति भन्छन्, ‘काम गर्नकै लागि आफ्नो उम्मेदवारी हो जनताको शीर कहिले निहुरिन दिन्न ।’

आफ्नो कार्यकालामा सबै कार्मचारीसंग समान व्यवहार राख्नुले पनि उनको व्यवहार प्रष्ट हुन्छ । नेकपा एमाले बाँकेका अध्यक्ष समेत रहेका कक्षपतिले विकासका एजेन्डामा राजनीतिभन्दा माथि उठेर साझा एजेन्डाको रूपमा काम गर्नु पर्ने सान्दर्भिक भनाइ राख्दै आएका छन् ।

जनतामाझ जाँदा उत्साहित रहेको बताउँदै कक्षपतिले मंसिर ४ मा जनमतबाट अनुमोदन हुनेमा विश्वस्त रहेकोे बताउँछन् । सोमवार बिहान खजुराको पेडारीमा प्रदेशसभा सदस्य रत्न खत्रीसहित घरदैलो गरिरहेका कक्षपतिसँग दैनिक नेपालगन्जका लागि गरिएको कुराकानी आजको अंकमा

घरदैलोमैं हुनुहुन्छ कस्तो छ जनताको प्रतिक्रिया ?
घरदैलो गर्दा जनताहरू एकदमै उत्साहित हुनुहुन्छ । जनताबाट हामीले अत्यन्त स्नेह, माया पाएका छौं । किनभने यो मुलुकमा नेकपा एमालेको विकल्प छैन । गठबन्धनबाट मुलुक चल्दैन भन्ने कुरा बाँके क्षेत्र नं. ३ का जनताले बुझिसकेका छन् ।

तपाईको क्षेत्रमा जनताका प्राथमिकता के पाउनु भएको छ ?
क्षेत्र नं. ३ को प्राथमिकता भएको यसलाई समृद्ध बनाउने हो । ३ नं. क्षेत्र समृद्ध बनाउनका लागि यहाँको पूर्वाधार, स्वास्थ्य, शिक्षा, रोजगारी, सामाजिक कामहरू नै चासोका विषय हुन् ।


खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका र नेपालगन्जको दुई वटा वडा परसपुर र जयसपुरलाई समृद्ध बनाउने खाकाका साथ हामी अगाडि बढेका छौं ।

त्यसका लागि ३२ बुंदे प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेका छौं । आम मतदाता माझ ३२ बुंदे प्रतिबद्धता बाहेक पनि विभिन्न सामाजिक काम, स्थानीय स्तरमा नगरी नहुने खालका कामहरू पनि लिपिबद्ध गरिरहेका छौं । जनता कहाँ पुग्दै जाँदा उनीहरूको इच्छा, आकांक्षा र आवश्यकता थाहा हुन्छ । त्यसलाई पनि सम्बोधन गर्ने हिसाबले हामी निर्वाचित भएपछि गर्ने योजनाबद्ध विकासका योजना बनाइनेछ ।

यसअघि पनि तपाईकै पार्टीको क्षेत्र नं. ३ मा के गर्नुभयो र अब के गर्छु भनेर जानु भएको छ ?
जस्तै म आफैपनि हिजो खजुरा गाउँपालिकाको अध्यक्ष हुँदा खजुरा समृद्धिको खाका हामीले कोरिसकेका छौं । हामीले गौरवका योजनाहरू तय गरेर काम अगाडि बढेका छन् । त्यस्तै, बैजनाथ गाउँपालिका र जानकी गाउँपालिकामा हाम्रो नेतृत्व हुँदा गरेका काम र अगाडि बढाएका योजनाहरू लिएर जनतामाझ पुगेका छौंं । जस्तै एउटा मात्र उदाहरण दिने हो भने बैजनाथ नौबस्ताको जुन औद्योगिक क्षेत्र हो, त्यहाँको सुकुम्बासीको बसोबास व्यवस्थित गरेर औद्योगिक क्षेत्र सुरुवात गर्छौ । मानसरोबर लुम्बिनी प्रदेशको गौरवको योजना हो । त्यसलाई पाँच बर्षे कार्यकालमा पुरा गर्छौं ।


खजुरामा मेरै नेतृत्वमा सम्पन्न सुशिल कोइराला प्रखर क्यान्सर अस्पताललाई पाँच बर्ष भित्रमा देशकै नमूना अस्पताल बनाउने भन्ने कुरालाई हामीले घोषणापत्रमा पनि सार्वजनिक गरेका छौं ।


खजुराले मेरो कार्यकालमा सुरु गरेका गौरवका योजना पूरा गर्ने मेरो प्रतिबद्धता छ । जस्तो औद्योगिक ग्राम जुन ३२ करोडको लागतमा बन्दैछ, खेलकुद ग्राम जुन ५७ करोडको लागतमा बन्दैछ, लुम्बिनी प्रदेशको गौरवको योजना लुम्बिनी प्रादेशिक विश्वविद्यालय जसलाई पाँच बर्ष भित्रमा नेपालकै उत्कृष्ट विश्वविद्यालयका रूपमा कार्यान्वयनमा ल्याउने भन्ने कुरा हामीले समावेश गरेका छौं ।


नेपालगन्जदेखि गुलरियासम्मको फोरलेनको बाटो पाँच बर्ष भित्र पूर्ण रूपमा सक्नेछौं । त्यसका लागि टेण्डर भैसकेको छ । घोषणा पत्रमा पनि हामीले यसलाई समावेश गरेका छौं । जानकीले रिंगरोडको अवधारणा सुरु गरेको छ, त्यसलाई पनि व्यवस्थापन गर्ने र सम्पन्न गर्ने कुरा हामीले प्रतिबद्धतामा राखेका छौं ।


त्यस्तै, गरेर युवाहरूलाई क्षेत्र नं. ३ मै स्वरोजगारको व्यवस्थापन गर्न निमित्त कृषिलाई आधुनिकिकरण, व्यवसायिकरण गरेर, जु्न ग्रीनसिटीको प्रोजेक्ट खजुरामा लागु गरिसकेका छौं, त्यसलाई बैजनाथ गाउँपालिका र जानकी गाउँपालिकामा पनि लागु गराएर यहाँका कम्तीमा १ हजार बढी युवालाई कृषिमा आधारित रोजगारको व्यवस्थापन गरेर विदेश पलायन हुन रोक्ने मुख्य योजना बनाएका छौं ।

ग्रीन सिटी प्रोजेक्ट के हो ? फोरलेन सडक पनि किन ढिलो भयो ?
फोर लेन सडक म गाउँपालिका अध्यक्ष हुँदा त्यहाँको बजेटबाट बनाउन सम्भव थिएन । त्यसैले केन्द्रबाट नै त्यसको बजेट विनियोजन गर्न पहल गरेको थियो ।

निर्माण ढिलाई हुँदा पटकपटक सम्बन्धित निकायमा पनि छिटो सक्न अनुरोध गरेको थिएँ । केन्द्रीय सरकारबाट टेण्डर भएकाले यसलाई छिटो सक्न सम्बन्धित निर्माण व्यवसायी, प्रमुख जिल्ला अधिकारी र सडक डिभिजन प्रमुख सहित राखेर पटकपटक छलफल गरेका छौं । मंसिर ४ गते म निर्वाचित भएर गएँ भने कम्तिमा पनि ६ महिना भित्र यो सडकलाई पूरा गर्ने वाचा गर्छु ।


देशभरका ७ सय ५३ स्थानीय तहमध्ये खजुरा गाउँपालिका पहिलो पालिका हो, जसले अन्तर्राष्ट्रिय क्षेत्र यूनाइटेड साउथ साउथ कोपरेशनसँग आफैले सम्झौता गरेको छ । सम्झौताका लागि आफै युजेबिस्तान पुगेको थिए । त्यसको पाइलट प्रोटेक्टका लागि म सहित विज्ञको टिम चिनको सहर पुग्यौं । एक हप्ता बसेर मोडालिटी अध्ययन गर्यौं ।

चीनको बेइजिङमा मार्च १५ मा मिटिङ्ग थियो, तर कोरोनाका कारण भिसा रोकिंदा जान सकिएको छैन । कोरोना नभएको भए यो प्रोजेक्ट धेरै अगाडि बढिसक्थ्यो ।

ग्रीन सिटीले खजुरालाई के फाइदा हुन्छ ?
यो कृषिमा आधारित व्यवस्थित सहरको परिकल्पना हो । फष्ट फेजमा हामीले कृषिलाई फोकस गरेका छौं । यसमा कृषिको आधुनिकीकरण, व्यवसायिकरण, सिंचाई, मल, बिउका कुरा पर्दछन् ।

यो करिब ६ अर्बको प्रोजेक्ट हो, विभिन्न दातृ निकाय यसमा जोडिएका छन् । एक लाख डलर अहिले पनि विनियोजित भैसकेको छ । चीन जानका लागि बजेट आएको छ तर भिसाका समस्या भने छ ।

प्रोजेक्टका चिफसँग अहिले पनि म सम्पर्कमा छु । यो प्रोजेक्ट खजुरामा सुरु भैसकेपछि जानकी र बैजनाथ गाउँपालिकामा पनि सुरु गर्नका निमित्त सम्बन्धित निकायमा प्रस्ताव पेश गरिसकेको छु ।

भोटको गणितमा बलियो सत्ता गठबन्धनसँग कसरी लड््दै हुनुहुन्छ ?
म २ सय ४० वटा टोलका साथीहरूसँग भेटघाट गरिसकेको छु । म २७ बर्षदेखि निरन्तर यहाँको जनताको कुनै न कुनै रूपमा सेवा गरिरहेको छु ।

चाहे त्यो क्यान्सर अस्पताल बनाउने सवाल होस्, चाहे विश्वविद्यालय बनाउने सवाल होस्, चाहे ज्ञानोदयलाई नमूना विद्यालय बनाउने सवाल होस् वा अन्य विकास निर्माण होस् वा सामाजिक कार्य म सधंै जनता माझ छु । हरेक पक्षमा निरन्तर जोडिएर काम गरेको मान्छे हुँ ।


जनताले खजुरा गाउँपालिकाको अध्यक्ष बनाएर पाँच बर्ष परीक्षण गरिसकेको मान्छे हुँ । तसर्थ यो मानेमा म विश्वस्त छु, कि क्षेत्र नं. ३ का जनताले मलाई माया गर्नुहुन्छ, किनकी म २७ बर्षदेखि उहाँसँगै छु । मलाई निर्वाचित गरेर जनताको सेवा गर्ने अवसर दिनुहुन्छ भन्नेमा म विश्वस्त छु ।


नेपाली काँग्रेस र गठबन्धनका साथीहरूले पनि मलाई माया गर्नुहुन्छ भन्ने विश्वास छ । किनभने म सबैलाई मिलाएर विकासका लागि अगाडि बढ्नुपर्छ भन्ने विश्वास राख्ने व्यक्ति हुँ । हेर्नुस्, सबैको साथ र सहयोग पाएर नेतृत्व गरेको खजुरा अस्पताल अहिले कहाँ पुगेको छ, अब पनि जनताले मलाई नेतृत्व दिनुहुनेछ ।


सत्तागठबन्धनले मलाई फरक पार्दैन । मेरो गठबन्धन जनतासँग छ । सबै पार्टीमा आस्था राख्नेहरूको म यही ठाउँमा २७ बर्ष सेवा गरेको मान्छे भएकाले विश्वास जितेको छु । उहाँहरूको साथ पाउनेछु । बाँके क्षेत्र नं. ३ का जनताले सत्ता गठबन्धन के हो बुझिसक्नु भएको छ । राठौरजी काँग्रेसको सह–महामन्त्री हुनुहुन्छ ।

जनताले विश्लेषण गर्ने अवस्था छ । बर्दियाबाट अहिले भर्खरै आउनु भएका उम्मेदवारको तुलनामा म सँग तुलना गर्दा म प्रति न्याय गर्नुहुनेछ, मलाई मत दिएर विजयी गराउनुहुनेछ ।

अन्त्यमा, केही ?
म नेकपा एमाले बाँकेको जिल्ला अध्यक्ष पनि हुँ । मैले तीन वटै निर्वाचन क्षेत्रको अवस्था अध्ययन गरेको छु । बाँके क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार सुर्य ढकाल राम्रो पोजिसनमा पाएको छु ।

त्यहाँ जनताहरूले एमाले र राप्रपाको तालमेललाई विश्वास गर्नुभएको छ । त्यहाँ दुर्गा चौधरी र नरेन्द्र पौडेल प्रदेशसभा तर्फ उम्मेदवार हुनुहुन्छ ।
बाँके क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार राप्रपाका डा. धवल समशेर राणा हुनुहुन्छ, उहाँको पक्षमा पनि जनताले विश्वास देखाएको पाएको छु । एमालेबाट त्यहाँ प्रदेशसभा सदस्यका उम्मेदवार निरक गुरुङ्ग र विजय बहादुर यादव पनि संयुक्त निर्वाचन प्रचारका क्रममा हुनुहुन्छ, उहाँहरू पुराना नेता हुनुहुन्छ, जनताले उहाँहरूसँग आफ्ना कुरा राख्नु भएको छ, जनताले विश्वास गर्नुभएको छ ।


बाँके क्षेत्र नं. ३ मा म आफै प्रतिनिधिसभा सदस्य उम्मेदवार छु, प्रदेशमा रत्न खत्री र भीम ओली हुनुहुन्छ । यस क्षेत्रमा जनतामाझ सधै भिजेका नेता हुनुहुन्छ । बाँकेमा हामी ढुक्क हुने अवस्था छ ।

जनताले हामीप्रति देखाएको विश्वासको सकारात्मक परिणाम हामीले मंसिर ४ गते पाउनेमा ढुक्क छौं ।

प्रतिक्रिया

प्रतिक्रिया