‘मतदाता प्रभावित पार्न राईले लिए झुटको सहारा’

झुटको जगमा चुनिएका जनप्रतिनिधिले कस्तो काम गर्लान् ?

बाँकेको डुडुवालाई बन्धक बनाएर विकासको गतिरोध सिर्जना गरेको आरोप लगाउँदै गाउँपालिका अध्यक्षले जसपा नेता इस्तियाक राईविरुद्ध पत्रकार गुहारेको भोलिपल्ट नेपालगन्जका एक जनप्रतिनिधिले गम्भीर आरोप लगाएका छन् ।


क्षेत्र नम्बर–२ प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पूर्वमन्त्री राईले मतदातालाई दिगभ्रमित पार्न झुटको प्रचार गरेको पुष्टिसहितका प्रमाण लिएर बुधवार नेपालगन्ज– १८ का वडाध्यक्ष दीपककुमार बर्माले ‘जनतालाई सुसूचित गर्न’ पत्रकारसँग भेटघाट गरेका हुन् ।


विकासको नाममा जनताको भोट प्रभावित पार्न राईले सार्वजनिक गरेको चुनावी प्रचारपत्र र भाषणमा आफूले गर्दै नगरेको र बन्दै नबनेको सडक तथा योजना समेत आफूले बनाएको भन्दै झुटो प्रचार गरेको पाइएपछि वडाध्यक्ष बर्माले पत्रकार भेटघाट गरे ।


नेकपा एमाले बाँकेका उपसचिव समेत रहेका बर्माले राईले आफुले गरेका र गर्न लागेको भनि प्रचारवाजी गरिएका अधिकांश सडक तथा विकास योजनामा उनको कुनै भूमिकानै नभएको प्रष्ट पार्दै भने, ‘झुटको पुलिन्दामा जनतालाई छरिएको भ्रम बेलैमा चिर्न सकिएन भने अनर्थ हुन्छ ।’ उनले झुटको जगमा चुनिएका जनप्रतिनिधिले कस्तो काम गर्लान् ? प्रतिप्रश्न गर्दै भने, ‘सम्मानित मिडियाले यसखालका भ्रम चिरेर सत्यतथ्य जनतामाझ पस्किदिनुप¥यो ।’


दोस्रो पटक नेपालगन्ज –१८ को वडाध्यक्ष निर्वाचित बर्माले आफ्नो वडाप्रति राई मन्त्री हुँदा गरेको विभेद स्मरण गर्दै ‘गरिबका लागि आएको बजेटसमेत रोकेर अन्याय गरेको’ टिप्पणी गरे ।

कारकाँदोमा वडा कार्यालयको बजेटबाट लगाइएका हाइमास्ट र सडकलाई समेत पूर्व मन्त्री राईले चुनावी प्रचारपत्र र भाषणमा आफूले गरेको भनाइप्रति वडाध्यक्ष बर्माले आक्रोश व्यक्त गर्दै दैनिक नेपालगन्जसँग भने, ‘बरु गरिबका लागि सरकारले दिएको ५० घरआवास अहिलेसम्म रोकेर बहादुरी देखाउनु भएको छ ।’

मन्त्री राईले प्रचार सामाग्रीमा आफूले गरेको भनेर उल्लेख गरेका योजना झुटा सावित गर्ने उपमहानगरपालिकाको बैठक तथा निर्णयको प्रमाण समेत वडाध्यक्ष बर्माले पत्रकार सम्मेलनमा सार्वजनिक गरे ।


बडाध्यक्ष बर्माका अनुसार, प्रतिनिधिसभा उम्मेदवार रहेका राईले हुँदै नभएका, गर्दै नगरेका कामहरु गरेको, सम्पन्न भएको र केही निर्माणाधिन रहेको भन्दै आफ्नो घोषणा पत्रमा समेत ती योजना र कामहरु राखेका छन् ।


मतदाता प्रभावित पार्न विभिन्न हतकण्डा अपनाइरहेका राईले आफ्नो निर्वाचन क्षेत्रको नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा सम्पन्न र चालु अवस्थामा रहेका योजनाहरुको सम्पूर्ण जस आफ्नो भएको झुठो दावी गरिरहेको स्थानीय जनप्रतिनिधिले सार्वजनिक गरिरहेका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया