मेरो प्रमुख एजेण्डा यस क्षेत्रलाई शैक्षिक हब बनाउने

मंसिर ४ गते हुन लागेको निर्वाचन जति नजिकिंदैछ, बाँकेको क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका उम्मेदवार सुदिप नरसिंह राणा मैदानमा छन् । पछिल्लो समयमा तात्तेका काँग्रेसी नेता, कार्यकर्तासहित मैदानमा आएका राणा आफ्नो पक्षमा परिणाम ल्याउने दाउमा छन् । दैनिक रुपमा भेटघाट, छलफललाई निरन्तरता दिइरहेका उनीसँगका संवाद सार ः

चुनावी प्रचार–प्रसार कस्तो भईरहेको छ ?
निर्वाचनमा सबै उम्मेदवारको चुनावी प्रचार–प्रसार राम्रै हुन्छ । सबैले आफूले सक्ने प्रचार गरिरहनु भएको छ । मेरो पनि राम्रौ भईरहेको छ । चुनावी प्रचारका क्रममा क्षेत्र नम्बर २ मा रहेको नेपालगन्ज र डुडुवामा सबैको घरदैलोमा म पुग्ने प्रयास गरेको छु । चुनावी माहोल पनि राम्रै पाएको छु । सबैले साथ सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ । यताकदा छोडेर प्रत्येक मतदाताको घरदैलोमा पुगेको जस्तो लाग्छ । नेपाली कांगे्रसका नेता, कार्यकर्ता सबैले साथ, सहयोग गरिहुन भएको छ । यसले गर्दा मलाई धेरै खुसी लागेको छ । विशेषगरी डुडुवावासीले मलाई साथ दिएका छन् । मेरो माहोल राम्रो भएको छ र चुनावमा पनि राम्रै परिणाम आउँछ भन्ने आशा व्यक्त गर्न चाहन्छु ।

मतदातामाझ पुग्दा केही फरक अनुभुती भयो ?
यसमा चाही मलाई के अचम्म लागेको छ भने क्षेत्र नम्बर २ मा, म कसैको नाम लिन चाहान्न । यसको जित निश्चित छ, यसले जित्छ भन्ने कुरा सुनिरहेको छु । तर घरदैलो गर्ने क्रममा नेपालगन्ज बजारमा पनि धेरै मतदाताले अहिलेसम्म कोही पनि भोट माग्न नआएको बताउनु हुन्छ । तपाई कहाँ कोही मत माग्नु आउनु भएको छ ? भनेर मैले धेरैलाई सोधेको पनि छु । तर धेरैले तपाई नै पहिलो उम्मेदवार भन्नु हुन्छ ।

चुनावी मैदानमा उत्रिरहँदा कतिले तपाईलाई नयाँ अनुहार भनेका पनि छन्, यसमा के भन्नु हुन्छ ?
यसका के छ भने, म चुनावका लागि नयाँ अनुहार हुँला । तर, यस क्षेत्रको लागि सायद म जतिको पुरानो अनुहार अरु उम्मेदवार हुनुहुन्न । किनकी म कहि बाहिरबाट आएको व्यक्ति हैन, न त राजनीतिमा म नयाँ हो । २०४२ सालबाट मेरो राजनीतिक यात्रा सुरु भएको हो । सुरुमा नेपाल बिद्यार्थी संघ हुँदै नेपाल तरुण दल र नेपाली कांग्रेसमा ३८ वर्षदेखी मेरो निरन्तर सहभागिता रहेको छ । मेरो बुबाहरु ६० वर्षदेखि नेपाली कांग्रेसमा आवद्ध हुनुहुन्छ । म कहिले पनि पदको लागि लोभ नगर्ने व्यक्ती भएकाले प्रतिनिधी सभाको निर्वाचन मेरो लागि नयाँ मात्र हो । त्यसकारण मलाई नयाँ ब्यक्ति भन्नुमा कुनै सत्यता छैन ।

क्षेत्र नम्बर २ का मतदाताले तपाईलाई विजयी गराउनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
विश्वास, अविश्वासको कुरा भन्दापनि कुनै उम्मेदवारले १ भोट पाउँछ भने पनि त्यहाँ एक जनाको विश्वासको कुरा हुन्छ । हार जित स्वभाविक हो । सबैलाई केही न केही संख्याका मतदाताले विश्वास गर्ने हो । जसलाई धेरै मतदाताले विश्वास गरे, उसले जित्ने कुरा मात्र हो । तर हाम्रोमा के चलन छ, भने हार्ने व्यक्तिलाई जति मतदातले विश्वास गरेर मत दिन्छन्, त्यसको सदुपयोग हुँदैन । कमसेकम निर्वाचन पछि पनि त उम्मेदवारले बाहिर बसेर काम गर्नुपर्छ । उसलाई विश्वास गरेका मतदाताका लागि भने पनि लड्नुपर्ने हुन्छ । त्यसो भएको म देख्दिन । त्यसैले मेरो जित वा हार मंसिर ४ गतेपछि आउने कुरा हो । यो क्षेत्रमा नेपाली काँग्रेसको संगठन बलियो छ । स्वर्गिय सुशिल कोइरालाको योगदान यहाँ धेरै छ । स्थानीय तहको निर्वाचनमा आएको परिणाम अनुसार हाम्रो पार्टी क्षेत्र नम्बर २ मा सबैभन्दा ठुलो पार्टी भएको कुरा पुष्टी भइसकेको छ । हामी भन्दा पछाडी रहेको एमालेले १५ हजार मत प्राप्त गरेको थियो । त्यस भन्दा पछाडी रहेका पार्टीका साथीहरु मेरा प्रतिस्पर्धी हुनुहुन्छ ।

तपाईले निर्वाचन जित्ने आधार के हो ?
निर्वाचन जित्नेमा म पूर्ण रुपले विश्वस्त छु । यसमा जनताको विश्वासको कुरा हुन्छ र मलाई जनताले विश्वास गरेर अत्याधिक मतले जिताउनु हुन्छ भन्नेमा म विश्वस्त छु । यसमा धेरै आधारहरु छन् । पहिलो कुरा, मैले अघि पनि भनेको छु, क्षेत्र नम्बर २ मा भोटको संख्या हेर्ने हो भने नेपाली कांग्रेसको संख्या धेरै छ । नेपाली कांग्रेसका क्रियाशिल सदस्यको संख्या पनि धेरै हो । सबै क्रियाशिल सदस्यहरुले इमान्दारी गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु । अर्को कुरा देशका हरेक निर्णायक परिवर्तनका लागि नेपाली कांग्रेसले प्रमुख भूमिका निभाएको छ, जसमा नेपालगन्ज पनि पर्छ । जसको नेतृत्वका लागि मेरो उम्मेदवारी हो । अर्को कुरा मैदानमा आउनु भएका साथीहरुको काम यहाँका जनताले देखिसक्नु भएको छ । अब उहाँहरु नयाँ अनुहारलाई देख्न चाहनुहुन्छ । प्रचार प्रसारको काम पनि नेपाली कांग्रेसले एकजुट भएर गरिहेको छ । यस्ता धेरै आधारहरु हेर्दा म निर्वाचित हुनेमा विश्वस्त छु ।

अब अन्त्यमा, तपाईले कस्ता एजेण्डालार्ई प्राथमिकता दिनु भएको छ ?
मेरो प्रमुख एजेण्डा भनेको यस क्षेत्रलाई शैक्षिक हब बनाउने हो । हरेक बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउने हो । अर्को कुरा नेपालगन्ज सहरलाई सौन्दर्यकरण गर्ने, यहाँको पूर्वाधार विकासलाई जोड दिने मेरो एजेण्डा छ । यस क्षेत्रमा खाली रहेका सरकारी भवनलाई प्रयोगमा ल्याउने, हरेक नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्याउने, पर्यटन प्रवद्र्धनका लागि ठोस योजना बनाएर अघि बढ्ने जस्ता विषयलाई मैले प्राथमिकतामा राखेको छु ।

प्रतिक्रिया

प्रतिक्रिया