‘काँग्रेसले गरेको काम मन्त्रीका नाममा भजाइयो’

आगामी मंसिर ४ गतेको निर्वाचन पश्चात बन्ने संघ र प्रदेश सरकारका साना दलको प्रतिनिधित्व हुन नसक्ने भन्दै मतदान गर्दा गम्भीर भएर सोच्न नेपाली काँग्रेसका अगुवा नेताहरुले मतदातालाई आग्रह गरेका छन् ।

मन्त्रीका हैसियतले रिबन काटेकै भरमा मैले गरेको भन्दै भ्रम छरिरहेको व्यक्तिलाई पर्दाफास गरिदिन तत्कालिन संविधानसभा सदस्य बाल्मिकीले पत्रकारसँग आग्रह गरे ।

सोमवार आयोजित एउटा कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् तत्कालिन संविधान सभा सदस्य मैकुलाल बाल्मिकीले अस्तित्वमा नरहेका साना दलका उम्मेदवारलाई जिताएर भविष्यमा पछुताउनु बाहेक अरु केही नहुने बताए ।

नेपाली काँग्रेसका नेता अजितकुमार शर्माले बाँकेको क्षेत्र नम्बर २ मा नेपाली काँग्रेससहित पाँच दलीय गठबन्धन जुन पार्टीसँग चुनाव लडिरहेको छ, दुबै पार्टीको राष्ट्रिय स्तरमा हैसियत नै नभएको बताए । ‘राप्रपा देशभर जम्मा तीन वटा सिटमा चुनाव लडिरहेको छ, जनता समाजवादी पार्टी (जसपा) देशभर १७ सिटमा मात्रै चुनाव लडेको छ,’ उनले भने ‘यी सिटमा पनि जित्ने ग्यारेन्टी छैन, यदी जितिहाले भनेपनि भोली यिनीहरु कसरी मन्त्री बन्लान् र बाँके क्षेत्र नम्बर २ को विकास होला ? बरु नेकपा एमालेले भन्न सुनाउँछ ।’ राप्रपा र जसपाले केही सिट जितेपनि सरकारमा सहभागी हुनका लागि काँग्रेसको खुट्टा समात्नुपर्ने नेता शर्माको विश्लेषण छ ।

पत्रकारहरुसँग नेता बाल्मिकीले काँग्रेसले गरेको कामलाई ‘मन्त्री’ले भजाइरहेकोमा आपत्ति जनाए । स्वर्गीय सुशील कोइरालाको पालामा स्वीकृत भएको विकासको अनुभूति बाँकेबासीले अहिले गरिरहेको बताउँदै नेता बाल्मिकीले भने, ‘सुशीलदाईकै पालामा नेपालगन्जमा परिर्वतन आएको हो, तर एउटाले विकास ल्याउँछ, अर्कोले रिवन काट्छ ।’ मन्त्रीका हैसियतले रिबन काटेकै भरमा मैले गरेको भन्दै भ्रम छरिरहेको व्यक्तिलाई पर्दाफास गरिदिन तत्कालिन संविधानसभा सदस्य बाल्मिकीले पत्रकारसँग आग्रह गरे ।

क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ताले स्वर्गीय सुशिल कोइरालाले यस क्षेत्रका जनताका लागि धेरै काम गरेको बताए । ‘एडिबी, सिक्टा सिँचाई, भेरी प्राविधिक शिक्षालय स्थापना लगायत थुप्रै काम सुशील दाईले गर्नु भएको हो,’ उनले भने ‘नेपाली काँग्रेसका कामलाई अरुले भजाइरहेका छन्, पत्रकार साथीहरुलाई मेरो अनुरोध छ, अरु पार्टीका उम्मेदवारका झुट्टा कुरालाई सडकमा ल्याईदिनुपर्यो ।’

प्रतिक्रिया

प्रतिक्रिया