म्याराथनमा प्याब्सनको पनि साथ

बाँके जिल्लामा सञ्चालित नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन(प्याब्सन)सँग आवद्ध विद्यालयहरुले आठौं धारा नेपालगन्ज म्याराथनलाई भव्य बनाउन सबैले सहयोग गर्ने बताएका छन् ।


शिक्षा विकास तथा समन्वय इकाई (बाँके)का प्रमुख भगवान पौडेलको स्वागत तथा परिचयात्मक कार्यक्रममा प्याब्सनको नेतृत्व पंक्तिले प्रतिबद्धता जनाएको हो ।


प्याब्सन बाँकेका अध्यक्ष यम रावतले बाँकेका तीनवटै निर्वाचन क्षेत्रलाई जोड्ने कार्य गरेको हुँदा नेपालगन्ज म्याराथन सिंगो बाँके जिल्लाकै सम्पत्ति रहेको बताए । ‘शिक्षा र खेलकुद एकआपसमा घनिष्ठ सम्बन्ध रहेको विधा हो ।’ अध्यक्ष रावतले भने–‘तसर्थ जिल्लामा हुने ठुला खेल इभेन्टमा आफ्ना बालबालिकालाई सक्रिय सहभागी गराउनु हामी सबैको कर्तव्य हो । तसर्थ नेपालगन्ज म्याराथनमा धेरै भन्दा धेरै बालबालिकालाई भाग लिने वातावरण बनाउन सबै विद्यालयलाई आग्रह गर्दछु ।’

कार्यक्रममा प्याब्सन नेपालगन्ज उपमहागरपालिका समितिका अध्यक्ष विकास बज्राचार्यले नेपालगन्ज म्याराथन सबैको गौरवको बिषय भएको बताउँदै यसलाई सफल पार्न पालिका अन्तर्गतका विद्यालयले कुनै कसर बाँकी नराख्ने बताए । ‘आयोजकले भन्नुहोला, हामी हरेक पक्षमा सघाउन तयार छौं ।’ अध्यक्ष बज्राचार्यले भने–‘सबै मिलेर नै सफल पारौं ।’
प्याब्सनका सल्लाहकार डा. राजेशकेशर खनालले निकै दुख गरेर हुर्काएको नेपालगन्ज म्याराथनलाई थप उचाइमा पुराउन सम्पुर्णको जिम्मेवारी भइसकेको चर्चा गरे ।


प्याब्सन बाँकेका अर्का सल्लाहकार केसरबहादुर आलेले नेपालगन्ज म्याराथन अन्तर्राष्ट्रिय मञ्चमा पुगिसकेको अवस्थामा अब सबैले जिम्मेवारीबोध गर्नुपर्ने बताए । ‘संसारमा म्याराथन ठाउँको परिचयका रुपमा स्थापित हुन्छ ।’ आलेले भने–‘नेपालगन्ज म्याराथन हामी सबैको परिचयसँग जोडिइसकेको छ ।’


कार्यक्रममा इकाई प्रमुख पौडेल, प्याब्सनका केन्द्रिय सदस्य सुनिल गुप्ता, लुम्बिनी प्रदेशका उपाध्यक्ष ऋषिकेश जिसी, उपाध्यक्ष शरद रावलले विद्यार्थीहरुको सर्वागीण विकासका लागि अतिरिक्त क्रियाकलापहरुमा उत्तिकै जोड दिनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया