खनाल भन्छन्, ‘भ्रष्टाचार रोकौ, भ्रष्टचारी फेकौं’

हिन्दुवादी नेताका रुपमा चुनावी मैदानमा उत्रिएका दिवाकर खनालले राज्यकोष दोहन गरेर जनतालाई भ्रममा पार्ने भ्रष्टहरुलाई चुनावी मैदानबाट फेक्नुपर्ने बताएका छन् ।

‘सरकारले प्रदान गर्ने तलब, भत्ता, सेवा सुविधाबाट यत्रो ठुलो लगानी पक्कै हुन सक्दैन ! मलाई त देशको धेरै चिन्ता लागेको छ कतै फेरि पनि जनता भुक्किने त होइनन् ?’

बाँकेको क्षेत्र नं. २ संघीय सांसदका स्वतन्त्र उम्मेदवार खनालले पटक पटक विश्वास गरेर पुरानै अनुहारलाई आफ्ना मतदान गरेर सरकार बनाए पनि राज्यबाट आर्थिक संकट बाहेक वास्तविक बिकासको अनुभुति गर्न नपाएको भन्दै नयाँ अनुहार ल्याउन आग्रह गरे ।


चुनावी अभियानलाई तिब्रता दिएका खनालले विहीवार आयोजित चुनावी सभामा भने, ‘बिकासको सपना देखाएर जनतालाई झुक्याएर पटक पटक जितेर सरकारमा गएका नेताहरु देशको कोष लुट्ने बाहेक कुनै सफलता हासिल गर्न सकेनन् ।’


जनतालाई बिभिन्न लोभ लालचमा पारेर सरकारमा जाने र जनताले पसिनाको खोला बगाएर जम्मा पारेको कोष माथि धावा बोल्नेलाई बेलैमा चिन्न आव्हान गरेका शिवसेना नेता खनालले भने, ‘दिनप्रति दिन देशको आर्थिक स्थिति कमजोर हुदैँ गएको र सास्ती भने जनताले खेप्नु परेको छ, महंगाई बढेको छ ।’


‘यसपटककै निर्वाचनबाट भ्रष्टाचार रोकौ, भ्रष्टचारी फेकौं’, नेता खनालले भने, ‘देशको सबै पैसा बाहिर गइरहेको छ र भएका पैसा जति सरकारमा बलियो पकड राख्नेहरु भ्रष्टाचार गरेर आफ्ना भवन निर्माण, छोरा छोरीलाई पढाईका लागि बिदेश पठाउने, व्यवसाय सञ्चालन, क्रेसर लगायतका अत्याधिक लाभ लिन सक्ने ठाँउमा कोष ढुवानी गरिरहेका छन् ।’

दिनभरी परिश्रम गरेर कमाएको पैसाबाट दुई छाक खाना पनि धौ धौ भएका जनतासंग भेटघाट गरिरहेको बताउने नेता खनालले सडकमा आन्दोलन खडा गर्ने क्रममा चप्पल फेर्ने हैसियत नभएको अवस्थाबाट सरकारमा गएका केही तत्वहरु अहिले राज्यको कोष ढुवानी गरेर अर्बौको लगानी लाग्ने कुखरा फारम र दानाको व्यवसाय, भवन निर्माण गरेका तथ्यहरु उजागर गरे ।


खनालले मतदातामाझ भने, ‘यो पैसा कहाँबाट आयो ? केही महिनाका लागि मात्र सरकारमा गएका नेताले कहाँबाट ल्याएको पैसाबाट लगानी गरेको होला ? स्पष्ट देखिने यस्ता गम्भीर बिषयमा अख्तियार किन बोल्न सकेको छैन ?’ उनले माथि देखि तल सम्म सेटिगंमा काम भइरहेको आंशका गर्दै भने, ‘सरकारले प्रदान गर्ने तलब, भत्ता, सेवा सुविधाबाट यत्रो ठुलो लगानी पक्कै हुन सक्दैन ! मलाई त देशको धेरै चिन्ता लागेको छ कतै फेरि पनि जनता भुक्किने त होइनन् ?’

प्रतिक्रिया

प्रतिक्रिया