निर्वाचनः १६ हजारघरधुरीमै पुगे अग्रहरी

‘म प्रत्येक मतदातालाई भेटेर आफ्ना कुरा सुनाउने अभियानमा छु,’ बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद अग्रहरीले सोमवार दैनिक नेपालगन्जसँग यसो भनिरहँदा पटक्कै थकान देखिएन ।

सोमवारसम्म आफ्नो निर्वाचन क्षेत्रका १६ हजार घरधुरीमै पुगेर मतदाता भेटेका युवा व्यवसायी अग्रहरी भन्दै थिए, ‘अरु १५ हजार घरधुरीमा पुग्नुछ ।’ एकाएक राजनीतिक मैदानमा रहेका उनलाई सघाइरहेका युवा अभियन्ता निलराज अधिकारीले अग्रहरीको सक्रियताबाट आफुहरु पनि प्रभावित भएको प्रतिक्रिया दिए ।

‘मेरो लागि यो निर्वाचनमात्रै होइन, देश बनाउने अभियान हो,’ जनताको साथको अपेक्षा सहित मतदाता भेट्न घरदैलोमा पुगिरहेका अग्रहरीले आफु्ले फगत आशा नबाडेर गर्न सकिने सम्भव कुरा मात्र गर्दै अघि बढेको दावी गर्दै भने, ‘उम्मेदवारको बारेमा राम्रो संग बुझेर मात्र मतदान गर्न आग्रह गरिरहेको छु ।’ ‘साथीहरु थाकेको बेला एक्लैपनि जनताको घरदैलोमा पुग्ने गरेको छु,’ आफुलाई थकान मार्ने छुटसम्म नदिएका उनले भने ।

अग्रहरी बाँके क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार हुन् । हालको बेहाल परिस्थिती सुधार्न आफु राजनीतिमा हामफालेको तर्क गर्दै भन्छन्, ‘धेरै बर्ष भयो नेताहरुले जनतालाई आश्वासन मात्र दिएको जनताको इच्छा चाहना पुरा गर्न नसकेका कारण त्यो जनताको चाहना पुरा गर्न नै मेरो दायित्व सम्झेर मैले उम्मेदवारी दिएको हुँ ।’

अग्रहरीले ऐजेन्डाको राजनीति गर्ने सन्देश दिइरहेका छन् । ‘म केही दिनमा आफ्नो घोषणापत्रसहित पत्रकारमार्फत जनतासम्म पुग्छु,’ उम्मेदवारले जनतामाथि गर्ने गरेको व्यवहार, विकास निर्माण तथा प्रतिवद्धता सहितलाई मुल्याङकन गरेर मात्र आफ्नो मत दिनुहोला भन्दै आएका अग्रहरीले भने, ‘एउटा सुन्दर सहर बनाउन चाहिने आवश्यक कुराहरुकै बारेमा मेरो योजना आउँछन् ।’

प्रतिक्रिया

प्रतिक्रिया