बाँके : निर्वाचनमा टिकट विवादले उथलपुथल

बाँकेमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले यसअघि आंकलन गरिएको समिकरणमा उथलपुथल ल्याएको छ । खासगरी चर्चामा रहेको बाँके क्षेत्र नं. २ मा गठबन्धनबाट मो. इस्तियाक राईले टिकट पाउने चर्चा भैरहेको बेला एक्कासी जसपा गठबन्धनबाट अलग भई एमालेसँग चुनावी तालमेल गर्यो ।

एमालेसँग चुनावी तालमेलको चर्चा हुँदा बाँके क्षेत्र नं. २ मा एमालेकै समर्थनमा राई क्षेत्र नं. २ मा प्रतिनिधिसभा उम्मेदवार बन्ने चर्चा चल्यो । तर, उम्मेदवारीको अघिल्लो दिन सबै विषय क्लियर भयो, जसपासँगको तालमेल निश्चित क्षेत्रमा मात्रै भयो । बाँके क्षेत्र नं. २ चुनावी तालमेलमा परेन ।

बाँके क्षेत्र नं. २ मा एमालेले राप्रपासँग चुनावी तालमेल गरेको छ । राप्रपाबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा. धवल समशेर राणालाई नेकपा एमालेले सघाउने भएको छ । उनीसँगै प्रदेशमा विजय यादव र निरक गुरुङ्गले आइतबार उम्मेदवारी दर्ता गराए ।

नेपाली काँग्रेसले जसपा गठबन्धनमा हुँदा क्षेत्र नं. २ जसपका लागि छाडेपनि जसपा अन्तिम समयमा अलग भएपछि उम्मेदवार खोज्न सुरु गर्यो । नेपाली काँग्रेसले क्षेत्र नं. २ मा सुदिपनरसिंह राणालाई टिकट दियो । राणासँगै सुरेन्द्र हमाल र राजकुमार बर्मालाई प्रदेश तर्फ टिकट दिएको छ । उनीहरुले संयुक्त रुपमा आइतबार उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा एकीकृत समाजवादीले बाँकेमा एउटा पनि सिट नपाएपछि बाँके स्थित नेता, कार्यकर्ताले चार वटा प्रदेशसभामा स्वतन्त्र भएपनि उम्मेदवार उतार्ने घोषणा शनिबार गर्यो । समाजवादीले बाँकेमा चार प्रदेशसभाका लागि उम्मेदवार उतार्ने दाबी गरे । चार जनाले उम्मेदवारी दिए तर पूर्ववत् सहमति बमोजिम भएन ।

बाँके क्षेत्र नं. ३ क मा पूर्वराज्य तथा समाजवादीका केन्द्रीय नेता दल बहादुर सुनार र सोही पार्टीका नेता दिपक जिएमले बाँके क्षेत्र नं. ३ क बाट प्रदेशसभाका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छ । क्षेत्र नं. ३ ख मा इन्द्र बहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् । बाँके क्षेत्र नं. २ क मा विनयचन्द्र गुप्ता बाँके क्षेत्र नं. २ ख मा समशुद्दिन सिद्दिकीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

बाँके क्षेत्र नं. २ मा माओवादी केन्द्रका आकांक्षीले टिकट नपाएपछि पहिरो गएको छ । माओवादी नेता अतहर हुसेन फारुकी र आदेश अग्रवाल लगायतले माओवादी केन्द्र परित्याग गरेको घोषणा गरे । अग्रवालले माओवादी छाडेको केही मिनटमै जसपाबाट बाँके क्षेत्र नं. २ खबाट उम्मेदवारी दर्ता गराएका छन् । उनको उम्मेदवारीमा माओवादी छाडेको घोषणा सामाजिक सञ्जालबाट गरेका फारुकीले समर्थन गरेका छन् ।

‘आइतबार विहानसम्म मेरो टिकट फाइनल थियो, नेतृत्वले निश्चित गरेको थियो, तर मलाई भ्रममा राखेर अर्कौले टिकट दबाएर राखेको रहेछ’, उम्मेदवार अग्रवालले भने, ‘त्यो थाहा पाउने वित्तिकै मेरो टिमले छलफल गरेर जसपाबाट उम्मेदवारी सुनिश्चित गरेको हो ।’ माओवादी केन्द्रबाट अक्कल बहादुर बमले प्रदेश ख मा उम्मेदवारी दर्ता गराएका छन् ।

‘बाँके क्षेत्र नं. २ मा जसपालाई सघाउने योजना हो, तर उनीहरुको नियत राम्रो देखिएन’, गठबन्धनबारे माओवादी केन्द्रका जिल्ला अध्यक्ष डम्मर विकले भने, ‘काँग्रेससँग संवाद भैरहेको छ, उनीहरुले ख मा फिर्ता लिएर हामीलाई सघाउने वातावरण बन्यो भने संघमा हामी सघाउँछौं ।’

उनीमात्रै होइन, क्षेत्र नं. १ मा दाबेदार रहेका अमर खड्का पनि जसपा प्रवेश गरेर उम्मेदवार भएका छन् । ‘माओवादीबाट ठूलो समूहमा विद्रोह भएको छ’, अग्रवाल भन्छन्, ‘माओवादीमा देखिएको समस्या समाधान तर्फ नेतृत्वले पहल नलिएकै कारण यो अवस्था आएको हो ।’

काँग्रेसबाट प्रदेशमा टिकटका आकांक्षी चन्तराम थारुले पार्टी परित्याग गरेको घोषणा गरे । उनले अन्य पार्टी प्रवेशको घोषणा नगरेपनि आफु काँग्रेस नरहेको स्पष्ट पारेका छन् ।

एमालेबाट टिकटका आकांक्षी पदम बहादुर धितालले पनि पार्टी परित्यागको घोषणा गरेका छन् । धितालकी श्रीमति भूमिसरा एमाले बाँकेकी उपसचिव हुन् । उनले यसबारे धारणा सार्वजनिक नगरेपनि परिवारका अन्य सदस्यहरुले ‘एमाले सिध्याउने’ प्रतिक्रिया दिइरहेका छन् ।

हुँदाहुँदा पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएको जनमत पार्टीमा समेत टिकटको रडाको मच्चियो । उम्मेदवारी दर्ताकै दिन आइतबार टिकट पर्खेर बसेका पुराना नेता इरफान शेषको ठाउँमा भर्खरै पार्टी प्रवेश गरेका बाबु खाँ पठानले टिकट बोकेर निर्वाचन आयोग छिरेपछि आक्रोशित कार्यकर्ताहरुले बाबु खाँ पठानको गाडीमै तोडफोड गरे । प्रहरी सहयोग र सुरक्षामा उनले उम्मेदवारी दर्ता गराउनु पर्यो । बाँके क्षेत्र नं. २ बाट उनी उम्मेदवार बनेका छन् ।

माओवादीबाट उम्मेदवार आयात गरेर सन्तुलन मिलाएको जसपा बाँकेलाई पनि आफ्नै भित्रको सकस घाँडो भएको छ । जसपामा प्रभाव राख्ने युवा नेता समशुल राईले इस्तियाक विरुद्ध उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेश उम्मेदवारका आकांक्षी सिताराम यादवले विजय यादवलाई समर्थन घोषणा गरेका छन् । राईले बाँके क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया