राजनीतिमा विकासका ऐजेन्डा पस्किरहेका युवा: श्रीराम सिग्देल

देश ठप्प छ, व्यापार व्यावसाय शुन्य छ, आर्थिक कारोबार ओरालिंदो छ, कथित अर्थविद्हरु आफ्नै दुनो सोझ्याउदैछन । सरकारमा आसिनहरुलाई टिकटको चिन्ता, प्रमुख प्रतिपक्षीका गफै ठुला ।


जनताको ओठमुख सुकेको छ, हुने खाने बैंक काढ्दै छन्, हुँदा खानेहरु कामको खोजिमा छन् काम कतै छैन । बजार आकाशिएको उहिल्यै हो श्रम बजार ज्यूका त्यूँ छ । बजारमा निस्किनुस् धनी न गरिब सबको ओठ मुख सुकेको छ तै पनि सरकार बेखवर छ ।


श्रीलंकाको नियतिले घण्टी बजाइ सक्यो । बजार चलायमान भए जीवन दगुर्ने हो, अहिले कुनै दलको राजनीतिक सभा आन्दोलन भएको नेता सक्रिय हुने थिए जनता जुरमुराउथे ।


यहाँ त देश नै फेल भैसक्यो तर पनि कोहि बोल्दैन कोहि सुन्दैन, कठै मेरो देश ! हे देशका कर्णधार हो, यो देशका युवा हरु हो कता छौ उठ जाग देश बचाउ ।

श्रीराम सिग्देल, नेपालगन्जका युवा, खासगरि उनी पर्यटन क्षेत्रका अभियन्ता हुन् । माथिका शब्द उनै सिग्देलको हुन् जो नेपालगन्जस्थित कोल्टे भान्साघरका प्रोपराइटर छन् ।


उनी पत्रकारहरुको छाता संस्था, नेपाल पत्रकार महासंघ बर्दियाका पूर्व अध्यक्ष हुन् । अहिले पूर्वपत्रकार भन्न रुचाउने श्रीराम पर्यटन व्यवसायमा संलग्न छन्, पर्यटन व्यवसायीको संस्था, नाट्टा नेपालगन्ज च्याप्टरका अध्यक्षको जिम्मेवारीमा दोस्रो कार्यकाल बाँकेको नेतृत्व गरिरहेका छन् । उनैको पहलकदमीमा नेपालगन्ज–पोखरा उडान, वेष्टर्न ट्राभल मार्ट लगायतका पर्यटकीय अभियान सफल भए ।


केही दिन यता उनै श्रीराम सिग्देलले राजनीतिक चासोका गम्भीर टिप्पणीहरु गरिरहेका छन् । ‘नेपालगन्जले राम्रो नेतृत्व पाउनै सकेन, त्यसैको दबाब शुरु गरहेको हुँ,’ मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवारीसम्मको सोंच बनाएका सिग्देलले दैनिक नेपालगन्जको जिज्ञासामा भने, ‘राजनीतिले खराब मोड लिंदा जागरुक नागरिकले त्यसलाई ट्रयाकमा ल्याउनुपर्छ, मेरो त्यही प्रयास हो ।’

कोल्टे भान्साघरमा पाहुनाको भिड हुँदा सहकर्मीसँगै खाना पकाइरहेका भेटिने श्रीराम मौका मिल्यो की सामाजिक सञ्जालमा लेखिहाल्छन् । आफैले पकाएको स्वादिलो खाना जस्तै गहकिला उनका शब्द सबैका भान्सामा पुग्ने गरि बेलाबेला पस्किरहन्छन्, श्रीराम ।


कहिलेकाही आफ्नो स्वार्थ त्यागेर हेरौं । मुलुक बनाउने अर्को अभियान, आफ्नो बजार सुनसान पारेर सिमावर्ती बजार नजाउँ ,देशको पैसा लगेर अर्को मुलुकमा नथोपरौं ।
आफ्नै बजारमा किनमेल गर्ने बानी बसालौं । हामीले बानी बसाले हाम्रा व्यापारीले समय सङ्गै सिमावर्ती बजार भन्दा सस्तो दिन सक्ने छन एक दिन । यति मात्र गर्न सकेउ भने पनि देश बनाउने काममा एउटा इट्टा थप्न सक्छौं ।

तपाईंका कुरा कसैले सुन्छन् ? ‘त्यसैले त सुनाउने ठाउँ (संसद) जान खोजेको !, श्रीराम सिग्देलको कथन छ, ‘राजनीति सही भएन, नागरिक भूमिका सही बनाउन जरुरी छ ।’ उनले देशभरिका वडाध्यक्षलाई सम्बोधन गरेर, सामाजिक सञ्जालमै पत्र लेखे ।

श्री वडा अध्यक्ष ज्यु ,
देशका सबै वडाहरु !
प्रस्तुत सन्दर्भमा तपाइको वडामा जनता सङ्ग सहकार्य गरि ‘वडा अध्यक्षसंग हरियाली कार्यक्रम’ लागू गरौं ।
यो कार्यक्रममा तपाइका वडाका हरेक नागरिकलाई आ–आफ्नो जन्मदिनका अवसरमा जीवनमा १ पटक १ वटा रुखको बिरुवा रोपौं भन्ने कुराबाट उत्प्रेरित गरौं । बिरुवा रोप्नका लागि तपाइँको वडामा पर्ने क्रमश सडकका दुबै किनारा, सार्वजनिक जग्गा, सरकारी कार्यालयका परिसर,खोला नालाको किनारा लाई प्रयोग गरौं ।


यस कार्यका लागि जन्मदिन परेको नागरिक वा उसको अभिभावक सङ्ग सहकार्य गरेर बिरुवा र तारजाली प्रबन्ध गरौं । यसका लागि आवश्यक निर्देशिका तयार गरि जनतालाई प्रेरित गर्न सके पर्यावरण जोगाउनमा हरेक नागरिकको सहभागिता रहने छ । तसर्थ वडा अध्यक्षसंग हरियाली कार्यक्रम लागू गरि देश बनाउने अभियानमा हरेक नागरिकलाई जोडौं जोडिऔं ।

पछिल्ला केही दिनयता आफुलाई बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवार घोषणा गरिरहेका श्रीराम स्वतन्त्र भने होइनन् । राजनीति बुझेदेखि नेपाली काँग्रेसमा लागेका उनी अहिलेको संस्थापन, प्रधानमन्त्री शेर बहादुर देउवाका किचन देखि क्याबिनेटसम्मको पहुँच भएका काँग्रेसी हुन् ।

‘गठबन्धनका नाममा काँग्रेसको भविष्य समाप्त पार्ने खेल शुरु भयो,’ तपाई काँग्रेस छाडेरै स्वतन्त्र हो ? दैनिक नेपालगन्जको जिज्ञासामा श्रीराम सिग्देलको भनाइ छ, ‘माओवादीको इशारामा मुलुकलाई दुर्घटनातिर धकेल्ने काममा कहिंनकहीं हाम्रो पार्टी नेतृत्व गुमराहमा परिरहेकोले यो चेतावनी हो, वास्तवमा काँग्रेस बचाउने अभियान हो ।’ श्रीरामको यो प्रतिक्रिया राजनीतिक सक्रियताको बिगतबाट प्रष्ट हुुन्छ, उनी स्वतन्त्र हुनै सक्दैनन् ।

श्री हाइ कमान्डर ,
नेपाली कांग्रेस / नेकपा एमाले / नेकपा माओवादी केन्द्र ।
विषय ः हार्दिक बधाई सम्बन्धमा ।


प्रस्तुत सन्दर्भमा यहाँहरुले नेतृत्व गरिरहेको यहाँहरुको पार्टी यहाँहरुकै अथक प्रयास,मिहिनेत र लगनका कारण राष्ट्रिय पार्टीबाट क्षेत्रीय पार्टीमा स्तरोन्नति गर्न सफल हुनु भएकोमा यहाँहरु तिनै जनालाई हार्दिक बधाई तथा ज्ञापन गर्न चाहन्छु । पार्टी स्तरोन्नति को अचुक विधि ‘गठबन्धन’ हो । तसर्थ गठबन्धन जारी राख्नु पर्छ । यहाँहरुको पार्टी प्रतिको अविच्छिन लगाव कुशल नेतृत्वबाट तपाईंका पार्टीहरु भविष्यमा जिल्ला र पालिका स्तरिय हुनेछन् र अर्को बधाई दिन पाइयोस् !

श्रीराम सिग्देलको यो पत्रको आशय जे भएपनि चाखलाग्दो कुरा चाहिं भिन्नै छ । नेपाली काँग्रेसमा स्थायी दुई धार छ, गुट छ । श्रीराम जीवनभर देउवाको लाइनमा बसिरहे । हिजो गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाहरु पार्टीको संस्थापनमा, देशको शासनसत्तामा रहँदा श्रीराम स्थायी प्रतिपक्षजस्ता देखिन्थे । आज उनै देउवा पार्टी संस्थापन र शासनसत्ताको बागडोरमा रहँदा श्रीरामको कोकोहोलो छ, बाँके क्षेत्र नम्बर २ मा काँग्रेस सिद्ध्याएर सुशील कोइरालाको इतिहास समाप्त पार्ने खेल भइरहेको छ, सारा काँग्रेस सत्तामोहमा लिप्त भए । कोल्टेबाटै यस्तो छ उनको धारणा,

इतिहास सबैले कोर्न सक्दैन, जस्ले कोर्छ उ अजम्मरी रहन्छ इतिहास बन्छ । बाँके नेपालगन्जका स्व. सुशील कोइराला यस्ता व्यक्ति हुन जसको जीवन लोकतन्त्रका लागि संघर्षरत रह्यो । संघर्षकै उपलब्धि उनी देशकै ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेसको केन्द्रिय सभापति मात्र भएनन् उनि मुलुकको प्रधानमन्त्री पनि बने ।


त्यति मात्र होइन आज हामी जुन देशमा बसेर जुन ब्यबस्था अंगिकार गरेका छौं त्यो देशको मूल कानुन अर्थात संविधान निर्माता पनि पनि बन्न पुगे जुन आफैमा एउटा इतिहास हो । उनको सादगी जीवन सबैलाई अनुकरणीय छँदैछ ।


बाँके, नेपालगन्जलाई राजनीतिक कर्म थलो बनाएर देशको सर्वोच्च शिखर चुम्ने उनी पहिलो व्यक्ति हुन् । भविष्यमा यो संयोग विरलै नै होला । समग्रमा स्व.कोइराला एउटा ईतिहास,गौरब र परिचय हुन् । स्व.कोइराला बाँके क्षेत्र नँ २ बाट प्रतिनिधि सभाका लागि प्रतिनिधित्व गर्नुहुन्थ्यो अर्थात यो निर्वाचन क्षेत्र स्व.कोइरालाको विरासत हो ।


२०७४ को निर्वाचनमा पनि उनको यो विरासत राप्रपाको नाउँमा वली चढाइयो । ०७९ को निर्वाचनमा पनि जसपाको नाउमा वलि चढाइँदैछ । कांग्रेस र स्व. कोइरालाको शुभेच्छुक भएको नाताले मेरो बुझाइमा बाँके २ मा नेपाली कांगेसले स्व. कोइराला, यहाँका मतदाता र उनका शुभेच्छुको सम्मानार्थ नेपाली कांग्रेसले उम्मेदवार र उम्मेदवारी दुबै दिनु पर्थ्यो ।


२०७४ मा दिइएन एउटा परिस्थिति बन्यो होला भनियो, २०७९ मा पनि अर्कैलाई दिने निर्णय लगभग गरिएको छ । यो निर्णय स्वयं स्व.कोइराला, जिल्लाको गौरवमय ईतिहास , कोइरालाका मतदाता, नेपालगन्जवासी र बाँके कांग्रेसको घोर अपमान

हो । स्व. कोइराला राष्ट्रका ईतिहास हुन ,सम्पत्ति हुन् ,नेपालगन्जका स्वभिमान हुन उनि र इतिहास अनि नेपालगन्ज र उनको निर्वाचन क्षेत्रको सम्मानका लागि मेरो उम्मेदवारी तय गरेको छु ।

श्रीरामको चासो र चिन्ता काँग्रेस बचाउने अभियान भएपनि, ऐजेण्डा भने विकासनै हो ।

माननीय सांसद ज्युहरु
प्रतिनिधि सभा /राष्ट्रिय सभा /प्रदेश सभा ।
विषयः राझा विमानस्थल लाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लविङ्ग गर्ने सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा हामी विकासको मुल फुटाउने कुरा गरिरहन्छौं । विकासको मूल नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलमा परिणत गर्न सक्नुमा छ ।


सक्छौं हाम्रो कुरा सुनिन्छ भने पहिलो प्राथमिकता यो विमानस्थल अन्तर्राष्ट्रिय बनाउन पहल गरौं । त्यो पनि सकिन्न भने कम्तिमा भारतका शहरहरु,दिल्ली, कलकत्ता, मुम्बई र देहेरादुनसंग यो विमान स्थललाई जोड्न लागौं । दिनमा हप्तामा ५ फ्लाइट गरेर १ हजार मान्छे ओहोर दोहोर मात्र गर्न सके नेपालगन्जको आर्थिक गतिविधि एकाएक बढ्ने छ ।
स्टार होटलहरु बढ्ने छन्,रोजगार सिर्जना हुनेछ, बजारमा ठुलै किनमेल हुनेछ । स्मरणीय रहोस् एउटा पर्यटकले तिरेको पैसा ६४ जनाको घरमा प्रत्यक्ष अप्रत्यक्ष पुग्नेछ ।

श्रीराम सिग्देलले सामाजिक सञ्जालमार्फत सांसदलाई लेखेको पत्र उनीहरु कसैले हेरे हेरेनन्, तर जनताले राम्रै मानेका छन् । सामाजिक सञ्जाल फेसबुकमा खासै रमाउन नसकेको उनलाई ट्वीटरमा १६ हजार एकाउण्टले फलो गरिरहेका छन्, गुलेली मास्टर भनेर । राजनीतिक भन्दा व्यवसायिक र पर्यटकीय सवाललाई स्थान दिने उनको विचारले अहिले आएर एकाएक चुनावी मैदानलाई ‘भाइब्रेन्ट’ पार्न खोजेका छन् ।

पोखराका हरेक होटलका झ्यालबाट हिमाल देखिन्छन,अनि आगनबाट सुर्य तै पनि तपाईं पोखरा पुग्नुस् तपाइलाई पोको पारेर बसमा हालेर खुइले डाडो सारङ्गकोट लगेर हिमाल र सुर्य देखाइन्छ । भएन भनेर अलि यता पोखरेलीले बनाएको माउन्टेन म्युजियम छ त्यहाँ लगेर नेपाल र नेपाली चिनाइन्छ ।


१० वर्ष अघिसम्म चन्द्रागिरीको नाम हामी कसैले सुनेका थिएनांै केबलकार जोडिए सङ्गै नेपाल भारत मात्र होइन तेश्रो मुलुकका पर्यटकको समेत ओइरो लाग्छ त्यहाँ । भक्तपुरको साङ्गा डाडोमा महादेवको अग्लो मूर्ति ठड्याइयो दर्शन गर्न नजाने कोहि छैनन् । नवलपरासीको बाझो खेत चौधरी ग्रुपको टुरिजम भिलेज बन्यो दैनिक २५ सय मान्छे पुगेर आउँछन । जस्ले ग¥यो दिमाग लगायो । आउनुस् हामी पनि दिमाग खियाउँ बाँके बनाउन ।


पर्यटकीय दृष्टिकोण ः
१.बागेश्वरीमा नियमित सन्ध्याकालिन आरती गरौं ।
२.नेपालगन्जमा रहेका ताल तलैया पोखराको फेवाताल मोडेलमा लैजाउँ । ताल तलैया परिसर क्षेत्रमा तारे होटल र सुविधा सम्पन्न रेस्टुरेन्टका लागि ५० वर्षका लागि निजी क्षेत्र अलाई लिजमा दिउँ ।
३. बहु धार्मिक, बहुजातिय बाँकेबासीसङ्गै नेपाल चिनाउने गरि म्युजियम बनाउँ ।
४. बाँके राष्ट्रिय निकुन्जलाई ब्रान्डिङ्ग गरौं ।
५. बाबा बर्फानी, सन्तानेश्वर क्षेत्रमा केवलकार जोड्न निजी क्षेत्रलाई अनुरोध गरौं ।
६. राप्ती सोनारीको सुन्दरतामा पर्यटन खोजौं । अगैया क्षेत्रमा डिनर क्रुज र राफ्टिङ्ग सन्चालन गरौं ।
७.नेपालगन्जलाई कम्तिमा भारतीय शहरहरु,देहरादुन,मुम्बई ,दिल्ली,कलकत्ता र अन्तर प्रदेश बिराटनगर, जनकपुर ,बिरगन्ज वा भरतपुर सङ्ग हवाई उडानले जोडौं ।
८. पर्यटनमा लगानी मैत्री वातावरण बनाउँ ।
९. साइकल ट्रेलका सम्भावना भएका ठाउँको पहिचान गरि साइकल ट्रेल बनाउँ । होम स्टेको संभावना खोजौं ।
१०. नेपालगन्जबाट माउन्टेन फ्लाइट, कैलाश पर्वत, मानसरोवर, रारा, फोक्सुन्डो दर्शन गराउँ ।
११. पर्यटन शिक्षालाई प्रभावकारी बनाउँ ।
१२. नेपाल प्रवेश गर्ने हरेक भारतीयलाई अतिथि देवो भवः को भावनाले हेरौं ।

पर्यटनमात्रै होइन, शिक्षाको वर्तमान अवस्थालाई कृषिसँग जोडेर व्यवसायिकता खोजेका श्रीरामलाई आफ्ना दाजु नारायण सिग्देलको ‘पढ्दै कमाउँदै’ अवधारणा मन पर्छ । उनले त्यसैको मोडेलसँग मेलखाने योजनालाई यसरी विद्यालयस्तरमा लागुगर्न सकिने गरि अर्काे सम्बोधन पनि गरेको छन् ।

श्री प्रधानाध्यापक ज्यु,
सामुदायिक तथा निजी विद्यालय ।
विषय ः शिक्षासंग तरकारी कार्यक्रम लागू गर्ने विषयमा ।
प्रस्तुत सन्दर्भमा तपाईं विद्यालयमा जे जसो गृहकार्य दिनु भयो भने ती विद्यार्थीहरुले अनिवार्य गर्ने छन् । वारि हुनेले बारी नहुनेले कौसीमा यो खेती तरकारी फलाउन बाध्य हुने छन् ।


अब कल्पना गर्नुस् ४ वटा लौका र फर्सीको बोटमा कति फल्ने छ ? जिल्लामा कति विद्यालय र विद्यार्थी होलान् ? मान्नुस् कम्तिमा १०/१० किलो फल्यो भने १ लाख विद्यार्थी यो अभियानमा आए भने लाखौं किलो तरकारी उब्जने छ अनुमान

लगाउँ ।


यसो गर्दा मन्डी गएर तरकारी किन्ने काम घट्छ, भान्सामा विषादी रहित तरकारी खान पाइन्छ, भारतीय तरकारी किन्ने कार्य स्वतः कम हुनेछ । अतिरिक्त उत्पादन टोल छिमेकमा बेच्न सकिने छ । हाम्रो पैसा हाम्रै देशमा हुनेछ । लाखौं टन अक्सिजन उत्पादन हुनेछ ।


यो कार्यक्रम देश भरी लागू गरेउ भने के बिग्रन्छ ? बच्चाले मोबाइल मागे मोबाइल,ट्याब्लेट मागे ट्याब्लेट किनि दिने अभिभावकहरुले बच्चाहरुको गृहकार्यमा आवश्यक पर्ने मल,कुटो,गमला र सिचाई प्रबन्ध सजिलै गरिदिनु हुनेछ । ५÷१० पूर्णांकको यो गृहकार्यले घर टोल समाज जिल्ला र देश बन्ने अभियान सुरु हुनेछ ।


हाम्रो घर टोल समाज र देश बाहिरबाट आएर कसैले गर्दिने छैन । हामी आफै जागरुक बन्ने हो । देश निर्माणमा जुट्ने यो एउटा बलियो गाँठो हुनेछ । यसका तमाम फाइदाहरु छन् आजैबाट सुरु गरौं मोबाइल चलाएर बस्ने समय घटाएर ४ वटा तरकारी उमारेर आफ्नै वारीको तरकारी खाने बानी बसालौ । फर्सी र लौका उदाहरण मात्र हुन् …!

अन्तमा श्रीराम सिग्देलकै कुरा, उनकै शब्दमा,


गठबन्धन गर्ने नै हो भने देश विकासका लागि गरौं, भ्रष्टाचार अन्त्यका लागि गरौं, सभ्य समाज निर्माण गरौं । नकि देश बर्बादका लागि । गठबन्धनको परिणाम, राजनीतिक नेतृत्व र नेपाली जनताको नियती बितेको ५ वर्षले छर्लङ्ग देखाइ सकेको छ । मुलुक कदापि राजनीतिक बन्धक हुन सक्दैन र गर्न पनि पाइन्न ।


टिकटलाई लिएर यतिबेला नेताहरुको दरवार भरिभराउ छ, गठबन्धन हुने भए पछि जीतको चिठ्ठा हाता पर्ने निश्चित भएर पनि होला हैसियत नभएका पनि लामवद्ध छन । नेताहरुलाई सेटल कसरी गर्ने टाउको दुखाई भएको छ ।
गठबन्धन भंग गरिदिनुस् नेकपा एस. आफै किनारा लाग्छ, जसपाको दावी पनि स्वात्तै ओरालो लाग्छ ।

माओवादी केन्द्रका फुर्ति पनि हेर्न लायक हुन्छ । रह्यो कुरा कांग्रेसीहरु ७५ प्रतिशत आकांक्षीहरु नाइट बस चढेर घर फर्किन्छन । अरु पार्टीको सेटलमेन्ट पनि हुने आफ्नै पार्टीका चैतेहरु पनि स्वतः ब्यबस्थापन हुने, कांग्रेसलाई निशुल्क सल्लाह !

राजनीति जागिर होइन, यदि कसैले जागिरका रुपमा हेरेको छ बुझेको छ भने बुझ्नुस उ तपाईंको राजनैतिक निष्क्रियताको अनुचित लाभ लिइरहेको छ । उस्ले कथित नेताको आवरणमा तपाईं हाम्रो समाजलाई धर्म,जाती,लिङ्ग,क्षेत्रीयता,बर्ग,वर्ण र समुदायका आधारमा बिभाजित गरेर आफुलाई नेताको रुपमा स्थापित गरिरहेको छ ।


विश्वास छैन नियाल्नुस् दोहो¥याएर तेहेर्याएर तपाईंसंग मत माग्न आएको नेतालाई लिएर घोत्लिनुस् उसले के को नाउँमा पुनः मत मागिरहेको छ ? अनि आफैमा मन्थन गर्नुस् । निर्वाचनको सहि सदुपयोग गर्नुस् । भोट दिनुस् भाग्य होइन ।

श्रीरामको यो सबै ऐजेन्डालाई नियालीरहेका नेपालगन्जका युवा पत्रकार कृष्ण अधिकारी भन्छन्, ‘विकासलाई राजनीतिको मूल ऐजेन्डा बनाउनेहरुले श्रीराम सिग्देलबाट सिकुन् ।’ श्रीराम उम्मेदवार बन्छन् ? बन्दैनन् ? यो अहिले यसै भन्न सकिन्न, तर उम्मेदवारका लागि ऐजेन्डा भने उनले निरन्तर पस्किरहेका छन्, पस्किरहन्छन् ।

प्रतिक्रिया

प्रतिक्रिया