बालसुधार की नजरबन्द !

बालबालिकाले मन्त्री सामु भने, ‘चर्को दण्ड होइन गल्ती सुधार्ने मौका देउ’

वसन्त गौतम

स्कूल बनाउँछौ अस्पताल बनाउँछौ भन्दै गफ् दिन्छन् जान्छन् ।

सबै बालबालिकालाई आश देखाई नाम नम्बर लिन्छन् जान्छन् ।।

कुरा गर्ने गफ् दिने अनि आश देखाउने कति आए कति यहाँ ।

कसैले केही पु¥याउने होइन होइन नाना थरि भन्छन् जान्छन् ।।

सीप सिकाउँछु बालबालिकालाई ट्रेनिङ सेन्टर खोल्छौं भन्छन् ।

यस्तै आश देखाएर बालबालिकाका् हातको ताली खान्छन् ।।

उल्लेखित आक्रोसपूर्ण भनाइ नेपालगन्जस्थित बालसुधार गृहमा रहेका एक बालकको हो । बालसुधार गृहमा आएर आश्वासन दिने तर काम नगर्नेहरु प्रति लक्षित उनका भनाइहरु गम्भीर छन् ।

सुधार गृह भन्ने तर सुधार गृहका लागी आवश्यक भौतिक संरचना र आधारभुत सुबिधा समेत उपलब्ध नहुँदा कानूनी विवादमा परेका बालबालिकालाई सुधार्ने होइन कि नजरबन्दमा कोच्ने काम मात्रै भएको त्यहाँ बसेका बालकहरु गुनासो गर्दछन् ।

बाँके जिल्लाको डुडुवा गाउँपालिका वडा नं ६ मा अस्मानपुरमा नवनिर्मित जयेन्दु बालसुधार गृह उद्घाटन समारोहमा प्रतिनिधिमूलक रुपमा बोलेका एक बालकले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी सामु खुलेर भावना राखे ।

ती बालकले आफ्ना भावनाहरु राख्दै कानूनी बिवादमा परेका बालकलाई सुध्रने मौका नदिई अदालतले चर्को कैद तोक्ने गरेको, कारागारमा सीप सिक्ने उपयुक्त ब्यवस्था नभएको, एउटै कोठामा ६०÷७० जनासम्म कोचिएर बस्नु परेको, पढ्दै गएका बिद्यार्थीलाई पढाई निरन्तरता दिनमा समस्या भएको गुनासो गरे ।

नावालकलाई ३७ बर्षसम्म कैद सजाय तोक्ने गरिएको, निर्दोषलाई पनि जेल पठाउने गरिएको पहुँचबालाले पैसाको बलमा न्यायलाई खरिद बिक्री बनाइएको भन्दै बालकले बालन्याय अनुकुलको न्याय दिन आग्रह समेत गरेका थिए ।

बालबालिकाको हितमा सबैले काम गर्नु पर्छः मन्त्री

बालसुधार गृहको नवनिर्मित भवन उद्घाटन समारोहमा बोल्दै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले गल्तीवस परिवन्धमा परेर कानूनको बिवादमा परेका बालबालिकाको सुधार र हित हुने गरि सबैले काम गर्नु पर्नेमा जोड दिइन् । न्यनतम आधारभूत मापदण्ड पुरा गरेर बालसुधार संचालन गर्नु पर्नेमा जोड दिंदै मन्त्री रेग्मीले यसका लागी आवश्यक सहयोग गर्न आफु प्रतिवद्ध रहेको बताएकी थिइन् ।

महिला तथा बालबालिका बिभागका महानिर्देशक कृष्ण प्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री सर्वदेव ओझा, जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष ज्ञानेन्द्र चौधरी बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, युसेफ नेपालका निर्देशक केशव सुवाल लगायतका वक्ताले नवमिर्तित भवनले बालकहरुको बसाईमा केही सहज हुने भन्दै सुधार गृहबाट बाहिर निस्कँदा यहाँ रहेका बालकहरु असल नागरिक बन्ने गरि सुधारको पहल गरिनु पर्नेमा जोड दिए ।

७० जनाको क्षमता भएको बालसुधार गृहमा हाल २११ जना कानूनी बिवाद परेका बालबालिका छन् । नव निर्मित भवनबाट बालकहरुको बसाईमा केही सहज भए पनि यो भवन बालकहरुको चापको अनुपातमा पर्याप्त हुने देखिदैन । जम्मा १० कोठाहरु रहेको नवनिर्मित भवनमा डायनिङ हल, स्टोर, किचन, सुरक्षा गार्ड कोठा, शौचालय रहेका छन् । जसमा पहिलो तलामा पढ्ने कोठा, लाईव्रेरी कक्ष, परामर्श कक्ष, प्राथमिक उपचार कक्ष र शोचालय रहेका छन् । यसै गरि दोश्रो तलामा मेडिटेसन हल लगायत छन । एउटा कोठा रहेको गार्ड हाउस पनि निर्माण गरिएको छ ।

बालसुधार गृहमा बालबालिकाको उमेर र अपराधको प्रकृती अनुसार अलग अलग राख्नु पर्ने, शिक्षा, स्वास्थ्य, सरसफाइ, मनोरञ्जन, परामर्श लगायत आधारभुत कुरामा ध्यान पु¥याई उनीहरुलाई असल नागरिक बनाएर समाजमा पुनस्थापना गराउने लक्ष्य बालन्यायले राखे पनि सो अनुसारको ब्यवस्थापन नहुँदा कालकोठरीमा थुने सरह बालकलाई थुन्ने काम भएको त्यहाँ रहेका बालकहरुको गुनासो रहने गरेको छ ।

बालकहरुले गुनासो गरे जस्तै अनुगमनका लागी सम्बन्धित अधिकारीहरु बालसुधार गृहमा आउने तर उल्लेख्य सुधार नुहने कुराले हैरान भएका बालकहरुका भनाईलाई मध्यनजर राखेर कानूनी मापदण्ड अनुसार बालसुधार गृह संचालन गरिनु पर्दछ । बालन्यायको उद्देश्य अनुसार सुधार गृह, वास्तविक रुपमा सुधार गृह जस्तै हुनु पर्दछ । अपराधीलाई जस्तो बालकलाई थुन्ने मात्रै होइन कि अन्जानवस गरेको गल्तीको महसुस गराई असर नागरिक बनाउन पट्टी लाग्नु लाग्नु पर्दछ ।

बालसुधार गृह बाँकेकी इन्जार्ज बिमला काउचा मगरले सिमित श्रोत साधनका बाफजुट सुधार गृहलाई राम्रो बनाउने प्रयास गरिएको बताउँछिन । हुन पनि देशका अन्य बालसुधार गृह भन्दा बाँकेको बालसुधार गृहको ब्यवस्था राम्रो रहेको छ । भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य, जिवन उपयोगी सीप लगायतका कार्यमा राज्यको समुचित ध्यान पुग्न जरुरी रहेको इन्चार्ज काउचाको भनाइ छ ।

न्याय सम्बद्ध निकायले पनि बालकलाई चर्को सजाय गरि थुन्ने मात्र होइन कि कानूनको बिवादका घटनाबाट सम्बन्धित बालक पनि पीडित हो भन्ने कुरा मनन गर्दै बालकको सवोत्तम हितलाई मध्यनजर राखी बालन्याय अनुकुल हुने गरि न्या सम्पादन गर्न जरुरी छ ।

कार्यक्रममा बालसुधार गृहकी इन्चार्ज बिमला काउचा मगरले सिमित श्रोत साधनका बाफजुट बालबालिकाको हितलाई मध्यनजर राखेर कार्य गरिएको बताइन् ।

७० जनाको क्षमता भएको बालसुधार गृहमा हाल २११ जना बालक रहेका छन् । क्षमता भन्दा बढी बालक राखिदा बालकहरुले कष्ठकरण दैनिक बिताउन बाध्य छन् । सुधार गृहमा नया भवन बन्दै गएकोले निर्माण सम्पन्न भए पश्चात केही सहज हुन इन्चार्ज मगरले बताइन् ।

बालसुधार गृहमा क्षमता भन्दा बालक हुँदा १०० बढी बालबालिकाहरुलाई छाला रोगको समस्या छ । बढी चाप, कोचिएर बस्नु पर्ने बाध्यता लगायतका कारण दाद र छाला सम्बन्धी रोग बल्झिरहने रोगको रहेको छ ।

यस बाहेक २ जना शिक्षकले पढाई भए पनि शिक्षा प्रभावकारी हुन सकेको छैन । बिद्यालय भवन भए पनि सरकारी अनुमति प्राप्त हुन नसक्दा बिद्यार्थीहरु अरु सरकारी बिद्यालयबाट भर्ना देखाई परिक्षा दिनु पर्ने, उच्च शिक्षा पढ्ने बालबालिकालाई पढाई र परिक्षा दिनमा समस्या हुने गरेको बालबालिकाहरु बताउँछन् ।

अन्तमा तिनै बालकको आक्रोशपूर्ण रचनाको बाँकी अंश…

न त स्कूल बन्यो न त बन्यो अस्पताल नै ।

यस्तै नाना थरि गफ् दिने मान्छे आउछन् जान्छन् ।।

पाँच मिनेट गफ गछन् यो पु¥याउछु त्यो पु¥याउछु भनी ।

दश मिनेट बालबालिकाको अनुहार हेरि रमाउछन् जान्छन् ।।

सबै ब्यवस्था हुन्छ भनी आश देखाउछन् सबैले ।

दुई हात फरकाई बाई भनी गाडी स्टार्ट गर्छन् जान्छन् ।

जग्गादाता दम्पत्तिलाई सम्मान

भवन उद्घाटन समारोहमा बालसुधार गृहलाई ४ बिगाह २ कठ्ठा जग्गा दान दिएका समाजसेवी जयकेश सिंहलाई सम्मान गरिएको छ । सम्मान कार्यक्रममा बोल्दै दाता सिंहले यहाँ रहेका सबै बालकहरु आफ्ना छोराहरु जस्तै भएकाले भन्दै असल नागरिक बनाउन सबै लाग्नु पर्ने बताएका थिए ।

देशभरिका ८ बालसुधार गृह मध्ये बाँकेको बालसुधार गृह उत्कृष्ट रहेको कार्यक्रममा बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया