नेपालगन्जका उद्योगी, व्यवसायीहरुले पछिल्लो आर्थिक अवस्थाका कारण आफुहरुको लगानी जोखिममा परेको भन्दै ‘मनपरी गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुलाई अंकुश लगाउन’ नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएका छन् ।
नेपाल उद्योग तथा व्यवसायी महासंघको अगुवाईमा नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालय पुगेका उद्योगी, व्यवसायीहरुले विभिन्न संस्थागत सुझाव समेत प्रस्तुत गर्दै सुनुवाई नभए ‘उद्योग, व्यवसायको तालाचाबी राष्ट्र बैंकलाई बुझाउने’ चेतावनीसम्म दिए ।
‘कोभिड पछि अवस्थाको सहजीकरणमा सरकारले पटक्कै पहल लिएन, बैंक तथा वित्तीय संस्थाहरुले मनपरी गर्दै गए’, राष्ट्र बैंकका अधिकारीहरु समक्ष महासंघका बाँके जिल्ला स्थित प्रतिनिधिहरुले भने, ‘नेपाल राष्ट्र बैंकका गतिविधिहरु समेत आर्थिक सवालमा निष्क्रिय भैरहेको अनुभूत हामीले गरेका छौं ।’ उनीहरुले बैंकका कर्मचारीहरुले ऋणिहरुमाथि अमानवीय व्यवहार गरिरहेको गुनासो मात्र गरेनन्, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको व्यवहारप्रति सुक्ष्म अनुगमन गरी सच्याउने तिर पहल लिइदिन गुहार लगाए ।
नेपाल उद्योग तथा व्यवसायी महासंघले आर्थिक क्षेत्रमा देखिएका विकृति र व्यवसायिक समस्यालाई लिएर देशैभरी एकसाथ बुधबार नेपाल राष्ट्र बैंकका गभर्नरलाई ध्यानाकर्षण गराएको हो ।
त्यसक्रममा बाँकेका महासंघ सम्बद्ध व्यवसायीहरुले नेपालगन्ज स्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा पुगेर निर्देशक निभा श्रेष्ठ सहितका उच्च अधिकारीहरु समक्ष ज्ञापनपत्र बुझाए ।
महासंघका शाखा अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको नेतृत्वमा राष्ट्र बैंक पुगेका उद्योगी, व्यवसायीहरुले आक्रोशित हुँदै राष्ट्र बैंकका अधिकारीहरु समक्ष भने, ‘बैंकहरुले कालो बजारी गरिरहँदा राष्ट्र बैंकले के हेरिरहेको होला ?’ उनीहरुले राष्ट्र बैंकको निष्क्रियताका कारण बजारमा अनियन्त्रित मूल्यवृद्धि भैरहेको र त्यसको प्रत्यक्ष मार असल, इमान्दार व्यवसायीहरुमाथि परेको चिन्ता पनि व्यक्त गरे ।
‘उपभोक्ता मारमा परेको कुरा त जगजाहेर नै छ’, महासंघका प्रतिनिधिहरुले भने, ‘यहाँ त मूल्य वृद्धिको अनियन्त्रित अवस्थाले व्यवसायीहरु पनि मारमा परिरहेका छन् ।’
राष्ट्र बैंकका निर्देशक निभा श्रेष्ठले व्यवसायीहरुले अघि सारेका विषयहरु नीतिगत भएकाले तत्काल केन्द्र पठाइने जानकारी दिइन् । ‘मुलुकको अर्थतन्त्र सजिलो परिस्थितिमा छैन’, निर्देशक श्रेष्ठले महासंघका प्रतिनिधिहरुसँग भनिन्, ‘यसबारे नीतिगत सुधारदेखि अनुगमन, निरीक्षणसम्मका कामहरु केन्द्रले गरिरहेको छ, गरिरहन्छ ।’
निर्देशक श्रेष्ठले प्रत्यक्ष गुनासो सुनुवाईको व्यवस्था पनि राष्ट्र बैंकले गरिरहेको जानकारी दिंदै भनिन्, ‘गुनासो पोर्टल नै व्यवस्था गरिएकाले प्रत्येक नागरिकका आर्थिक सवालका गुनासा राष्ट्र बैंकसँग सम्बन्धित विषयलाई त्यसमार्फत जानु भयो भने तत्काल सुनुवाईको व्यवस्था गरिएको छ ।’ उनले अनुगमन निरीक्षणको विषय केन्द्रिकृत भएपनि स्थानीय स्तरमा आउने गुनासाहरुलाई सम्बोधन प्रयास भैरहेको बताइन् ।
‘प्रत्यक्ष गुनासो लिएर आउनेहरुको संख्या उल्लेख्य छ’, निर्देशक श्रेष्ठले दैनिक नेपालगन्जको जिज्ञासामा भनिन्, ‘हामीले तत्काल केन्द्रको सम्बन्धित निकायमा पठाएर सम्बोधन प्रयास गरिरहेका छौं ।’
महासंघ बाँकेका सचिव भीम रानाभाटका अनुसार, व्यवसायिक सवालमा राष्ट्र बैंक मार्फत ज्ञापनपत्र बुझाउन महासंघका केन्द्रीय सदस्य मिना ढकाल, राजेन्द्र गिरी, सरला विष्ट, नेपालगन्ज उद्योग वाणिज्य संघका कोषाध्यक्ष हरिलाल न्यौपाने, सदस्य श्याम सुन्दर अधिकारी, महासंघका नेपालगन्जका नगर अध्यक्ष बुद्धिबहादुर दियाली, उपाध्यक्ष विष्णु श्रेष्ठ लगायतका पदाधिकारी तथा प्रतिनिधिहरु राष्ट्र बैंक पुगेका थिए ।
महासंघले वर्तमान अवस्थामा देखिएका आर्थिक क्षेत्रका विभिन्न ५ बुंदे अवस्था र ५ बुंदे सुझाव राष्ट्र बैंक मार्फत गभर्नरलाई सम्प्रेषण गरेको छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाह गर्दा गरिनुपर्ने आधारभूत आवश्यकता ध्यानाकर्षण गराएको महासंघले अर्थतन्त्र बलियो बनाउँदै राष्ट्र बैंकले लिनुपर्ने नीतिका बारेमा समेत सुझाव प्रस्तुत गरेको जिल्ला सचिव रानाभाटले जानकारी दिए ।
मुलुकको अर्थतन्त्र सजिलो परिस्थितिमा छैन । यस्तो अवस्थामा सहजीकरण गर्न राष्ट्र बैंकले नीतिगत सुधारदेखि अनुगमन, निरीक्षणसम्मका कामहरु केन्द्रबाट गरिरहेको छ, गरिरहन्छ । तपाईका कुनै गुनासा छन् भने गुनासो पोर्टल मार्फत प्रत्यक्ष राख्न सक्नुहुन्छ, रेस्पोन्स हुन्छ ।
निभा श्रेष्ठ, निर्देशक
नेपाल राष्ट्र बैंक, नेपालगन्ज