हालै बाँके जिल्ला अदालतमा सरुवा भई आएका न्यायाधीशहरु र कानून ब्यवसायीका बिचमा अदालती सेवा प्रवाहका बिषयमा छलफल भएको छ ।

कार्यक्रममा न्याय सम्पादनमा देखिएका समस्या बारे चर्चा गर्दै बाँके जिल्ला बारका अध्यक्ष जनक बहादुर शाहीले न्याय सम्पादनका क्रममा देखिएका कार्यबिधिगत, ब्यवहारगत र कर्मचारीका आचरणसंग सम्बन्धित समस्याहरुको उजागर गर्दैै सुधार गरिनु पर्नेमा जोड दिएका थिए ।
थुनुवा छाड्ने बिषयमा १५५ नं को सुबिधामा एक रुपता नभएको, २ बर्ष नाघेका धेरै मुद्दाहरुको फैसला हुन नसकेको, मुद्दामा एकै चोटी आदेश नगरि पटक पटक आदेश हुँदा मुद्दा लम्बिने गरेको बताएका थिए । बार अध्यक्ष शाहीले प्रहरी कार्यालयबाट समयमा अदालतमा थुनुवा नल्याई दिदा मुद्दाको सुनुवाईमा समस्या भएको, मुद्दाको सुनुवाईका क्रममा कारागारबाट थुनुवा नल्याउने गरिएको समस्या राखेका थिए ।
बार बेन्च बैठकमा बोल्दै अधिवक्ता वसन्त गौतमले स्वच्छ सुनुवाई र फौजदारी न्यायका मान्य सिद्धान्तहरुको प्रभावकारी कार्यान्वयन हुनु पर्नेमा जोड दिएका थिए । अझै पनि गैर कानूनी थुनामा राख्ने, अनुसन्धानका क्रममा यातना दिने कार्य भैरहेको भन्दै गौतमले म्याद थपका क्रममा न्यायाधीशले यि बिषयमा सोध्नु पर्ने बताए ।
बालन्याय कार्यान्वयनमा समस्या देखिएको, १२० दिन भित्र बालबालिकाको मुद्दा फैसला हुन नसकेको, अनुसन्धान, अभियोजन र न्यायनिरोपणका क्रममा समेत बालन्याय कार्यबिधिले तोकेका मापदण्ड पालना हुन नसकेको भन्दै प्रभावकारी कार्यान्वयनमा गौतमले जोड दिएका थिए ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता बिजय गुप्ताले २ बर्ष कटिसक्दा पनि सहकारीका मुद्दा फैसला नहुँदा पीडित मर्कामा परेको बताए ।
बार बेन्च बैठकमा अधिवक्ताहरु लोक बहादुर शाह, बिकाश आचार्य, भिम बहादुर शाही लगायतले स्वच्छ सुनुवाईलाई प्रभावकारी बनाउनु पर्ने, अदालतमा कानून ब्यवशायीसंग थुनुवाले परामर्श गर्ने ब्यवस्था मिलाउनु पर्ने, मुद्धाको सुनुवाईका क्रममा थुनुवालाई अदालतमा उपस्थित गराउनु पर्ने, पक्षलाई पुनरावदनको म्याद दिनु पर्ने सुझाव दिएका थिए ।
बार बेन्चमा बोल्ने अधिवक्ताहरुले न्याय क्षेत्रका बिकृती र बिसंगतीको अन्त्य गरिनु पर्ने, अभियोग दर्तामा अनावश्यक ढिलाई रोकिनु पर्ने, अदालतले आधार र कारण स्पष्ट भए पछि मात्र थुनुवाको म्याद थप गरिनु पर्ने, असक्षम र असाहाय पक्षको न्यायमा पहुँच अभिबृद्धि ध्यान दिनु पर्ने बताएका थिए ।
बार बेन्च बैठकमा बोल्ने कानून ब्यवशायीले मुद्धाको म्याद तामेलीमा समस्या देखिएकाले यसमा सुधार हुनु पर्ने, पक्षको कानूनी प्रतिरक्षाका लागी कानून ब्यवसायीसंग परामर्श गर्न पाउने अधिकारको सुनिश्चितता गरिनु पर्नेमा जोड दिएका थिए ।
न्याय सम्पादनका क्रममा देखिएका समस्या र चुनौतीको पहिचान गरि समाधान गर्ने उद्देश्यले राखीएको बार बेन्च बैठकमा बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश धन सिंह महरा न्यायाधीशहरु चुरामन खड्का, देव कुमार गिरी, सनतचन्द्र लवट, आत्मदेव जोशी, चाणकमणि अर्याल, बिदुर काफ्ले र अदालतका श्रेस्तेदार तिर्थराज घट्टको सहभागिता रहेको थियो । बाँके जिल्ला अदालतमा भएको बार बेच्न बैठकमा नेपालगन्ज उच्च बार अध्यक्ष शिव कुमार श्रेष्ठ, जिल्ला बार अध्यक्ष जनक बहादुर शाही, वरिष्ठ अधिवक्ता बिजय गुप्ता, भोलासिंह हमाल लगायत उच्च र जिल्ला बार आवद्ध कानूनी ब्यवसायीहरुको सहभागिता रहेको थियो ।
बार बेन्च बैठकमा कानून ब्यवसायीका गुनासा सुने पछि जिल्ला न्यायाधीश धनसिंह महराले न्याय सम्पादनका क्रममा देखिएका कमीकमजोरी हटाई न्याय सम्पादनलाई प्रभावकारी बनाउन आफुहरु प्रयत्नशील रहने बताएका थिए ।