नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । पाँच पटकको च्याम्पियन भारतलाई १–० गोलले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।
नेपाल यससँगै महिला साफमा पाँचौपटक फाइनलमा पुग्यो । यसअघि चार पटकको फाइनलमा भने नेपाल पराजित हुँदा उपाधि विमुख भएको थियो ।
नेपालका लागि पहिलो हाफको अन्तिम मिनेटमा रश्मिकुमारी घिसिङले गोल गरिन् । प्रिति राईले मिहिनेत गरेर दिएको क्रसमा रश्मिले डिबक्स भित्रबाट उत्कृष्ट फिनिसिङ गरेकी थिइन् ।
दशरथ रंगशालामा उपस्थित सात हजार दर्शकसामू भारतलाई पराजित गरेको नेपालले अब उपाधिका सोमबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानमाथि ८–० गोलको जित निकालेको थियो ।
नेपालसँग पराजित भएसँगै भारत पहिलोपटक साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ । भारत बाहिरिएसँगै महिला साफ च्याम्पियनसिपले नयाँ च्याम्पियन पाउने भएको छ । यसअघिका पाँच संस्करणकै उपाधि भारतले जितेको थियो ।
भारतले पाँचपटक उपाधि जित्दा फाइलनमा नेपाललाई चारपटक र बंगलादेशलाई एकपटक हराएको थियो । नेपाल यसअघि २०१६ बाहेक सबै साफको फाइनलमा पुगेको थियो । सन् २०१६ को साफमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको थियो ।
नेपालले भारतलाई साफमा हराएको यो पहिलोपटक हो । समग्रमा भने नेपालले भारतलाई दोस्रोपटक पराजित गरेको हो । यसअघि नेपालले हिरो गोल्डकपमा भारतमाथि जित निकालेको थियो ।