लगानी सम्मेलन गर्दै लुम्बिनी सरकार

लुम्बिनी प्रदेश सरकारले आर्थिक समृद्धिका लागि प्रदेशमा लगानीका सम्भावना खोजी गर्न लगानी सम्मेलन गर्ने भएको छ । त्यसका लागि विभिन्न ठाउँमा लगानी संवादको आयोजना गरेको प्रदेश सरकारले ‘संवादबाट प्राप्त सुझावका आधारमा आवश्यकताको पहिचान गर्ने’ जनाएको छ ।

त्यसक्रममा बिहीबार नेपालगन्जमा प्रदेश स्तरीय ‘लुम्बिनी लगानी संवाद’ आयोजना गरिएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघ, सँगको सहकार्यमा लुम्बिनी प्रदेश अर्थ तथा सहकारी मन्त्रालयले संवादको आयोजना गरेको हो । कार्यक्रममा सहभागी वक्ताहरुले ग्रामीण क्षेत्रमा उद्यम गर्न खोजेपनि सरकारका प्रविधिक र राज्यको सहयोग नपुग्ने गरेको गुनासो गरे ।

सहभागी विभिन्न जिल्लाका उद्यमीहरुले कृषि उद्यमका लागि गाँउमा सरकारी प्राविधिक नजाने गरेको र अन्य कुटिर उद्योग संचालन गर्दा कच्चा पदार्थ र दक्ष जनशक्ति नपाइने गुनासो गरेपछि मन्त्रालयका अधिकारीहरुले ‘दक्ष जनशक्ति उत्पादनका लागि तालिम प्रशिक्षणको’ प्रतिबद्धता जनाए ।

सहभागी अधिकांसले अस्थिर लगानी नीतिका कारण आफुहरुको लगानी जोखिममा परेको गुनासो गर्दै पैसाको खोजी गर्नुभन्दा लगानीमैत्री वातावरणका लागि नीतिगत स्थायित्वको पैरवी गर्न प्रदेश सरकारसँग माग गरे ।

कार्यक्रममा प्रमुख वक्ताका रुपमा रहेका लुम्बिनी प्रदेश सरकारका अर्थ तथा सहकारी मन्त्री कृष्णध्यज खड्काले प्रदेश सरकारको लगानी सम्मेलनको पूर्व तयारी स्वरुप लगानी सम्वाद गरिएको जानकारी दिए । उनले लगानी सम्मेलन प्रचारात्मक भन्दा परिणाममूखि बनाउने सरकारको उद्देश्य रहेको स्पष्ट पार्दै प्रदेशका साना ठुला उद्यमीहरुको समस्या र लगानीलाई लगानी सम्मेलनले सम्बोधन गर्ने गरी आवश्यक तयारीमा प्रदेश सरकार लागी रहेको प्रष्ट पारे ।

संघीय र प्रदेशमा आवश्यक कानुन बन्न नसक्दा प्रदेशले प्रतिफल देखाउन नसकेको उल्लेख गर्दै मन्त्री खड्काले प्रदेश सरकार अहिले संघ र स्थानीयको बिचमा रहेर समन्वयमात्र गर्ने कार्यमा रहेको बताए । उनले नेपालका प्राय सबै ग्रामीण क्षेत्र बृद्धाश्रम जस्तै बनेको जिकिर गर्दै युवाहरु विदेश पलायन हुँदा गाँउघर उजाड बनेको बताए । प्रदेश सरकारले युवाहरुलाई स्वदेशमै रोजगारी दिने र आत्मनिर्भर प्रदेश बनाउने लक्ष्यका साथ अगाडि बढेको उनले दाबी गरे ।


प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव घिमिरे क्षेत्रीले निजी क्षेत्रको लगानी सुरक्षित गर्ने तर्फ नै सरकारको ध्यान केन्द्रीत रहेर लगानी सम्मेलनको ‘होमवर्क’ गरिरहेको बताए । उनले लुम्बिनी प्रदेशमा आर्थिक लगानीका सम्भावनाबारे आफ्नो प्रस्तुति दिंदै लगानी जुट्ने अवस्था पनि बन्दै रहेको बताए ।

प्रदेश सरकारका प्रमुख सचिव डा. दीपक काफ्लेले बागमती पछिको समृद्ध प्रदेश लुम्बिनीलाई बनाउन सकिने बताए । उनले प्रदेशमा सक्षम उद्यमीहरु भएपनि वातावरण बन्न नसकेको बताउँदै त्यही वातावरण बनाउन प्रदेश सरकार प्रदेश भित्रका उद्यमीहरुसँग हातेमालो गर्न अग्रसर भएको बताए ।

कार्यक्रममा रुकुम पूर्व, रोल्पा, दाङ, बाँके र बर्दियाका उद्यमीहरुको सहभागिता रहेको थियो । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले लगानी सम्मेलन गरी पैसा आउनु अघि स्थानीय स्तरमा गरिएका उद्यमीहरुको लगानी सुरक्षाको सुनिश्चिततामा सरकारले आवश्यक वातावरण बनाउनु पर्ने बताए ।

कार्यक्रमको सहजीकरण प्रदेश सरकार अर्थ तथा सहकारी मन्त्रालयका सचिव नेत्र प्रसाद सुवेदीले गरेका थिए । कार्यक्रममा निजी क्षेत्रका तर्फबाट विज्ञ राधेश पन्तले सरकार र निजी क्षेत्र बीचको साझेदारीबाट देश तथा प्रदेशको विकास सम्भव हुने औंल्याए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले वित्तीय पहुँचको सहजतामा निजी क्षेत्रको सहजीकरण गरिदिन सुझाव दिए । उनले श्रमिक अभावमा समस्यामा परेका उद्योगलाई टे«ड यूनियनको दबाब अझ समस्या भैरहेको पनि औंल्याएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया