‘बालन्यायमा अदालत संवेदनशील छ’

बाँके जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काले बालन्यायमा अदालत संवेदनशील रहेको बताएका छन् । बालदिवसका सन्दर्भमा बालसुधार गृह बाँकेले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीश खड्काले कानूनी बिवादमा परेका बालबालिकाको मुद्दामा अदालतले बालन्यायको यथोचित सम्बोधन गर्ने बताएका थिए ।

सुधारगृहबाट छुटेर घर गएर के गर्ने भन्ने बारेमा पहिल्यै योजना बनाउन सुझाव दिदै न्यायाधीश खड्काले पढाईले आँखा खुल्ने, गल्ती महसुस गराउने भएकाले पढाईमा ध्यान दिन बालकहरुलाई सल्लाह दिएका थिए । अदालतले कानूनी बिवादका घटनाबाट पीडित भएको अर्को पक्षको कुरा पनि सुन्नु पर्ने बताउदै न्यायाधीश खड्काले बालबालिकाको सवोत्तम हितलाई मध्यनर राखेर न्यायसम्पादन गर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक वसन्त गौतमले बालन्यायको मर्म अनुसार कानूनी बिवादमा परेका बालबालिकालाई उनीहरुले गरेको गल्तीको महसुस गराई असल नागरिक बनाउन र समाजमा पुनस्थापित गराउन सबै सरोकारवाला निकाय गंभिर भई लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक राम प्रसाद घर्तिले सुधार केन्द्रमा बसेका बालबालिकाहरु ज्ञानमा भण्डारमा बसेकाले त्यहाँबाट राम्रा कुराहरु सिक्न सुझाव दिए । सुधार गृहमा रहेका बालकले एक अर्काबाट धेरै कुरा सिक्न सक्ने भन्दै सकारात्मक सोचाईका साथ भबिश्यमा वकिल डाक्टर इन्जिनियर लगायत सफल ब्यक्ति बन्ने प्रणका राम्रा कुरा ग्रहण गर्नु पर्ने बताए ।

कार्यक्रममा बोल्दै समाजसेवी जयकेश सिंहले देशभरिका ८ बालसुधार गृह मध्ये बाँकेको बालसुधार गृह उत्कृष्ट रहेको बताए । बालसुधार गृहमा स्कूल भए पनि बिद्यालयले सरकारी अनुमति नपाएको, प्रर्याप्त शिक्षक नभएको भन्दै बिद्यालयको अनुमति, हाईमाक्स बत्तिको ब्यवस्था, बालकहरुलाई जिवनउपयोगी सिपमुलक शिक्षाको ब्यवस्था हुनु पर्नेमा जोड दिए । कार्यक्रममा नेपाल कर्मचारी संगठनका बाँके अध्यक्ष देवीलाल चौलागाई, कारागार कार्यालय बाँकेका जेलर अर्जुन जंग शाहलगायतले सबैले बालबालिकाको हित र बालन्याय अनुकुल हुने गरि कार्य गर्नु पर्नेमा जोड दिएका थिए । कारागारमा रहेका बालकहरुले अदालतले आफुहरुलाई अपराधि जस्तो ब्यवहार गरि चर्को सजाय तोक्ने गरेको, पश्चातापको मौका नदिएको गुनासो गरेका थिए ।

कार्यक्रममा बालसुधार गृहकी इन्चार्ज बिमला काउचा मगरले सीमित श्रोत साधनका बाफजुट बालबालिकाको हितलाई मध्यनजर राखेर कार्य गरिएको बताइन् । ७० जनाको क्षमता भएको बालसुधार गृहमा हाल २०९ जना बालक रहेका छन् । क्षमता भन्दा बढी बालक राखिदा बालकहरुले कष्ठकरण दैनिक बिताउन बाध्य छन् । सुधार गृहमा नयाँ भवन बन्दै गएकोले निर्माण सम्पन्न भए पश्चात केही सहज हुन इन्चार्ज मगरले बताइन् । प्रत्येक बर्ष अग्रेजी महिनाको सेप्टेम्बर १४ तारेखका दिन मनाईने बालअधिकार दिवसका सन्दर्भमा बालसुधार गृहमा बालकहरुलाई उत्पेरणा जगाउने कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमका सहभागीहरुले बालकहरु जान अन्जानमा कानूनी बिवादमा परे पनि उनीहरुलाई बालमैत्री ब्यवहार गरिनु पर्ने, सुधार गृहमा न्यूनतम मापदण्ड पुरा गरि सुधार र जिवनउपयोगी शिपमुलक शिक्षा तालिमको ब्यवस्था हुनु पर्नेमा जोड दिएका थिए ।

२०४७ भाद्र २९ गते तदनुसार सन् १९९० सेप्टेम्बर १४ तारेखका दिन नेपालद्धारा बालअधिकार सम्बन्धि महासन्धि १९८९ अनमोदन गरेको दिनको अवसर पारेर नेपालमा लोकतन्त्रको पुनस्थापना भए पश्चात हरेक बर्षको भाद्र २९ गते राष्ट्रिय बाल दिवस मनाउन थालिएको हो । यस बर्षको बालदिवसको नारा ‘बालमैत्री समाजको आधार जिम्मेवार परिवार, उत्तरदायी समाज’ रहेको छ । उल्लेखित नाराका साथ देशै भरि राष्ट्रिय बाल दिवस मनाइरहँदा बालसुधार गृहमा रहेका बालकहरुले भने बालअधिकारको अनुभुति गर्न नपाएको गुनासो गरेका थिए ।

कार्यक्रममा बोल्दै बालसुधार गृहमा रहेका बालकहरुले केही गर्ने जिवनको उर्जावान समयमा चर्को कैदमा बस्नु परेको भन्दै बालबालिकालाई शिक्षा, स्वास्थ्य र शिक्षाको राम्रो प्रवन्ध हुनु पर्नेमा जोड दिएका थिए ।

सुधार गृहकी इन्चार्ज बिमला काउचा मगरले दिएको जानकारी अनुसार कानूनको बिवादमा परेका बालबालिका लक्षित गरि बालन्याय र उनीहरुको आत्मबल बढाउने किसिमको कार्यक्रम गर्ने जानकारी दिइन् ।

कार्यक्रममा सुधारगृहका बालकका साथै बाँके जिल्ला अदालतका न्यायाधीश कानून ब्यवसायी बालअधिकारकर्मी लगायतका सरोकारवालाको सहभागिता रहने सुधार गृहकी इन्चार्ज मगरले जानकारी दिइन् । बालसुधार गृहमा हाल २०९ जना बालबालिकाहरु रहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया