महेन्द्र पुस्तकालयः कसले सम्हाल्ला ऐतिहासिक कार्यभार ?

पश्चिम नेपालकै पहिलो पुस्तकालयका रुपमा ख्याती कमाएको नेपालगन्ज स्थित महेन्द्र पुस्तकालयले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न लागेको छ ।

त्यसका लागि साधारणसभा गर्न लागेको पुस्तकालयले आगामी कार्यकालका लागि कार्यसमिति चयन गर्नका लागि आज मंगलबारदेखि निर्वाचन कार्यक्रम सुरु गर्ने भएको हो ।

त्यसका लागि आजदेखि प्रक्रिया सुरु हुने निर्वाचन समितिको कार्यालयले जानकारी दिएको छ । अधिवक्ता लोक बहादुर शाह, वरिष्ठ पत्रकार पूर्ण लाल चुके र रेडक्रसकर्मी झवीलाल शर्मा रहेको निर्वाचन समितिले पुस्तकालय कार्यसमिति निर्वाचनको प्रक्रिया अगाडि बढाएको हो । महेन्द्र पूस्तकालय कार्यसमितिको अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, कोषाध्यक्ष १, सहसचिव १, र सदस्य ६ (कम्तीमा २ महिला) पदका लागि निर्वाचन हुने निर्वाचन समितिका सदस्य पूर्णलाल चुकेले जानकारी दिए । उनका अनुसार, २ सय १२ जना आजिवन सदस्यले निर्वाचन प्रक्रियामा भाग लिन पाउने छन् ।

स्थापनाको ७५ बर्ष पूरा गरिसकेको महेन्द्र पुस्तकालयले पछिल्लो दुई दशकदेखि बेवारिसे जस्तै अवस्थामा पुगेपछि त्यसबारे प्रश्न उठेको हो । सञ्चारमाध्यमले सार्वजनिक रुपमा भैरहेका टिकाटिप्पणीलाई निरन्तर उजागर गरेपछि आजिवन सदस्यहरुले हस्तक्षेप गरी तत्कालीन समिति विरुद्ध नयाँ तदर्थ समिति गठन गरेका हुन् ।

शैक्षिक क्षेत्रका अगुवा बलराम यादवको अध्यक्षतामा बनेको तदर्थ समितिले आजिवन सदस्यता खुला गरी नयाँ कार्यसमितिका लागि निर्वाचन घोषणा गरेको थियो । त्यसक्रममा १ सय ६७ जना आजिवन सदस्य थपिएका छन् ।

‘पुस्तकालयको भविष्य नै कायापलट गर्नेगरी ऊर्जावान टिम जरुरी छ’, आजिवन सदस्य समेत रहेका तदर्थ समितिका सदस्य सनत रेग्मीले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि ५० प्रतिशत युवा टिमले प्रतिनिधित्व गरोस् भन्ने चाहिरहेका छन् ।’ पुरानाका अनुभव र नयाँको जोशलाई एकिकृत गरेर कार्यसमिति बनाउने चाहना रेग्मीको छ ।

वरिष्ठ पत्रकार नरेन्द्र जंग पिटरले पठन संस्कृतिलाई बृहत रुपमा जनमानसमा पुर्याउन पनि पुस्तकालयको कायापलट गरिनु आवश्यक रहेको बताए । ‘त्यसका लागि सबै वर्ग, विचारको प्रतिनिधित्व हुनेगरी सशक्त टिम पुस्तकालयले पाउनु पर्छ’, पिटरले दैनिक नेपालगन्जसँग भने, ‘सहरको मस्तिष्कका रुपमा पुस्तकालयलाई कस्तो बनाउने भन्ने कुरामा सबैको चासो अपेक्षित छ ।’

प्राज्ञ सभा सदस्य समेत रहेका पुस्तकालय तदर्थ समितिका सदस्य हरि प्रसाद तिमिल्सिनाले ढिलै गरी भएपनि पुस्तकालयलाई नयाँ भविष्य दिन लागेको सबैको चासोले मूर्त रुप दिने प्रयास भैरहेको बताए । ‘त्यसका लागि पार्टी राजनीति भन्दा माथि उठेर बौद्धिक ढंगले एकता प्रदर्शन गर्न आवश्यक छ’, भेरी साहित्य समाजका अध्यक्ष तिमिल्सिनाले दैनिक नेपालगन्जसँग भने ।

तदर्थ समितिका सदस्य तिमिल्सिनाले साधारणसभाको तयारी पूरा भएको र सबैबीच साझा चरित्रको कार्यसमिति बनाउने प्रयास रहेको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया