करोडौंको जग्गा २ लाखमा झ्वाम प्रकरण, ६ जना पुर्पक्षका लागि थुनामा


२ लाख रुपैयाँ दिएर जालसाजी गरेर करोडौंको जग्गा पास गराएको आरोप लागेका ६ जनालाई जिल्ला अदालत बाँकेले पुर्पक्षका लागि थुनामा पठाएको छ । गत साता भएको भएको थुनछेक बहसपछि न्यायाधीश धनसिंह महराको इजलासले ६ जनालाई नै पुर्पक्षका लागि थुनामा पठाएको कानुन व्यवसायीले जानकारी दिएका छन् । गत बर्ष सार्वजनिक भएको ठगी प्रकरणका एक जना भने अझै फरार रहेका छन् ।

ठगी सम्बन्धी समाचारपछि प्रहरी उजुरी, अनुसन्धान अदालतमा मुद्दा दर्ता गरिएको थियो । ठगीका विषयमा पटकपटक पीडित पक्षलाई दबाब तथा सहमतिको प्रयास पनि भएका थिए । तर, करोडौंको जग्गा झुक्याएर पास गरिएको भन्दै पीडित परिवारले त्यसलाई अस्वीकार गर्दै आएको थियो । जग्गा पासका लागि अधिकांस प्रक्रिया गरिएपनि केही त्रुटिहरु अनुसन्धानका क्रममा खुलेपछि अनुसन्धान अघि बढेको थियो ।

अदालतले मोहम्मद हनिफ हलवाई, सहाबुद्दिन बेहना, निजामुद्दिन बेहना, साबिर अलि बेहना, राजेश बर्मा, रिजवान अन्सारीलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । यद्यपि जिल्लाको पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश विरुद्ध उच्च अदालतमा पुनरावेदन भैसकेको कानुन व्यवसायीले जानकारी दिएका छन् ।

अदालतमा २ करोड १९ लाख रुपैयाँ बिगो माग दाबी समेत भएको छ । मुद्दा ठगी प्रमाणित भएमा ७ बर्षसम्म कैद हुने व्यवस्था रहेको छ ।

बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नंं २० मनिकापुरका एक ज्येष्ठ नागरिकले २ लाख रुपैयाँ ऋण लिंदा विभिन्न बहाना बनाएर आफ्नो ३० कठ्ठा जग्गा भू माफियाले आफ्नो नाममा पास गराएको दाबी गर्दै आएका छन् । मनिकापुरका ६९ बर्षीय जेष्ठ नागरिक हरिहर खटिकले आफ्ना जेठा छोराले अंश मुद्दा हालेपछि जग्गाको लगत झिक्दा मात्रै आफुले आफ्नो जग्गा अर्कैको नाममा पास भएको थाहा पाएको यसअघि दैनिक नेपालगन्जलाई बताएका थिए ।

खटिकका दुई वटा छोरा छन् । नछुट्टिएको परिवारमा हरिहर र उनको भाउजुको नाममा ६० कठ्ठा जग्गा संयुक्त थियो । जसमध्ये आफ्नो हकको ३० कठ्ठा जग्गा अरुलाई विश्वास गर्दा ल्याप्चेकै भरेमा लुटिएको दाबी हरिहरले गर्दै आएका छन् । बिरामी हुँदा २ लाख लिएको थिए, त्यसपछि विभिन्न कागजमा विभिन्न पटक ल्याप्चे लगाए, पछि जग्गा अर्कैैको नाममा पास भएको थाहा पाएको बताउँदै हरिहरले न्यायिक लडाइ सुरु गरेका थिए ।

खटिकको नाममा दर्ता रहेको कित्ता नं. ४ को ३२२५, कि.नं. २० को २१८०, कि.नं. १११ को ४५७० वर्गमिटर जग्गा २०७७ असोज १२ मा जानकी–३ का सहाबुद्दिन बेहना, नेपालगन्ज–१९ का साबिर अलि बेहना, २२ का राजेशकुमार कुर्मी र ५ का रिजवान अलि अन्सारीले ९० लाख मूल्य राखेर मालपोत कार्यालयबाट राजीनामा पास गरेको देखिन्छ । त्यस्तै २०७७ फागुन १० मा ४९ लाखको ऋण लिएको देखाएर हरिहरसँग कित्ता नं. १०४ को ३५१०, कि.नं. १६८ को ७७०, कि.नं. १७४ को ४५५ र कि.नं. ६६ को ४६० वर्गमिटर जग्गा रिजवान अलि अन्सारीले दृष्टिबन्धक कागज पास गराएका थिए ।
हरिहर खटिक २ लाख भन्दा नलिएको र कागज गर्नुपर्छ भन्दै पटकपटक मालपोत लगेको बताउँदै आएका छन् । उनले झुक्याएर टाप लगाई सम्पत्ति लुटिदिएको बताउँछन् ।

प्रतिक्रिया

प्रतिक्रिया