‘रोक्न सकिन्छ आत्महत्या’

लुम्बिनी प्रदेशमा ५ वर्षमा ६ हजार १ सय ९९ ले आत्महत्या रोजेको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।

हिमाल गैरे

मानसिक रोगको समयमै पहिचान गर्न सक्ने हो भने आत्महत्याका घटना न्यूनीकरण गर्न सकिने सरोकारवाला निकायको उल्लेख्य हस्तक्षेप गर्ने समय आएको विज्ञहरुको छ । आत्महत्याको विषयलाई गम्भिरताका साथ लिने सक्ने र समुदाय स्तरमा सचेतनाका क्रियाकलापहरुको संचालन गर्न सकेमा आत्महत्या धेरै हद सम्म कम गर्न सकिने भेरी अस्पतालका वरिष्ठ मनोचिकित्सक डा. सुमन अर्यालले सुझाए ।

सेप्टेम्बर १० हरेक वर्ष विश्व आत्महत्या रोकथाम दिवस मनाइराख्दा आत्महत्या अझै पनि जनस्वास्थ्यको विषय बन्न नसक्नुले वर्षेनी आत्महत्याले उकालो चढ्दै गरेको प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको डाटाले देखाउँछ ।

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल (सी.एम.सी–नेपाल) का प्राविधिक निर्देशक एंव वरिष्ठ चिकित्सा मनोविद् डा. पशुपति महतले राज्यले आत्महत्यालाई मानसिक रोगका रुपमा चित्रण गरी उक्त समयमा देखिने सोचाई, व्यवहार लगायतका पहिचानका विषयमा सचेतनात्मक क्रियाकलापहरु समुदाय स्तरमा नै गर्न सकिए आत्महत्या रोकथाममा सकरात्मक नतिजा आउने बताए ।

‘सचेतनात्मक क्रियाकलाप संगै पहिचान भएका आत्महत्याका सोंच भएका व्यक्तिलाई उपचारका निम्ती कहाँजाने, यो रोग हो यसको उपचार गर्नुपर्दछ, कहाँ, कसलाई, कुन स्थानमा उपचार प्राप्त गर्न सकिन्छ भन्ने बारे थाहा दिनुपर्नेहुन्छ ।’ डा. महतले दैनिक नेपालगन्जलाई थपे ।

नीतिगत रुपमा समेत मानसिक स्वास्थ्यलाई प्राथमिकता राखी सम्पुर्ण संघिय र प्रादेशिक अस्पतालमा मनोचिकित्सक, मनोविद एंव मनोसामाजिक परामर्शकर्ताको व्यवस्था गरी उपचार सेवालाई व्यवस्था गर्नुपर्ने उनले सुझाए ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी उपरीक्षक खडक बहादुर खत्रीले आत्महत्याको दर बढ्दै जानु सोचनीय बिषय हो । ‘यसलाई जनसरोकारकै विषय बनाएर हरेक तह, परिवार र समुदायमा सचेत गराउनुपर्दछ ।’ उपरीक्षक खत्रीको सुझाव छ ।

लुम्बिनी प्रदेशमा ५ वर्षमा ६ हजार १ सय ९९ ले आत्महत्या रोजेको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा आर्थिक वर्ष २०७४/०७५ मा १ हजार ७९, २०७५/०७६ मा १ हजार १ सय ४५, २०७६/०७७ मा १ हजार २ सय ३३, २०७७/०७८ मा १ हजार ४ सय ८ र २०७८/०७९ मा १ हजार ३ सय ३४ ले आत्महत्या रोजेको प्रहरीको डाटा छ ।

‘विकास संगै मानिसहरु अत्याधिक महत्वकांक्षी हुँदै गए, घरेलु हिंसा, अप्रावासी कामदारका सवाल, बेरोजगार, बढ्दो सामाजिक संजालको दुरुपयोग लगायतले आत्महत्यामा थप बल प्रदान गरेको छ’ – भेरी अस्पतालकी मनोसामाजिक परामर्शकर्ता कमला कु. डाँगीले भनिन् । उनका विचारमा व्यक्तिमा व्यवहार, सोचाई र कुराहरुका माध्यमबाट आत्महत्या बारे संकेत दिएको समयमा नै पहिचान गरी सुनीदिन, सकरात्मक प्रोत्साहन दिने र आवश्यकता अनुसार औषधी सेवन र मनोपरामर्श सेवाले आत्महत्या रोक्न सकिन्छ ।

‘कम्तिमा आत्महत्याको बारे सोचाई आयो भने आफ्नो मिल्ने व्यक्तिलाई भन्ने वा आत्महत्या रोकथामका निम्ती रहेका ११६६ जस्ता हटलाईनबाट सेवा लिए पनि हुन्छ । तर यस बारे कुरा गरौं’ मनोसामाजिक परामर्शकर्ता डाँगीको जिकिर छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीले स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई तालिमको व्यवस्था गरी मानसिक स्वास्थ्य सेवा विस्तारमा काम भैरेहेको जिकिर गरें । ‘आत्महत्या रोकथाम स्वास्थ्य संस्था वा सरकारी संयन्त्रबाट मात्रै नभई पहिचान गरी परिवार र समाजले यस बारे हातेमालो गरे मात्रै संभव रहन्छ ।’ निर्देशक डा. गिरीले बताए ।

अझै पनि उपचारको व्यवस्थाका कमी, दक्ष जनशक्तिको अभाव, औषधीको उपलब्धता, मानसिक रोगलाई हेरिने नकरात्मक दृष्टिकोण लगायतका कारणले समेत जटिल अवस्था सम्म मानसिक स्वास्थ्यको उपचारमा नजानुले पनि आत्महत्या रोकथाममा समस्या परेको जनस्वास्थ्यविज्ञले बताउने गरेका छन् ।

‘लुम्बिनी प्रदेशमा समेत अझै पनि जनशक्ति अभाव छ । यसले पनि सेवा प्रभावकारीमा जटिलता थपेको कुरालाई स्वीकार गर्दै हामी स्वास्थ्यकर्मीलाई आधारभुत मानसिक स्वास्थ्यको तालिम दिएर, नसर्ने रोगको प्याकेज अन्र्तगतबाट सेवा दिइरहेका छौं ।’ लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले बताए ।

द्वन्द्व, बैदेशिक रोजगारी लगायतले सामाजिक लागत बढाइराखेको छ भन् मानसिक स्वास्थ्य समेत बढ्दै गएको सन्दर्भमा पाठ्यक्रममा यी कुराहरुलाई समेट्दै जानुपर्नेमा सचिव देवकोटाले थपे ‘सामाजिक दायित्व र सामाजिक कारणको खोजी गर्ने, मानसिक स्वास्थ्य र आत्महत्या बारे परिवार बाटै कुराकानी शुरु गर्ने र खुलेर यसबारे काम गर्नुपर्ने बेला आएको छ ।’

नीतिगत रुपमा व्यवस्था भए पनि यस बारे यथोचित कार्यक्रम र बजेटको अभावले मानसिक स्वास्थ्य सेवा सकरात्मक रुपमा उपलब्धी हुन नसकेको अहिलेको अवस्थामा आत्महत्यालाई जनस्वास्थ्यको एक महत्वपूर्ण कामका रुपमा लिए मात्रै आत्महत्या रोकथाम दिवशले सार्थकता पाउनेमा सबैको जोड छ ।

प्रतिक्रिया

प्रतिक्रिया