देशभर पछिल्लो २४ घण्टामा थप एक सय ५२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । यस अवधिमा दुई जनाको संक्रमणका कारण मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा तीन हजार दुई सय ९४ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार एक सय ८६ जनाले पिसिआर र दुई हजार एक सय आठको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौबिस घण्टामा एक सय ३३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै संक्रमण मुक्त हुनेको संख्या नौ लाख ८४ हजार ८२ पुगेको छ । संक्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
हाल सक्रिय संक्रमितको संख्या दुई हजार चार सय ४८ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार १२ पुगेको छ । होम आइसोलेशनमा दुई हजार तीन सय ५९, संस्थागत आइसोलेसन ८९, आइसियू १८ र भेन्टिलेटरमा दुई जना संक्रमित रहेका छन् ।
हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा काठमाडौँ र दुई सयभन्दा बढी संक्रमित रहेको जिल्लामा ललितपुर रहेको छ । शून्य संक्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, दाङ, जाजरकोट, हुम्ला, डोल्पा, मुग, जुम्ला, बझाङ र दार्चुला रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार ४१, ललितपुर चार सय २१ र भक्तपुरमा ३२ सक्रिय सङक्रमित रहेका छन् । कूलमा संक्रमणदर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।