नरैनापुरको विषयमा मन्त्री गहतराजद्धारा उर्जा र कृषि मन्त्रीसँग छलफल, राहत प्याकेजको प्रस्ताव मन्त्रीपरिषदमा लैजान आग्रह
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले आफ्नो निर्वाचन क्षेत्रमा देखिएको समस्याको बारेमा उर्जा र कृषि मन्त्रीसँग छुट्टाछुट्टै छलफल गरेको मन्त्री सचिवालयले जनाएको छ ।
बाँके क्षेत्र नं. १ को नरैनापुरमा देखिएको खडेरीको समस्याका बारेमा मन्त्री गहतराजले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालसँग भेटेर छलफल गरेका हुन् ।
लामो समयदेखीको खडेरीका कारण नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरिएको जानकारी गराउँदै मन्त्री गहतराजले त्यस क्षेत्रमा तत्काल डिप बोर्डिङको ब्यवस्था गरिदिन उर्जा मन्त्री भुसालसँग माग गरेका हुन् ।
सुख्खा क्षेत्र घोषणा भएको नरैनापुरका नागरीकहरुलाई भोकमरीबाट बचाउन तत्काल आवश्यक पहल गर्नुपर्नेमा जोड दिदैं मन्त्री गहतराजले तत्कालकालागि डिप बोर्डिङ र दिर्घकालीन रुपमा सक्टा सिचाइ आयोजना मार्फत नरैनापुरका कृषकहरुलाई सिचाइको ब्यवस्था गर्नेतर्फ उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले विशेष पहल गर्नुपर्ने बताए । जवाफमा उर्जा मन्त्री भुसालले सकारात्मक प्रतिक्रिया दिएको मन्त्री सचिवालयले जनाएको छ ।
मन्त्री गहतराजले बुधबार नै कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवसँग भेटेर नरैनापुरका कृषकहरु लागी तत्काल राहत प्याकेज ल्याउन आग्रह गरे । अर्थ मन्त्री र आफुले समेत त्यस क्षेत्रको स्थलगत निरिक्षण गरिसकेकाले तत्काल राहत प्याकेजको प्रस्ताव क्याबिनेटमा लैजान मन्त्री गहतराजले आग्रह गरेका हुन् ।