कस्तो होला तीजको पुस्तान्तरण ?

सजल गैरे

यतिबेला देश विदेशमा नेपाली महिला दिदीबहिनीहरूको उत्सव चल्दै छ । महान पर्व तीजका नाममा चलिरहेको उत्सव तीज वास्तवमा तीज के हो ? भन्ने प्रश्नभित्र चलिरहेको हुटहुटीले यसबारे जान्न मन लाग्यो । छिमेकदेखि सबैतिर चलिरहेको उत्सवमय चहलपहलबाट मेरो मनमा धेरै खलबली चलिरहेकोले पनि यसबारे जान्नका लागि पढ्ने, बुझ्ने र लागेको कुरा लेख्ने जाँगर चलाएँ । हाम्रो पुस्ता (युवा) तीजलाई कसरी बुझ्दो होला भन्ने मेरो बुझाई प्रतिनिधिमूलक हुन्छ की भन्ने पनि लाग्छ ।

मैले सुनेको र बुझेको अनुसार, हरितालिका तीज भनेको हिन्दू नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो । हाम्रा अग्रजहरु भन्छन्, वैवाहिक महिलाले आफ्नो श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना सहित ब्रत बस्ने गर्छन् । अविवाहित महिलाले सुयोग्य श्रीमान प्राप्त होस् भन्ने कामनासहित निर्जला (पानी पनि नपिइ) ब्रत बसी भगवान शिवको पूजा आयोजना गरी मनाइने पर्व हो तीज ।

परम्परागत कथन अनुसार, भगवान शिवलाई श्रीमानको रूपमा प्राप्त गर्न हिमालयकी छोरी पार्वतीको कठोर तपस्या गरी बरदान पाएको दिन हुनाले तीजको चलन चलेको जनविश्वास रहिआएको हो । यो पर्वमा भगवान महादेवको पूजाआजा गर्नुका साथै नाँचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । आजको दिनमा शिवमन्दिर र शिवालयहरुमा दर्शनार्थीको विशेष भीड हुन्छ । अझै माइतीको आगनमा तीजको उत्साह अनि चहलपहल हुने, रातो पहिरन, छड्के तिलहरि, पोते, रातो चुरा, मख्मलको टिका लगायत गहनाहरु लगाएर नाँचगान गर्ने न भोक न तिर्खाको सम्झना गरेर आफ्नो नेपाली मौलिकतालाई जगाउने गर्छन् यो उत्सवमा । परम्परागत रुपमा यस्तै चलिआएको बुझिन्छ ।

पत्रपत्रिकाका आलेखहरु अध्ययन गर्दा, तीज प्रति अनेक धारणाहरु प्रकट गरेको पाइन्छ । कसैले ब्रतलाई धर्मका अनुसारमात्रै नलिएर आफ्नो स्वास्थ्यलाई मध्यनजर गर्दै ब्रत बस्नु आवश्यक छ भन्ने गरेका छन् । कतिपयले त महिलाले मात्र किन कठोर ब्रत बस्ने ? कहिले काहिँ श्रीमानले पनि श्रीमतीको सुस्वास्थ्य र दीर्घायुको कामनाका लागि ब्रत बसे हुन्छ नि ! जस्ता प्रश्नहरू लिएर चर्चा बहस गरिरहेका हुन्छन् । कसैका लागि ब्रत बस्नु अघि आफ्नो बारेमा पनि सोंच्नुपर्छ भन्ने पनि भेटिए । मेरो स्वास्थ्यले कति सम्म सक्छ, निर्जल ब्रत बस्दा मलाई कति फाइदा हुन्छ र कति बेफाइदा हुन्छ भन्ने कुराको हेक्का राखेर निर्णय लिनुपर्छ । कोही भने पानीसमेत नपिई कडा खालको ब्रत बस्छु निर्णयमा अटल रहेर तीजलाई मनाउने गर्छन् भने उनीहरुको विश्वासमाथि नकारात्मक टिप्पणी गरिन्ुपर्छ भन्ने चाहिँ मलाई लाग्दैन ।

यति हुँदाहुँदै पनि आजभोलि तीजलाई विकृतिका रुपमा फैलाउन खोजिएको देखिन्छ । पहिले तीज भनेको महिला, दिदीबहिनीहरु मिलिजुली एकअर्कालाई सहयोग गरेर मिठा मिठा पकवानहरु पकाएर रमाइलो गर्थे भन्ने हाम्रा आमा हजुरआमाहरुनै प्रत्यक्ष साक्षी हुनुहुन्छ । सामाजिक जीवनमा त्यसको कति महत्वपूर्ण अर्थ होला ? समाजका सबै वर्ग तह, तप्काका महिलाहरु एकै ठाउँमा भेला भएर, नाँचगान गर्ने रमाउने, अघिल्लो रात आफन्त कहाँ जाने, रमाउने, मज्जाले खानपान गर्ने परम्परालाई अहिले कसले किन यसरी विकृत पार्दैछ ? सोंचनिय छ ।

सहरमा हिजोआज महिलाहरु तीज मनाउन महिनादिन अघिदेखिनै होटलहरुमा गइरहेको पाइन्छ । परम्परागत शैलीका मौलिक गीतको साटो अचेल अन्य थरीका दुईअर्थ लाग्ने गीतहरूको प्रयोगले तीजको माहोल दुषित हुन पुगेको पाइन्छ । अझै टिकटक र फेसबुकमा जथाभावी अपलोड गरिने भिडियोले पनि महिलालाई विवादास्पद बनाइरहेका कुरा हाम्रा सामु चर्चा भइरहेका छन् । यसलाई लिएर आउने टिप्पणी त अभद्र छन्नै प्रतिवाद गर्ने महिलाहरुपनि के कम ? दोहोरीले अझै विकृत बनाइदिएको छ, पर्वलाई ! जुन् पटक्कै राम्रो मान्न सकिन्न ।

दर्शकहरुले यसै शैलीका गीतहरु मन पराउँछन् भन्दै यस्ता बजारमुखी गीतहरूको रचना गर्दै, गाउँदैछन् गायकगायिका । उपभोक्तावादी संगीतले हाम्रो परम्परा र मौलिक संस्कृति मासेकोतिर कस्ले हेक्का राखिदिने होला ? चाहे सबैले मन पराएर घन्किएको गीत किन होस् आफ्नो मौलिकता जगाउने गीत नै राम्रो हुनेगर्छ भन्ने कुरालाई नयाँ पुस्तामा पुस्तान्तरण गरिदिनुपर्ने होइन र ?

तीजका गीत जसले आफ्नो माटो–माइतीको सुगन्ध दिने खालको होस् । माइतीको आँगनमा तीजको उत्साह अनि चहलपहल र संगैका संगीतका साथ माइती गाउँका आफन्त प्रियजनहरु सँगको भेटघाट लगायतका रमाइला गरिने चलनहरु फेरिन लागेको देखिन्छ । अहिले माइती नजाने बरु साथीहरुसँग भेट गरौं, रमाइलो गरौं भन्ने अनौपचारिक योजना बन्दैछन् । छिमेकी साथीहरूको भेटघाटका कार्यक्रममा फलानो होटलमा जान्छु भन्ने कुराहरु आजभोलि सुनिँदैछन् । त्यस्ता जमघट बढ्दैछन् । यसले हामीलाई सहि ठाउँमा पुर्याउला र ? मलाई त लाग्दैन, यसले हाम्रो संस्कार र संस्कृतिको जगेर्ना गर्ला !
यो पर्व नजिकिँदा व्यापारीदेखि उपभोक्ता सम्मलाई साँस्कृतिक कुराभन्दा बजारमा कस्तो चुरा, पोतेको, सारी,,गहनाको माग छ भन्ने कुरामै बढी चासो हुन्छ । ‘भाइरल’ साडीका नाममा व्यापारीहरु मोटाउने हाम्रो पर्वको ध्येय हो र ? समय फेरिंदै जाँदा पहिरन र गरगहना अरूको ट्रेन्ड पनि हो बदलिँदै जाँदो रहेछ । सक्ने मान्छेले त किन्ला तर नसक्नेलाई कस्तो महसुस होला भन्ने बारेमा कसैले किन सोच्दैनन् ? चार दिन त हो किन अरूको मन खिन्न पारिदिने भन्ने चाहिं मेरो कुरा ! जे होस् हरेक चाडपर्वले लिएर आउने भनेकै खुसी हो । आफ्नो घरमा मात्र खुशी मनाएर मात्र वास्तविक खुसी स्थायी हुँदैन । मन सबैले रमाएको देख्दा मन आफै खुशी हुन्छ, हुनुपर्छ । त्यसैले तीजलाई भड्किलो रुपमा मनाउनु भन्दा सभ्य रुपमा मनाउनु पर्नेमा जोड दिनुपर्छ कि भन्ने लाग्छ ।

अन्तमा, तीजलाई साँस्कृतिक पर्वमात्रै भन्दा महिला सशक्तिकरणको प्रतिकको रुपमा लिन सकिन्छ की ? विरोध वा विद्रोहका स्वरमात्रै भन्दा हिजो अभिव्यक्ति स्वतन्त्रता अभावमा गीतमार्फत पीडा पोख्दै आएका आमा हजुरआमाका सन्देशलाई अब सशक्तिकरणका अभिव्यक्तिमा रुपान्तरण किन नगर्ने ? ब्रतका धार्मिक–साँस्कृतिक मूल्यमान्यतालाई युग र विज्ञानसापेक्ष पुनर्भाषित गरेर ती जस्ता पर्वहरुको युगौयुगका लागि गतिलो अनि स्थायित्वको चेत दिन सकिन्न र ? अगुवा महिलाहरुले परम्पराको निरन्तरताका नाममा होस् वा कथित परिवर्तनका नाममा साँस्कृतिक विकृति तथा विचलन ल्याउनुभन्दा यसतर्फ सचेत बहस थालौं भन्ने लाग्छ । सबैलाई तीजको हार्दिक मंगलमय शुभकामना !

प्रतिक्रिया

प्रतिक्रिया