बर्दिया\भावुक योगी
आइतबारदेखि परेको अबिरल वर्षाका कारण बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ को कर्मेला रजकुना गाउँ र वडा नम्बर २ को अम्रेनी गाउँका गरि ४३ घर डुबानमा परेका छन् । ठाकुरबाबा ७ को कर्मेला रजकुना गाउँका ३ घरका वृद्धवृद्धा, महिला र बालबालिका गरि १० जनालाई नेपाल प्रहरी, नेपाली सेना र बर्दिया राष्ट्रिय निकुञ्जसहितको टोलीले रबर बोटको सहायताबाट सकुशल उद्दार गरेको नगरप्रमुख तिलकराम लम्सालले जानकारी दिए ।
वडा नम्बर ७ कर्मेला रजकुना गाउँमा २२ घर डुबानमा परेका छन् भने वडा नम्बर २ अम्रेनी गाउँमा २१ वटा घर डुबनामा परेको छन् । रातभर परेको अविरल वर्षाका कारण बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको बाढि गाउँमा पस्दा डुबानमा परेकाले तत्काल निकुञ्जसंग समन्वय गरेर तटबन्ध गर्ने नगरप्रमुख तिलकराम लम्सालले बताए ।
वडा नम्बर ७ मा बाढीका कारण घरभित्र फंसेका १० जनालाई उद्दार गरि शिवशुन्दर माध्यामिक विद्यालयमा राखिएको र खाजा खानाको व्यवस्था मिलाईएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजालले बताए । अन्य डुबान प्रभावित घरपरिवारलाई पनि खाजा र खानाको व्यवस्था मिलाउन नगरपालिकाको टोली डुबानग्रस्त गाउँमा खटिएको उनले बताए ।
बाढि आएको खबर पाए लगत्तै ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्साल, वडा नम्बर ७ का वडाध्यक्ष कलम विष्ट र वडा नम्बर २ का वडाध्यक्ष कमल चपाईँसहितको टोली डुबान क्षेत्र पुगेको हो ।
यसैगरि वडा नम्बर ४ को खैलार गाउँ नजिक आइतबार राती बबइ नदी किनारमा फंसेका २ जनालाई पनि इलाका प्रहरी कार्यालय भुरिगाउँको टोलीले ट्युव र डोरीको सहायताबाट उद्धार गरिएको नगरप्रमुख लम्सालले जानकारी दिए । ठाकुरबाबा नगरपालिका आसपासका केहि घरमा बाढि पसेको छ । घरमा बाढी पसेपछि भकारी र डेहरीमा भण्डारण गरि राखेको खाद्यान्न भिजेर नष्ट भएको छ । स्थानीयको माछा पोखरीमा बाढी पस्दा माछा बगेका छन् भने २ वटा भान्सासमेत भत्किएको छ । नगरप्रमुख लम्साल, नेपाल प्रहरीसहितको टोलीले डुबान क्षेत्रको अनुगमन गरेको छ ।
बर्दिया निकुञ्ज भित्रको जंगलबाट आएको बाढीका कारण ठाकुरबाबा नगरपालिका वडा नम्बर १, २ ६, ७, ८ का केही गाउँ हरेक वर्ष डुवानमा पर्ने गरेका छन् । जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका प्रहरी हवल्दार राजेन्द्र रावलका अनुसार बबई नदीसहित स्थानिय खोलामा विहान सर्तकता तहसम्म बाढी आएको भएपनि अहिले घट्दो क्रममा रहेको छ ।
अबिरल वर्षाका कारण स्थानिय खोला र नदीमा पानीको सतह बढेकाले बाढी पस्न सक्ने बबई नदी किनारका बासिन्दालाई उच्च सर्तकर्ता अपनाउन जिल्ला प्रशासन कार्यालय बर्दियाले आग्रह गरेको छ भने नदी किनारमा काठदाउरा छोप्न र माछा मार्न नजान पनि आग्रह गरेको छ । जिल्लाभर उद्दारका लागि सुरक्षाकर्मीलाई पनि तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कर्यालय बर्दियाले जनाएको छ ।