पछिल्ला दिन नेपालगन्ज उपमहानगरपालिका न्यूरोडबाट लक्ष्मी चलचित्र मन्दिर प्रवेश गर्ने ठाउँमा रहेको चाइना बजारको जग्गा विवादमा छ । व्यक्तिको दाबी, यसअघिको उपमहानगरपालिकाको निर्णय, गाउँ ब्लक तथा बहालविटौरी रहेको, सार्वजनिक जग्गा लगायतका विषयले उक्त क्षेत्रको कित्ता नं. २५ विवादित छ ।
करिब १० करोड जग्गाको मूल्य रहेको र त्यसलाई उपमहानगरपालिका मातहत ल्याइएको आइतबार नेपालगन्ज उपमहानगरपालिकामा पत्रकारहरुलाई उपप्रमुख कमरुद्दिन राईले जानकारी दिएका छन् । ‘गलत मनसायले तत्कालीन बोर्डले लोभलालचमा परेर व्यक्तिको नाममा लालपुर्जा समेत बन्नेगरी निर्णय गरेको पाइएको छ’, उनले पत्रकारसँग भने, ‘उक्त जग्गा नागरिककै लागि प्रयोग हुनेछ तर त्यो व्यक्ति विशेषको भने होइन ।’
यद्यपि तत्कालीन नेपालगन्ज उपमहानगरपालिका बोर्डले निर्णय गर्दा भने भोगाधिकार दिने निर्णयमा कित्ता नं. २५ र सोही ठाउँ भन्ने एकिन भने गरिएको छैन । ‘कन्फ्युजन क्रियट गरेर सरकारी, सार्वजनिक जग्गा व्यक्तिका नाममा पुर्याउने खेल भएको हो’, उपमहानगरपालिकामा आयोजित पत्रकारहरुसँगको भेटका बेला उपस्थितले आशंका जताए ।
नेपालगन्ज उपमहानरपालिकाका प्रमुख प्रशान्त विष्टले एक दशक उक्त जमिनबाट नगरपालिकाले भाडा लिइरहेको अवस्थामा तत्कालीन उपमहानगरपालिकाको निर्णयपछि रोकिएको भन्दै अब पुनः उक्त जग्गा मातहत ल्याइएकाले त्यसको आम्दानी उपमहानगरपालिकामा जम्मा हुने स्पष्ट पारे । ‘जग्गा उपमहानगरपालिकाको हो भन्नेमा स्पष्ट छौं, कसैको प्रमाण छ भने अदालत जाँदा हुन्छ’, नगर प्रमुख विष्टले भने, ‘अख्तियारले समेत चासो देखाएको र भोलिका दिनमा मुद्दा परे फैसला बमोजिम हुनेछ ।’
उपप्रमुख राईले भने स्थानीयबासीसँग छलफल नगरी, वडाको सिफारिस विना व्यक्तिलाई हकभोगको निर्णय गरिएको भन्दै तत्कालीन नगर प्रमुख सहित कार्यपालिकाको आलोचना समेत गरे । ‘हामी अब अन्य ठाउँमा रहेका जग्गाहरुबारे समेत चासो राखेर खोजी गर्नेछौं’, उपप्रमुख राईले भने ।
नेपालगन्ज उपमहानगरपालिकाको पूर्व कार्यपालिकाले घनश्याम बानियाँलाई १.२५ धुर जमिनको भनेर निर्णय गरेको थियो । कित्ता नम्बर २५ सोही जग्गा भएको दाबी गरिएको छ । उक्त जग्गामा अन्य व्यक्तिहरुले समेत दाबी गरिरहेको बताइएको छ । उपमहानगरपालिकाले कसैको पनि प्रमाणले कित्ता नम्बर २५ उनीहरुको हो भन्ने प्रमाणित नगर्ने नगर प्रमुख विष्टले जानकारी दिएका छन् ।