‘बजेट कम भए थपिंदै जान्छ,’ उपप्रमुख कमुद्दिन राईले दैनिक नेपालगन्जसँग भने, ‘धार्मिक गन्तव्यका दृष्टिले महत्वपूर्ण स्थानका रुपमा रहेकाले बागेश्वरीलाई सक्दो आकर्षक बनाउँदै जाने हो ।’
नेपालगन्जको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर परिसरमा रहेको जुंगे महादेव जाने मन्दिर जीर्णोद्वार हुने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आन्तरिक बजेटबाट मन्दिरको स्वरुप नबिगारेर महादेवको मन्दिर तथा पुल जीर्णोद्वार गरिने नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए ।
नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले महादेव मन्दिर तथा पुलको संरचना जीर्ण हुँदा भक्तजनहरु समेत जोखिममा पर्ने भएकाले चालु आर्थिक बर्षभित्रै जीर्णोद्वार हुने गरी काम अगाडि बढाउने बताए । ‘त्यसकालागि दुई करोड बजेट विनियोजन गरेका छौं’, नगर प्रमुख विष्टले भने, ‘टेण्डरको तयारीमा उपमहानगरपालिका रहेको छ ।’
‘बजेट कम भए थपिंदै जान्छ,’ उपप्रमुख कमुद्दिन राईले दैनिक नेपालगन्जसँग भने, ‘धार्मिक गन्तव्यका दृष्टिले महत्वपूर्ण स्थानका रुपमा रहेकाले बागेश्वरीलाई सक्दो आकर्षक बनाउँदै जाने हो ।’ नेपालगन्ज धार्मिक सद्भावको सहर भएकाले अन्य धर्मका आस्थाका केन्द्रलाई पनि सोही अनुसार विकासका लागि बजेट व्यवस्था मिलाइएको राईको भनाइ छ ।
यसअघि जुँगे महादेव मन्दिरसम्म पुग्ने पुल जीर्ण भएपनि पटक–पटक बनाउने प्रयास बेवास्ताका कारण सफल हुन सकेको थिएन । तत्कालीन पुनरावेदन अदालत बाँकेले २०७३ असार २२ मा एउटा आदेशमा जुँगे महादेव जाने जीर्ण पुलको पुनःनिर्माण गर्न आदेश समेत दिएको थियो ।
बागेश्वरी मन्दिरको व्यवस्थापनका सन्दर्भमा अदालतमा रिट समेत दायर गरेका अधिवक्ता लोक बहादुर शाहले लामो समयसम्म पनि अदालतको फैसला कार्यान्वयन नहुनु दुर्भाग्यपूर्ण भएको बताउँछन् ।
‘पटकपटक बागेश्वरी मन्दिरको व्यवस्थापनका सन्दर्भमा सरोकारवालाहरु बीच कुरा उठाएको छु, अदालतको फैसला बारेमा समेत जानकारी गराएको थिए’, अधिवक्ता शाह भन्छन्, ‘तर, अदालतको आदेशको कार्यान्वयन पक्ष फितलो हुनु दुःखद् हो । ‘सम्मानित अदालतले फैसला गरिसकेको विषयमा सरोकारवालाहरु गम्भीर हुनुपर्छ’, अधिवक्ता शाह भन्छन्, ‘पुल पुनः निर्माणको विषय दर्शनार्थीको सुरक्षा सँगै मन्दिरको सौन्दर्यकरणमा पनि जोडिएको विषय हो ।’
बागेश्वरी मन्दिर क्षेत्रमा रहेको खडेश्वर (जुंगे) महादेवको मन्दिर तलाउको बीचमा रहेकाले पुलबाट आवातजावत हुने गर्दछ । संघ, प्रदेश र स्थानीय तहले बागेश्वरी मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको सूचिमा अग्र स्थानमा राख्छन् । मन्दिर नेपालगन्जको समृद्धिको एउटा आधार बन्न सक्ने पनि संघ, प्रदेशका मन्त्री देखि स्थानीय तहका जनप्रतिनिधि, पयर्टन व्यवसायी लगायतबाट औपचारिक कार्यक्रममा धारणा सार्वजनिक हुँदै आएको छ ।
संघीय सरकारले नेपाल भ्रमण बर्षमा सय गन्तव्यको सूचि जारी गर्दा नेपालगन्जको बागेश्वरी मन्दिरलाई पनि राखेको थियो । प्रदेश सरकारले पनि धार्मिक पर्यटक आकर्षित गर्न सकिने क्षेत्रका रुपमा बागेश्वरीलाई राखेको छ । तर, मन्दिरको विकासमा ठूला योजना न त संघ, न प्रदेश र न स्थानीय तहले ठोस ठूला योजना ल्याउन सकेका छैनन् ।
पर्वका बेला मन्दिरमा घुइँचो लाग्ने गर्दछ । त्यसैले एकै पटक सबैलाई प्रवेश दिइँदैन । लाइनमा सीमित व्यक्ति पुल पार गरेर खडेश्वर महादेवको पुजाअर्चना गर्न दिइयो यसपटकको साउनको पहिलो सोमबारमा । २०७८ साउनमा त महादेवको प्रवेशद्वारमा नै पुजाआजाको व्यवस्था मिलाई पहिलो महादेवको मूर्तिसम्म पुग्नका लागि रोक नै लगाइएको थियो ।
पुल निर्माणका २०७३ सालमा योजना अघि बढाएपनि कार्यान्वयन भने हुन सकेको थिए । २०७४ बैशाख १५ गते पुलको डिजाइनका सम्बन्धमा सर्वपक्षीय छलफलसमेत गरिएको थियो । तत्कालीन समयमा एरिना डेभलपमेन्ट कन्सल्ट प्रालिले तयार गरेको डिजाइनबारे छलफल गरिए पनि त्यसपछि काम भने अघि बढ्न सकेको थिएन ।
आर्थिक वर्ष २०७५/०७५ मा जिल्ला समन्वय समितिले खडेश्वर महादेव मन्दिरमा जानका लागि पुन निर्माण गर्न भन्दै २० लाख बजेटसमेत विनियोजन गरेको थियो । जुँगे महादेवको मन्दिरलाई बागेश्वरी मन्दिरकै ढाँचामा र पुललाई दुई लेनको बनाउने मोडेल तयार पारिए पनि कार्यान्वयन हुन सकेको छैन ।
पुलको निकास एकैतर्फ राख्ने गरी एक तर्फबाट जाने र अर्को तर्फबाट आउने ब्यवस्थासहितको अत्याधुनिक मोडेलको पुल बनाउने तयारी गरिए पनि सो अनुसार काम भने अघि बढ्न नसकेको मन्दिर व्यवस्थापन समितिले बताउँदै आएको छ । मन्दिरमा दैनिकजसो लाग्ने भीडका कारण पनि पुलप्रति स्थानीयको चासो बढेको छ ।