खण्डहर हुँदै छापाखाना, बजारमा पुस्तक अभाव


बजारमा पाठ्यपुस्तक अभाव छ । यो बर्ष मात्रै होइन जनक शिक्षा सामाग्रीबाट छापिएर वितरण हुने पुस्तकको प्रत्येक बर्ष अभाव हुने गरेको छ । बाँकेको खजुरामा जनक शिक्षा सामाग्री केन्द्रको छापाखाना रहेको छ । भौतिक पूर्वाधार बनेको छ । छाप्नका लागि मेसिन, कागज भण्डारणका लागि भवन निर्माण भैसकेको छ । निर्माण गरिएको भवन र पूर्वाधार खण्डहर हुँदै गएको छ । जनक शिक्षाको खजुरामा रहेको छापाखानामा पुस्तक छापिंदैन, त्यो खण्डहर भैरहेको छ, अर्को तर्फ बाँके जस्तो सुगम क्षेत्रमै पाठ्यपुस्तकको अभाव हुने गरेको छ ।

जनक शिक्षा सामाग्री केन्द्रको एउटा मात्रै छापाखाना रहेको छ । देशभरका कक्षा ४ देखि १० र ११ र १२ कक्षाका पाठ्यपुस्तक छाप्ने जनक शिक्षाले निर्वाचनका बेला मतपत्र समेत छाप्दै आएको छ । जनक शिक्षाले प्रत्येक शैक्षिक सत्रमा आवश्यक पर्ने पुस्तकबारे पहिले नै एकिन गर्ने भएपनि समयमा भने पुस्तक विद्यार्थीको हातसम्म पुर्याउन सकेको छैन ।
बाँकेको खजुरामा जनक शिक्षाको छापाखानाको योजना २०५८ सालमै बनेको बताउँछन् जनक शिक्षा सामाग्री केन्द्र नेपालगन्जका प्रमुख रविन्द्र शर्मा । जनक शिक्षाका पूर्व प्रबन्धक रमेशनाथ जोशीले पुनर्बास कम्पनीसँग चार विगाह जमिन खरिद गरेर छापाखानाको प्रक्रिया अगाडि बढाएका थिए ।

योजना अनुसार छापाखानाका लागि विभिन्न पूर्वाधार बनेका छन् । बेलाबेला छापाखाना सञ्चालनको विषय चर्चामा आउने गरेको छ । तर, कार्यान्वयन पक्ष निकै कमजोर पाइन्छ । ‘भवन, गोदाम बिल्डिङ, वेभ मेसिन तथा आवश्यक विद्युतीकरण भैसकेको छ’, केन्द्रका नेपालगन्ज प्रमुख शर्मा भन्छन्, ‘एउटा कलर मेसिन र जनशक्ति राख्ने हो भने छपाई सुरु गर्न सकिन्छ ।’

‘छापाखाना सञ्चालनमा ल्याउने हो भने आवश्यकता अनुसार बढाउँदै लग्न सकिन्छ’, उनले भने, ‘छापाखानाका लागि बजेट समेत विनियोजन ठूलो चुनौति होइन, तर सञ्चालनको इच्छा केन्द्रबाट नै देखिएन ।’ केन्द्रको छापाखाना नेपालगन्ज भन्सारसँग जोडिएको जिल्ला भएकाले आवश्यक कागज र मसी भित्र्याउन पनि समस्या नहुने उल्लेख गर्दै उनी भन्छन्, ‘मसि, कागज यहीबाट भएर काठमाडौं जान्छ, उताबाट छापिएर आउँछ, यसले लागत पनि बढ्छ ।’

जनक शिक्षाको छापाखानाका लागि २०६३/०६४ मा दुई तले भवन बनेको थियो । खजुरा गाउँपालिकाको स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि छापाखानाको सञ्चालनका लागि दबाब बढाइयो । दबाबकै कारण विं.सं. २०७६ सालदेखि खजुरा स्थित जनक शिक्षाको छापाखानाबाट पुस्तक छापाईको तयारी गरिएको थियो । दुई बर्ष कोभिडले पनि असर गर्यो । तर, अहिलेसम्म पनि छापाखाना सञ्चालनको कुनै सुरसार रहेको पाइँदैन ।


खजुराबासीले पनि पटकपटक जनक शिक्षा सामाग्री केन्द्रको छापाखाना सञ्चालनको माग गर्दै आएका छन् । छापाखाना सञ्चालनले सय बढीलाई रोजगारी दिनसक्ने अपेक्षा रहेको छ । विगतमा कोभिडका बेला केन्द्रको गोदाम भवनलाई आइसोलेसनका रुपमा समेत प्रयोग गरिएको थियो ।


जनक शिक्षाको छापाखाना सञ्चालन अलपत्र रहेका बेला बाँकेमा भने पाठ्यपुस्तकको अभाव देखिएको छ । शैक्षिक सत्र बितेको महिनौं बितिसक्दा पनि विद्यार्थीको हातमा किताब पुगेको छैन ।


जनक शिक्षा सामाग्री केन्द्र नेपालगन्जका प्रमुख शर्मा कक्षा ६ र ८ को केही किताबको आपूर्ति गर्न नसकिएको बताउँछन् । पुस्तक व्यवसायीका अनुसार, कक्षा ६ को इङ्गलिस, कक्षा ८ को विज्ञान, सामाजिक, नैतिक पेशा पुस्तक अभाव रहेको छ ।
सरकारले १ देखि ३ कक्षासम्मका पुस्तक छपाईको जिम्मा निजी क्षेत्रलाई दिएका कारण समस्या छैन । तर, कक्षा ४ देखि १० र ११ तथा १२ कक्षाको किताबको आपूर्तिमा समस्या हुने गरेको हो ।


नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँके वरिष्ठ उपाध्यक्ष सागर ज्ञवाली भन्छन्, ‘किताबका लागि व्यवसायीसँग सम्पर्क गरिरहनु भएको छ, हामीले सम्बन्धित निकायमा माग पनि गरेका छौं तर उपलब्ध नहुँदा विद्यार्थीको हातमा पुस्तक पुर्याउन सकेका छैनौं ।’


कक्षा ११ र १२ को अध्यापन पनि सुरु भैसकेको छ । जनक शिक्षा मार्फत नै छपाई भएका नेपाल, सामाजिक, अनिवार्य अंग्रेजीका किताब विद्यार्थीको हातमा पुगिसक्नु पर्ने बेला हो । तर, अब उक्त पुस्तकको पनि अभाव हुनसक्ने पुस्तक व्यवसायी बताउँछन् ।


जनक शिक्षा सामाग्री केन्द्र नेपालगन्जका प्रमुख शर्मा कक्षा ११ र १२ को पुस्तकको स्टक नरहेपनि एकलट पठाइसकेकाले समस्या भैहाल्ने अवस्था नभएको दाबी गर्दछन् । बाँकेमा सरकारी पुस्तक बिक्रीका लागि डिपो रहेका छन् । पाठ्यपुस्तक व्यवसायी सम्बद्ध डिपोबाट पुस्तक व्यवसायीले पुस्तक लिएर विद्यालयसम्म पुर्याउने गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया