आगलागी नियन्त्रणमा चुनौति नै चुनौति


नेपालगन्ज बजार क्षेत्रमै कतिपय ठाउँमा आगलागी भए दमकल पुग्न सक्ने अवस्था छैन । त्यस्ता ठाउँमा दमकल नजाँदा अन्य कुन विधि प्रयोग गर्ने कोहीपनि जानकार छैनन् । जोखिमको पूर्व तयारी नै पाइँदैन । आगलागी नियन्त्रणमा सीमित जनशक्ति रहेको नेपालगन्जमा भोलिका दिनमा बजारमा हुने आगलागी नियन्त्रणका लागि न पानीको उपलब्धता सहज छ न त अन्य कुनै प्रविधि थपिएको छ ।

रेडक्रसको आयोजना यूरोपियन यूनियनको आर्थिक सहयोग र यूनिसेफ नेपालको साझेदारीमा भएको सरोकारवालाहरुसँगको छलफलमा आगलागीको जोखिम, नियन्त्रणका उपायमा रहेका चुनौति लगायतका बारेमा छलफल गरिएको हो । कार्यक्रममा नेपालगन्ज आगलागी भैहाले नियन्त्रणका लागि जटिल रहेका क्षेत्रहरुको पहिचान गरी सोही अनुसारको योजना बनाउनका लागि अवलम्वन गर्नुपर्ने उपायहरुका सुझाव दिइएको थियो ।

शहरी विपद् तथा भुकम्पीय पूर्व तयारी परियोजना (सुपर) परियोजना अन्तर्गत अग्नि नियन्त्रण उपकरण, जनशक्ति तथा सेवा प्रवाह सम्बन्धमा सरोकारवालासँगको समन्वयत्मक बैठक तथा क्षमता विश्लेषण कार्यक्रमको सहजीकण गर्दै सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बैठकबाट उठेका विषयलाई सरोकारवाला निकायसम्म पुर्याएर त्यसको निराकरण गरी दीर्घकालीन योजना सुपर परियोजनाको उद्देश्य रहेको जानकारी दिए ।

कार्यक्रममा नेपालगन्जका अग्नि नियन्त्रकहरुले नेपालगन्ज उपमहानगरपालिमा ३ वटा दमकल रहेको जानकारी दिएका थिए । उनीहरुले दमकल अनुसार जनशक्ति नरहेको भन्दै थप जनशक्ति आवश्यक रहेको बताएका थिए । हाल अग्नि नियन्त्रणका लागि चालक ३ जना, फायरमेन ८ जना, इन्चार्ज २ जना रहेका छन् । कार्यक्रममा ३ जना चालक, १२ जना फायरमेन, पालिका भन्दा बाहिरजाँदा भत्ताको व्यवस्था गरिनुपर्ने माग गरेका थिए ।

अग्नि नियन्त्रकहरुले नेपालगन्जमा अग्ला घरहरुको बनेको, बस्ती बढ्दै गएकाले स्तरीय दमकल, सञ्चारसेट, दमकलका लागि पानी भर्न ठाउँठाउँमा व्यवस्था, सुविधायुक्त सडक, सडकमा दमकल हिड्दा बाटो छाड्नु पर्ने व्यवस्था आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा परियोजनाका शिव सुवेदीले कार्यक्रमको उद्देश्य बारे जानकारी दिंदै वडा नं. ३ र ७ मा आगलागीको जोखिम अध्ययन भैरहेको र ४ जनालाई आगलागीको जोखिम विरुद्ध विभिन्न खालका तालिम दिने योजना रहेको बताएका थिए ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत अग्नि नियन्त्रणमा खटिने कर्मचारी, नगर प्रमुख, जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, सशस्त्र प्रहरी, उपमहानगरपालिकाका कर्मचारी, परियोजना सम्बद्ध पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले आपतकालीन कार्यसञ्चान केन्द्रको आवश्यकता, गठनको अवस्था र त्यसको क्रियाशिलताबारे बोलेका थिए । उनले परियोजना अन्तर्गत आपतकालीन कार्य सञ्चालन केन्द्रलाई सक्रिय बनाउने लक्ष्य रहेको बताएका थिए । केन्द्रले दैविप्रकोपजन्य विपद्को पूर्व तयारी, विपद्का बेला उद्दार र त्यसपछिको अवस्थामा अवस्था सामान्य बनाउन पुनस्र्थापना तथा आवश्यक नीति तथा नियम बनाउन सरोकारवाला निकायमा सहजीकरण गर्ने व्यवस्था छ ।

प्रतिक्रिया

प्रतिक्रिया