प्रदेशमा पर्यटन प्रवर्द्धन, ‘निजी क्षेत्रसँग सहकार्य’

लुम्बिनी प्रदेशमा दिगो पर्यटन विकासका सम्भावनाहरु विषयक एक दिने गोष्ठी नेपालगन्जमा



लुम्बिनी प्रदेशका पर्यटन मन्त्री डिल्ली चौधरीले लुम्बिनी प्रदेशमा पर्यटकीय क्षेत्र पहिचान, प्रवद्र्धन तथा आवश्यक ऐन, कानुन निर्माणमा निजी क्षेत्रसँग सहकार्य गर्ने बताएका छन् । पर्यटन विकास परिषद्को आयोजना तथा नाट्टा बाँके च्याप्टरको सहआयोजनामा भएको कार्यक्रममा बोल्दै परिषद्का अध्यक्ष समेत रहेका चौधरीले लुम्बिनी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै मन्त्री चौधरीले पर्यटन व्यवसायीका लागि सरकारले लगानी गर्न नसकेपनि पर्यटन प्रवद्र्धनको क्षेत्रमा लगानी गर्ने बताएका थिए । ‘हामीले पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि व्यवसायिक वातावरण बनाउने हो’, उनले भने, ‘त्यसका लागि आवश्यक ऐन, नियम, कानुन र योजना हामी बनाउनेछौं ।’

‘अहिले हामीले पर्यटन व्यवसायीसँग छलफल गरेर पर्यटन सम्बन्धी कानुन ड्राफ्ट गरेका छौं’, मन्त्री चौधरीले भने, ‘लागु गर्नुअघि पुनः पर्यटन व्यवसायीसँग छलफल गर्नेछौं ।’ मन्त्री चौधरीले पर्यटन क्षेत्रमा रहेको असन्तुष्टि व्यक्त गर्नुभन्दा आगामी दिनमा कसरी अगाडि बढ्ने भनेर सुझाव दिन आग्रह गरे । ‘पर्यटकीय क्षेत्र प्रवद्र्धन कसरी गर्ने त्यसमा सुझाव दिनुस्’, मन्त्री चौधरीले भने । मन्त्री चौधरीले बाँकेका विभिन्न पर्यटकीय क्षेत्रको सम्भावना बोकेका ठाउँहरुको नाम लिंदै दीगो पर्यटन विकासका लागि योजना बनाउने प्रतिबद्धता जनाए । उनले सबै ठाउँ पर्यटकीय क्षेत्र हुन नसक्ने भएकाले दीगो रुपमा पर्यटकीय सम्भावना बोकेको क्षेत्रको विकास गरिने बताए ।

नाट्टा बाँके च्याप्टरका सचिव झवि शर्माले सञ्चालन गरेको कार्यक्रममा मन्त्री चौधरीले जमुनाहमा पर्यटन इन्फरमेशन सेक्टर राम्रो बनाउन पहल गर्ने, बर्फानीबाबाको प्रवद्र्धनमा सहयोग गर्ने, बागेश्वरी मन्दिरमा आरती, कल्चरल पर्यटन प्रवद्र्धन, बाघ टुरिजम, हिलिस्टेशन लगायतका सम्भावना रहेको बताएका थिए । उनले बाँकेमा थारु, रोल्पा रुकुममा थारु, मगर संस्कृति प्रवद्र्धन, मौलिक खानाको प्रवद्र्धनबाट पर्यटकीय प्रवद्र्धन गर्न सकिने सम्भावना व्यक्त गरेका थिए ।


मन्त्री चौधरीले होमस्टेदेखि ठूला स्तरीय होटलको समन्वय गर्न आवश्यक रहेको बताएका थिए । उनले प्रदेशबाटै मिनि क्यासिनो, निजी केवलकारको अनुमति दिनका लागि आवश्यक तयारी गरिरहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण आचार्य, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, राप्तीसोनारी गाउँपालिकाका प्रमुख तप्प पौडेल, नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान प्रमुख डा. धवल समशेर राणाले बाँकेमा पर्यटन भित्र्याउन सकिने सम्भावित क्षेत्र उल्लेख गर्दै त्यसको प्रवद्र्धनका आधारहरुबारे उल्लेख गरेका थिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवि ओलीले पर्यटक भित्र्याउन निश्चित क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने हो भने दिगो विकास हुने बताएका थिए । उनले बाँके राष्ट्रिय निकुञ्ज, अगैया लगायतलाई जोडेर जंगल सफारीको सम्भावना समेत औंल्याएका थिए ।

होटल व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्लेले पर्यटन बोर्डमा निजी क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरे । उनले दिगो पर्यटन विकासका लागि पर्यटन क्षेत्रका काम गरिरहेका निजी क्षेत्रसँगको समन्वय आवश्यक रहेको औंल्याएका थिए ।

होमस्टे संघका महासचिव कृष्ण चौधरीले बाँके, बर्दिया जोडिएकाले दुवै क्षेत्रमा रहेका १ सय ५० बाघलाई पनि पर्यटक आकर्षित गर्नका लागि योजना बनाउन सक्ने बताएका थिए । उनले टाइगर टुरिजम, राप्तीले बगर बनाएका ठाउँमा पर्यटकीय हिसाबले प्रयोग गर्न सकिने सम्भावना, कृषि पर्यटन, कल्चलर पर्यटनको सम्भावना औंल्याए । उनले लुम्बिनी प्रदेशमा मात्रै ७ सय घर होमस्टे रहेको उल्लेख गर्दै रैथाने खानाको व्यवसायिकरण मार्फत होमस्टे ब्राण्डको रुपमा स्थापित भएको बताए ।

डिभिजन वन कार्यालयका प्रमुख अजित कर्णले बाँकेमा जंगल सफारीको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै त्यसका लागि निजी क्षेत्रका होटल पनि अग्रसर हुनुपर्ने बताएका थिए । उनले बाँकेमा रहेको सम्भावनाहरु उल्लेख गर्दै प्रवद्र्धनका लागि योजना बनाउन आग्रह गरेका थिए ।

पत्रकार शंकर खनालले बागेश्वरीमा सन्ध्या आरती मात्रै गर्ने हो भने त्यसले भारतीय पर्यटक भित्र्याउन सक्ने सम्भावना रहेको उल्लेख गरेका थिए । पत्रकार अर्जुन ओलीले राप्तीसोनारीमा रहेको पर्यटकीय सम्भावना बारे चर्चा गरे । पत्रकार दुर्गा रोकायले भएका पर्यटकीय क्षेत्रको संरक्षण र नयाँ क्षेत्रको पहिचानमा जोड दिए । पत्रकार विजय बर्माले ग्रामीणमा बार्षिक लाग्ने मेलालाई ब्रान्डिङ्ग गर्न सकिने तर्फ ध्यानाकर्षण गराएका थिए ।

बर्दिया डल्ला होम स्टेका परशुराम चौधरीले पर्यकीय प्रवद्र्धनका कुरा गर्दा गाउँका होम स्टेलाई बिर्सन नहुने धारणा राखेका थिए ।

सिद्धार्थ गु्रपका केशव न्यौपाने, साइक्लिङ्ग क्लब बाँकेका अध्यक्ष गगन थापाले पनि पर्यटकीय सम्भावनाबारे बोलेका थिए ।
नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईले पर्यटन तथा पर्यटकीय क्षेत्रसम्बन्धी ऐन, कानुन, नीति, नियम बनाउँदा तीन तहकै सरकारसँग नबाझिने हुनुपर्ने बताएका थिए ।

नाट्टा नेपालगन्ज च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले समग्र पर्यटकनको अवस्था सुधारका लागि स्थानीय सरकारका प्रतिनिधिहरु गम्भीर बन्नुपर्ने बताए । उनले जनप्रतिनिधिलाई पर्यटनको महत्नव बुझाउन आवश्यक रहेको औल्याए ।

समस्या धेरै छन्: डा. रेग्मी
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले पर्यटन क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि काम गर्दा निकै समस्या झेल्नु परेको बताएका छन् । उनले नेपालको सिष्टमले नै एउटै व्यक्तिलाई निर्णय गर्ने अधिकार नदिएकाले एउटा निर्णयका लागि पनि लामो समय लाग्ने गरेको अनुभव सुनाए ।


‘एउटा निर्णयका लागि मन्त्री, सचिव तथा जिम्मेवार अधिकारीले एकले अर्कालाई देखाउने प्रवृत्ति छ’, उनले भने, ‘यसले गर्दा कुनै पनि एउटा सानो निर्णय गराउन पनि समस्या हुने गरेको छ ।’


कार्यकारी प्रमुख डा.रेग्मीले मन्त्रालयमा मन्त्री फेरिरहने, सचिव फेरिइरहने गर्दा एउटा विषयमा एउटालाई सम्झाएर तयार गर्दा अर्को आउँदा पुनः सम्झाउनु पर्ने र सम्झाउँदा फेरी परिवर्तन हुने गरेको समस्या सुनाएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया