नेपालगन्ज उद्योग वाणिज्य संघले भन्यो, यति भएन भने चरणबद्ध आन्दोलनमा जान बाध्य हुनेछौं
राजश्व अनुसन्धान विभाग कोहलपुरले व्यवसायीहरुलाई अनुचित लाभको दबाब दिंदै सताइरहेको गुनासो गरेका उद्योगी व्यवसायीहरुले आइतबार नेपालगन्जको घरबारीटोलमा भएको घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन माग गरेका छन् ।
उनीहरुको छाता संस्था, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दूल वाहिद मन्सुरी र उप–महासचिव धर्मराज अर्यालले प्रेस विज्ञप्ति जारी गरि प्रहरीले पक्राउ गरेका संघका प्रवक्ता टंक धामीलाई २४ घण्टाभित्रै रिह ागर्न र घटनाको स्वतन्त्र छानविन समिति बनाउन सरकारसँग माग गरेको हो । ‘भयरहित व्यापार व्यवसायको अवस्था सिर्जना नगरिए चरणबद्ध आन्दोलन गरिने’ चेतावनी संघले दिएको छ ।
संघको एउटा टोलीले बुधबार पनि प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीसँग भेटघाट गरी राजश्व अनुसन्धानका नाममा व्यवसायीहरुलाई आतंकित पार्ने र अनुचित लाभ लिने काम भैरहेको भन्दै त्यसैको प्रतिवादमा आइतबारको घटना भएको दाबी गरेको थियो ।
‘राजश्व र व्यवसायी बीचको सम्बन्ध नङ, मासुको हुनुपर्छ’, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले राजश्वका कर्मचारीमाथि जाइलाग्नु अनुचित घटना भएको स्वीकार गर्दै भने, ‘के कारणले यो अवस्थाको सिर्जना भयो भन्ने कुरामा राज्य अनविज्ञ रहनु हुँदैन ।’
नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा गएका अगुवा उद्योगी, व्यवसायीहरुले स्वतन्त्र एवं शक्तिशाली समिति गठन गरी घटनाको सम्पूर्ण पक्ष अध्ययन गरेर दोषी जुनसुकै पक्ष भएपनि कानुनी कारवाहीको दायरामा ल्याउनु पर्ने माग गरेका छन् ।
बुधवारबाट नेपालगन्ज उद्योग वाणिज्य संघका प्रवक्ता टंक धामी प्रहरी नियन्त्रणमा छन् । राजश्व अनुसन्धान कार्यालय कोहलपुरका एक जना कर्मचारीमाथि छापा मार्ने क्रममा आइतबार दुव्र्यवहार गरेको आरोप उनीमाथि छ ।
कर्मचारीले उजुरी दर्ता गरेको भोलिपल्ट बुधबार धामी आफै जिल्ला प्रहरी कार्यालयमा पुगेका हुन् । त्यसक्रममा उद्योग वाणिज्य संघका पदाधिकारीहरु पनि उनीसँगै प्रहरी कार्यालय पुगेका थिए ।
आइतबार राजश्व अनुसन्धान कार्यालय कोहलपुरका कर्मचारी बाबुराम पन्थी सहितको टोली घरबारीटोल पुगी विभिन्न पसलबाट अनुचित लाभ लिइरहेको विषय बाहिर आएपछि धामी त्यहाँ पुगेर कर्मचारीलाई धम्क्याएको भिडियो सार्वजनिक भएको थियो ।
‘अति गरेपछिको प्रतिवाद मात्रै हो’, व्यापारीहरु धामीको पक्षमा उनकै पसल पुगेर पक्राउ नदिन दबाब दिंदै भनिरहेका थिए । संघ सँगको परामर्शमा विवादलाई अन्यथा नलम्ब्याउन धामी प्रहरीमा जानु उचित भएको निष्कर्षपछि उनी प्रहरी नियन्त्रणमा पुगेका हुन् ।
‘हामीले तपाई आउनुहुन्छ वा पक्राउ गर्न प्रहरी पठाउँ भनेपछि उहाँ आफै आउनुभयो, राम्रो भयो’, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले दैनिक नेपालगन्जसँग भने, ‘उहाँलाई पक्राउ पूर्जी दिएर अनुसन्धानका थप प्रक्रिया बढाएका छौं ।’ प्रहरी उपरीक्षक अधिकारीले अन्य संलग्न व्यक्तिहरुको पनि खोजी भैरहेको जानकारी दिंदै आफै हाजिर भए राम्रो हुने सन्देश पठाइसकेको बताए ।
प्रहरीले धामी विरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरी कानुनी कारवाही अगाडि बढाएको हो । ‘हामी अनुसन्धान सकेर जिल्ला प्रशासन कार्यालय पठाउँछौं’, प्रहरी उपरीक्षक अधिकारीले भने ।
प्रहरी नियन्त्रणमा पुगेका धामी स्वास्थ्यको कारण देखाउँदै बुधबार नै अस्पताल भर्ना भएका छन् । उनको रक्तचाप बढेको बताइएको छ । प्रहरी स्रोतका अनुसार, सामान्य औपचारिकता पूरा गरी उपचारका लागि अस्पताल पठाइएको हो ।
घटनालाई लिएर राजश्व अनुसन्धान विभागले अध्ययन गरिरहेको छ । विभागका उपमहानिर्देशकको नेतृत्वमा मंगलबार नेपालगन्ज आएको टोलीले घटनाको अवस्था अध्ययन गरिरहेको हो ।
राजश्व अनुसन्धान कार्यालय कोहलपुरका प्रवक्ता छत्रबहादुर अधिकारीले विभागको टोली बाँकेमै सक्रिय रहेको पुष्टि गरे । ‘घटनाबारे विभागको स्वभाविक चासो हुने भयो’, अधिकारीले दैनिक नेपालगन्जसँग भने, ‘तर के कस्ता विषयमा विभागले अध्ययन गरिरहेको छ भन्ने कुराको जानकारी हामीलाई दिइएको छैन ।’