राष्ट्रिय स्वतन्त्र पार्टीले बाँकेका विभिन्न पालिका, वडास्तरमा संगठन विस्तारलाई तिब्रता दिएको जनाएको छ । पार्टीका अध्यक्ष रवि लामिछानेको प्रमुख आतिथ्यमा जिल्ला भेला गरि स्थानीय नेतृत्व चयन गरिएपछि संगठन विस्तारले तिब्रता पाएको हो ।
‘हामी संगठनलाई वडा तहमा पुर्याउँदैछौं,’ पार्टीका प्रदेश सदस्य निलराज अधिकारीले भने, ‘बाँकेका चार पालिकामा संगठन बनाइसकेका छौं ।’ अधिकारीका अनुसार, मंगलवारमात्रै नेपालगन्जको वडा नम्बर १७ मा कमालुद्दिन अन्सारी (बब्लु)को नेतृत्वमा स्वतन्त्रको वडा कमिटि बनाइएको छ ।
नेपालगन्जमा नविन खड्काको अध्यक्षतामा नगर कमिटी बनाएको स्वतन्त्रले कोहलपुरमा आनन्दबाबु काफ्ले, खजुरामा कुमार गिरि, बैजनाथमा धनबहादुर बस्नेत र जानकीमा एकलाल थापाक्षेत्रीको नेतृत्वमा पार्टीका पालिका कमिटी गठन गरेको छ ।
‘नरैनापुर र राप्तीसोनारीमा पनि शुक्रवारसम्म संगठनलाई पुर्याइसकिन्छ,’ अभियानमा सक्रिय पार्टीका प्रदेश नेता अधिकारीले भने, ‘डुडुवामा पनि नेतृत्व चयन भइसकेको छ, कमिटीले एकाध दिनमैं पूर्णता पाउँछ ।’ डुडुवामा भिम सापकोटालाई नेतृत्व दिइएको अधिकारीले बताए ।
बाइपासरोडमा जिल्ला पार्टी कार्यालय स्थापना गरिसकेको स्वतन्त्रले भदौभित्र नगरका २३ वटै वडामा संगठन विस्तारलाई पूर्णता दिइसक्ने प्रदेश नेता अधिकारीको भनाइ छ । त्यसका लागि नेपालगन्ज नगर अध्यक्ष नविन खड्काले वडास्तरमा संगठन विस्तारलाई तिब्रता दिइएको बताएका छन् । त्यसक्रममा नेपालगन्ज १ मा प्रदीप गुरुङ र १७ मा बब्लुको अध्यक्षतामा कमिटी बनिसकेको हो । बाँकेको पार्टी भेलाले लक्ष्मी तिवारीको नेतृत्वमा जिल्ला कमिटी बनाएको थियो ।