प्लान इन्टरनेशनल नेपालको क्षेत्रीय कार्यालय सुर्खेतले प्रदेश–स्तरीय वार्षिक प्रगति समीक्षा तथा योजना प्रस्तुति बैठक गरेको छ ।
कार्यक्रममा प्लान इन्टरनेशनल नेपालले कर्णाली प्रदेशमा विभिन्न साझेदार संस्थाहरु मार्फत आर्थिक वर्ष २०७८/७९ मा सञ्चालन गरेका मूख्य क्रियाकलाप तथा उपलब्धिहरु र आर्थिक वर्ष २०७९/८० को योजनाका बारेमा कर्णाली प्रदेश सरकारलाई जानकारी गराइएको थियो ।
प्लान इन्टरनेशनल नेपाल बालबालिकाको अधिकार र किशोरीहरुको समानताका लागि क्रियाशील विकास र मानवीय सहायता सम्बन्धि संस्था हो । सन् १९७८ देखि नेपालमा पिछडिएका बालबालिका, उनीहरुका परिवार र समुदायका लागि शिक्षा, जीवनयापन, संरक्षण र सहभागितामा उनीहरुको अधिकारको पहुँच दिलाउन काम गर्दै आएको प्लानले स्थानीय साझेदार र सरोकारवालासँगको समन्वयमा संस्थाले अहिले नेपालका १२ वटा जिल्लामा काम गरिरहेको छ ।
सहभागीहरुले कर्णालीका विभिन्न १५ वटा स्थानीयतहमा कार्य गरिरहेकोमा यसको कार्य क्षेत्र बढाउन आग्रह गरेको कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका क्षेत्रीय कार्यालय पश्चिमका प्रमूख मीना पराजुलीले देशको रणनीति, नेपाल सरकारको नीति तथा कार्यक्रममा आधारित रहेर आफ्ना योजना निर्माण तथा कार्यान्वयन गर्ने जानकारी दिइन् ।
कोभिडको महामारीका बेला प्लान इन्टरनेशनल नेपालले स्वास्थ्य संस्थाको सहयोगमा कोभिड भ्याक्सिन प्रयोगका लागि गरेको जनचेतना मूलक कार्यक्रम लगायत अन्य कार्यक्रमहरुलाई सरकारका विभिन्न निकायले गर्ने प्रशंसाले परिणाममूखि कार्य गर्न प्रोत्साहन गरेको पराजुलीको भनाइ थियो ।
त्यसैगरी, नेपाल सरकारको मोडेल अनुसार शिक्षक तालिम सञ्चालन तथा कर्णाली प्रदेशमा शिक्षामा सूचना, सञ्चार र प्रविधिको प्रयोग गर्दै आईसिटी वर्षको रुपमा सञ्चालन गर्ने जानकारी दिंदै पश्चिम क्षेत्रीय प्रमुख पराजुलीले भनिन्, ‘यी सबै परिणाममूखि उपलब्धि हासिल गर्न साझेदार संस्थाको भूमिका तथा नेपाल सरकारको प्रोत्साहन महत्वपूर्ण रहेका छ ।’
कार्यक्रमका प्रमुख अतिथि, कर्णालीका सामाजिक विकास मन्त्री यज्ञ बहादुर बुढा क्षेत्रीले प्लानले कर्णालीका दुर दराजमा रहेका मानिसको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेकोमा प्रतिक्रिया दिए । मन्त्री बुढा क्षेत्रीले प्रारम्भिक बाल विकासको कार्यक्रमले भविष्यमा कर्णालीका बालबालिकालाई आत्मनिर्भर भई समृद्धि तर्फ उन्मूख बनाउने विश्वास व्यक्त गर्दै बालबालिका तथा किशोरीविरुद्घ हुने विभिन्न प्रकारका हिंसाबाट बच्न समेत सहयोग गर्ने धारणा राखे ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण प्रसाद काप्रीले सरकार र गैर सरकारी संस्थाको एउटै साझा उद्देश्य रहेको र सो उद्देश्य प्राप्तिका लागि प्लानले शिक्षा, संरक्षण, प्रारम्भिक बालविकास, युवा सशक्तिकरण, खानेपानी तथा सरसफाइ, कोभिड रेस्पोन्स कार्यक्रम, लगायतमा साझेदार संस्थासगँ मिलेर दिगो विकासको लक्ष्य प्राप्तिका लागि सहयोग गरेको धारणा राखे ।
कार्यक्रममा प्लान इन्टरनेशनलको क्षेत्रीय कार्यालय सुर्खेका कार्यक्रम विशेषज्ञहरुले प्रारम्भिक बालविकास, बाल संरक्षण, बाल विवाह, छिटो विवाह तथा जबरजस्ति गरिने विवाह, नेतृत्व तथा निर्णय जसमा किशोरी तथा युवा महिलाहरुको नेतृत्व तथा निर्णयको अधिकार, समावेशी तथा लैङ्गिक रुपान्तरणमुखी शिक्षाका बारेमा जानकारी दिएका थिए । उनीहरुका अनुसार, सन् २०२३ सम्म ५ लाख किशोरी समक्ष पुग्ने योजना प्लानको छ ।
कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सामाजिक विकास मन्त्रालयका महाशाखा÷शाखा, शिक्षा विकास निर्देशनालय, योजना आयोग, मानव संशाधन विकास केन्द्र आदीको उपस्थितिमा कार्यक्रम गरिएको प्लानले जनाएको छ ।