संस्कृत भाषा विश्वको मूल भाषा भएपनि पश्चिमाहरुले हिन्दु धर्म मास्न भाषामाथि आक्रमण गरेको भन्दै बाँकेका विभिन्न भाषा साहित्यका जानकारहरुले त्यसविरुद्ध अग्रसरताको आवश्यकता औंल्याएका छन् ।
शुक्रबार पाँचौं विश्व संस्कृत दिवस मनाउने क्रममा नेपालगन्जमा आयोजना गरिएको अन्तरक्रियात्मक बहसमा वक्ताहरुले संस्कृतको रक्षाले नेपालको बौद्धिक सम्पत्ति विश्वमाझ समृद्ध बनाउने धारणा राखेका हुन् ।
जरोकिलो प्रतिष्ठान नेपालको आव्हानमा खजुरा स्थित श्री सिद्धिविनायक गणेशधामले विभिन्न संघ, संस्थासँगको साझेदारीमा ऋषितर्पणीको अवसर पारेर पाँचौं विश्व संस्कृत दिवस आयोजना गरेको छ । स्वस्ति वाचन सहित द्विप सुरु गरिएको कार्यक्रममा सहभागीलाई जनै र तागा धारण गरी जनैपूर्णिमा मनाइएको थियो ।
कार्यक्रमका मुख्य वक्ता वरिष्ठ साहित्यकार सनत रेग्मीले संस्कृत नबुझ्ने पश्चिमाहरुले हिन्दु धर्मको व्याख्या गलत ढंगले गरिरहेको औंल्याउँदै धर्म बुझ्न ज्ञान आवश्यक भएको बताए । ‘प्रायोजित रुपमा पश्चिमाहरुले आफ्नो धर्म जस्तै हिन्दु धर्मलाई पनि अपव्याख्या गरेर भ्रम छरिरहेका छन्’, वरिष्ठ साहित्यकार रेग्मीले कार्यक्रमको अध्यक्षता गर्दै भने, ‘हाम्रा भाषा, संस्कृतिका मूल स्रोतका रुपमा रहेको संस्कृत लोप हुँदै जाँदा धर्म र अस्तित्व पनि कमजोर हुँदै गैरहेको छ ।’
कार्यक्रममा अर्का वक्ता पूर्व शिक्षक साहित्यकार किरण आचार्यले राज्यले नै संस्कृत भाषा नामेट पार्न लागिपरेकाले त्यसविरुद्ध सशक्त रुपले धावा बोल्नुपर्ने धारणा राखिन् । कार्यक्रममा वक्ताका रुपमा आमन्त्रित ललितकुमार रौनियारले राजनीतिले संस्कृत भाषा, हिन्दु धर्म र संस्कृतिलाई प्राथमिकतामा नराख्दा नेपालीको अस्तित्व नै कमजोर हुने अवस्थामा आइपुगेको चर्चा गरे । ‘हिन्दुहरुको पक्षमा बोल्नासाथ अतिवादी ? रौनियारको प्रश्न थियो, ‘अरु आफ्ना भाषा, धर्मका कुरा गर्दा अधिकारको कुरा हुने हिन्दुहरुले आफ्नो भाषा साहित्यका कुरा उठाउँदा किन अतिवाद ?’ उनले राजनीतिक दलहरुमा आबद्ध सबै नेपालीले यसरी प्रश्न गर्नुपर्ने सुझाए ।
नेपाली भाषा साहित्यका अध्येता बालकृष्ण शर्मा, गुरुकुल सञ्चालक पुष्पराज कंडेल, विश्वहिन्दु महासंघ बाँकेका अध्यक्ष भीम प्रसाद सापकोटा, संस्कृत भाषा विज्ञ कृष्णादेवि पाण्डे, सांस्कृतिक अभियन्ता गंगाधर कंडेललगायतले हिन्दु धर्म रक्षार्थ संस्कृत, संस्कृतिको प्रवद्र्धन आवश्यक रहेको औंल्याए ।
युवा साहित्यकार भोजराज शर्माले हिन्दु धर्म, संस्कृति र संस्कृतलाई समयानुकुल सरलीकरण गर्दै नयाँ पुस्तामा पुुर्याउनु पर्ने आवश्यकता औंल्याए । ‘त्यसका लागि सबैमा यसको आवश्यकता बोध गराइनु पर्दछ’, शर्माको भनाइ थियो ।
कार्यक्रमको सहजीकरण गरिरहेका लेखक, जरोकिलो प्रतिष्ठानका आजिवन सदस्य मित्रलाल सापकोटाले संस्कृत भाषा विश्व भाषा भएपनि यसको मूलभूमि नेपाल भएको दाबी गरे । ‘नेपालको बौद्धिक सम्पदा हो यो संस्कृत भाषा, यसको संरक्षण र प्रवद्र्धनलाई राज्यले प्राथमिक दायित्वका रुपमा लिनु पर्छ’, सापकोटाले संस्कृतलाई हिन्दु सनातनहरुको भाषाका रुपमा मात्र नलिन आग्रह गर्दै विश्वभाषा संस्कृतको रक्षार्थ सबैको ध्यान पुग्नुपर्ने धारणा राखे । विश्वका ६७ विश्वविद्यालयमा संस्कृत भाषाको पढाई, सोध अनुसन्धान भैरहेको जानकारी दिंदै सापकोटाले प्रत्येक नेपालीले संस्कृत भाषाको ज्ञान राख्नुपर्ने बताए ।
कार्यक्रममा शिक्षक समेत रहेकी संस्कृत भाषा विज्ञ कृष्णादेवि पाण्डेले बागेश्वरी गुठीले गुरुकुल सञ्चालन गर्नुपर्ने माग राखिन् । ‘बागेश्वरी मन्दिरले आफ्नो आर्जनबाट गुरुकुल सञ्चालन गर्न सक्छ’, त्यसका लागि गुठीको ध्यानाकर्षण गराउँदै पाण्डेले भनिन्, ‘हामी सबैले त्यसतर्फ दबाब दिन आवश्यक छ ।’
कोहलपुरमा गुरुकुल सञ्चालन गरिरहेका पुष्पराज कंडेलले १ सय ५० विद्यार्थीले संस्कृत भाषा अध्ययन गरिरहेको जानकारी दिए । उनले राष्ट्र सञ्चालकहरु धर्म छाडा हुँदा मुलुकले मौलिकता गुमाउँदै गएको टिप्पणी गर्दै भने, ‘नेपालीहरु गुरुकुल छाडेर इशुकुल (स्कूल) तिर लाग्ने अवस्थाको वातावरण सिर्जना गरियो ।’ उनले विद्यमान शैक्षिक प्रणाली धर्म, संस्कृति र नेपालीहरुको मौलिकता विरुद्ध भएको तर्क गर्दै गुरुकुल नै हाम्रो मौलिक शिक्षा प्रणाली भएको औंल्याए ।